‘लकडाउनपछि ब्रोइलर कुखुराको मासु हाहाकार हुन्छ’

लकडाउनका कारण पोल्ट्री तथा ह्याचरी (अण्डाबाट चल्ला उत्पादन) व्यवशाय तहसनहस भएको बताउँछन् नेपाल ह्याचरी संघ प्रदेश–३ का सचिव मनोज रानाभाट। चितवनको भरतपुरमा रहेको आफ्नो ह्याचरीबाट हरेक साता ४० हजार चल्ला ‘डिस्पोज’ गरिरहनुपरेको रानाभाट बताउँछन्। बजारमा चल्ला जाने अवस्था नभएकाले प्यारेन्ट (व्यावसायिक अण्डा उत्पादन गर्ने कुखुरा। ती अण्डाबाट चल्ला उत्पादन गरिन्छन्छ) लाई पनि मार्नुपर्ने अवस्था आएको रानाभाट बताउँछन्। लकडाउनका कारण बिग्रिएको पोल्ट्री तथा ह्याचरी व्यवसायबारे रानाभाटसँग चितवनमै पुगेर हामीले कुराकानी गर्‍यौँ।

१.लकडाउनपछि पोल्ट्री तथा ह्याचरी व्यवसायको अवस्था कस्तो छ ?

– हाल ह्याचरी व्यवसायीले नेपालभर सातामा ४५ देखि ४८ लाख चल्लाहरु मारिरहनु परेको अवस्था छ। उत्पादन भएका चल्लाहरु बजारमा लैजाने अवस्था छैन। कृषकहरुले दाना नपाएकाले चल्ला लैजान मान्दैनन्। चल्लालाई २४ घण्टाभित्र दाना दिन सुरु गरिएन भने तौल आउँदैन। त्यसैले हामीसँग चल्ला गाड्नुको विकल्प छैन।

२. तत्काललाई चल्ला उत्पादन बन्द गर्न मिल्दैन ?

– मिल्दैन। यो व्यवसाय एउटा सिस्टमबाट चलेको हुन्छ। एउटा प्यारेन्ट ८ महिना हुर्काएपछि उसले अण्डा उत्पादन गर्न सुरु गर्छ। प्यारेन्टले उत्पादन गरेको अण्डालाई केही दिनमै चल्ला उत्पादनका लागि प्रकृया सुरु गरि हाल्नुपर्छ। त्यसैले हाम्रो व्यवसाय प्यारेन्टसँग जोडिन्छ। अहिले हामी प्यारेन्टलाई कम दाना खुवाएर अण्डा कम उत्पादन गर्ने प्रयास गर्दैछौँ। यसलाई मोडलिङ गर्ने भनिन्छ जुन २१ दिनको अवधिको हुन्छ। अब हामीसँग प्यारेन्टलाई पनि मार्नुको विकल्प छैन। चल्ला मार्दा हामीलाई यसैपनि ठुलो संकट आइपरेको थियो। अब प्यारेन्ट नै मार्नुपर्ने अवस्थाले व्यवसाय थप जटिल बनेको छ। अब नेपालमा ब्रोइलर कुखुराको मासु हाहाकार हुने छ। कृषकसँग कुखुरा पनि छैनन्, हामीसँग चल्ला र प्यारेन्ट पनि छैनन्।

३. एउटा चल्ला उत्पादन गर्दा कति खर्च हुन्छ उत्पादकको ?

– एउटा चल्ला उत्पादन गर्दा हाम्रो ४५ देखि ५० रुपैयाँ लगानी परेको हुन्छ। अब तपाईँ आफै हिसाब गर्नुस् व्यवसायीलाई एक सातामा कति नोक्सान भइरहेको छ। नेपालमा पोल्ट्री तथा ह्याचरीको करिब ७० देखि ८० प्रतिशत हिस्सा प्रदेश–३ ले ओगट्छ। ह्याचरी फर्म मात्र देशभर करिब ३ सयको हाराहारीमा छन्।

४. लकडाउनमा मासुको खपत कस्तो छ रु सरकारले चासो देखाएको छ कि छैन ?

–समस्या कस्तो भइ दियो भने बजारमा मासुको पनि खपत कम भइरहेको छ। मासु पसलहरु खुलेपनि उपभोक्ताहरु त्यहाँसम्म प्रहरीको डरले जान सकिरहेका छैनन्। अर्को कुरा, सरकारले राम्रोसँग पकाएर मात्र मासु खान भनिरहेकाले बरु खाँदै नखाने भन्ने उपभोक्ताको सोच देखिन्छ। एक प्रतिशत जोखिम हुन्छ भनेपनि त्यो किन मोल्ने भन्ने सोच उपभोक्ताको देखिन्छ। खासमा सरकारले नै उपभोक्तालाई मासु खान प्रोत्साहन गर्नु पर्ने हो किनभने कुखुराको अण्डा र मासुमा एकदमै प्रोटिन हुन्छ।

५. अब के छ त यो व्यवसायको भविष्य ?

– हामी यो स्थितिबाट बाहिर निस्कने अवस्था नै छैन। सरकारले होटल व्यवसायलाई पहिलो प्राथमिकतामा राखेको भनिरहेको छ। तर पर्यटनभन्दा पनि दर्दनाक स्थिति हाम्रो छ। एकातिर चल्ला मारिरहेका छौँ अर्कोतर्फ प्यारेन्टलाई दाना खुवाइरहनु परेको छ। स्टाफहरु नियमित काम गरिरहेका छन्, उनीहरुलाई तलब पनि दिनुपर्‍यो। अरु व्यवसाय बन्द गर्दा हुन्छ तर हामी व्यवसाय बन्द गर्ने अवस्थामा छैनौँ। व्यवसायमा ताला लगाउँ भन्दा पनि त्यसो गर्न सकिने अवस्थामा छैन। हामी आत्मनिर्भर भएको थोरै व्यवसायमध्येमा पर्छ यो ब्यवसाय। त्यसैले सरकारले पहिलो प्राथमिकतामा राखेर यो व्यवसायलाई हेर्नुपर्छ। (देश सञ्चार डटकमबाट साभार)