कृषि तथा पशुपन्छीजन्य उत्पादन, बिक्रीवितरण र ढुवानीमा अवरोध फुकाउन र्यापिड रेस्पोन्स टिम गठन

काठमाडौं । सरकारले कृषि, पशुपन्छी तथा माछाजन्य व्यवसाय र यससँग सम्बन्धीत वस्तु तथा सेवा उत्पादन र प्रवाहलाई सुचारु गर्दा आउने अवरोध फुकाउन द्रुत कार्य समुह (र्यापिड रेस्पोन्स टिम) गठन गरेको छ । लक डाउनका क्रममा कृषिजन्य उत्पादन तथा पशुपन्छी र माछाजन्य उत्पादन र यससम्बन्धी सेवा नरोक्ने निर्णय भए पनि त्यसको पालना हुन नसकेकोले अवरोध फुकाउन उक्त समुह गठन गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

समूहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसी, पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्मा र कृषि मन्त्रालयका पशु चिकित्सक पूर्णबहादुर बुढा रहेका छन् । उक्त टोलीले कृषि तथा पशुपन्छी व्यवसायसँग सम्बन्धीत बीउविजजन, जीवनाशक विषादी, पशुपन्छीका औषधी, दाना, आहारा, चल्ला, अण्डा, माछामासु, खाद्यवस्तु, रासायनिक मल, प्राङ्गारिक मल, तरकारी, फलफूल, दूध, मह, च्याउ, कुखुरा, खसीबाका, पराल, भुसा, ढुटो, साइलेज, मौरीमघार, गाबरमललगायतका बस्तु उत्पादन, बिक्रिवितरण र ढुवानीमा अवरोध भए त्यसलाई सहजीकरण गर्ने वा फुकाउने जिम्मेवारी दिइएको छ ।

टोलीका ३ जना सदस्यकै नम्बर उल्लेख गरी मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै त्यस्ता सेवा स्थानीय प्रशासनसँगको समन्वयमा उत्पादन, बिक्रीवितरण र ढुवानी गर्न र अवरोध भए फोन सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ती