कृषिमन्त्रीको १०० दिने उपलब्धिः मलको टेण्डर आह्वानदेखि किसान कल सेन्टर स्थापनासम्म

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जिम्मेवारी सम्हालेपछिका एक सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयमा सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर मन्त्री अधिकारीले आफ्नो सयदिने उपलब्धि सार्वजनिक गरेका हुन् ।

मन्त्रीले आफ्नो सयदिने उपलब्धिमा मल खरिदका लागि टेन्डर आह्वान गरेको, किसान कल सेन्टर स्थापना गरेको, उखुको खरिद मूल्य तोक्ने प्रक्रिया थालेको, दुग्ध किसानको बक्यौता भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई सहुलियत कर्जा उपलब्ध गराएको लगायत विषय समेटेका छन् ।

मन्त्री अधिकारीले आफ्नो सयदिने कार्यकालको मुख्य उपलब्धिमा मल खरिदका लागि टेन्डर आह्वान गरिएको राखेका छन् । मन्त्री अधिकारीका अनुसार ४ लाख ६० हजार मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वन गरिएको हो । टेण्डर प्रक्रियामार्फ उक्त परिमाणको मल आयात भएपछि रासायनिक मलको अभाव किसानले झेल्नुनपर्ने मन्त्री अधिकारीको दाबी छ । यही समयमा अघिल्लो वर्षको मौज्दात १ लाख २९ हजार मेट्रिक टन मल कृषकलाई बिक्री वितरण गरिएको जानकारी पनि मन्त्री अधिकारीले उक्त अवसरमा दिए ।

किसान कल सेन्टर सञ्चालनलाई मन्त्री अधिकारीले आफ्नो उपलब्धिको दोस्रो बुँदामा समेटेका छन् । पैसा नलाग्ने टोल फ्रि नम्बरमा सम्पर्क गरेर किसानले मलको उपलब्धता बारे सहज ढंगले जानकारी पाउने मन्त्री अधिकारीको भनाइ छ ।

उखु उत्पादक किसानले यस वर्ष समयमै प्रोत्साहन अनुदान पाइरहेको मन्त्री अधिकारीले उल्लेख गरेका छन् । विगतमा आर्थिक वर्षको दोस्रो, तेस्रो त्रैमासमा मात्र यस्तो अनुदान वितरण हुने गरेको थियो ।

चालु आर्थिक वर्षको उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया अघि बढेको जानकारी पनि मन्त्री अधिकारीले दिए ।

दुग्ध किसानको बक्यौता रकम भुक्तानीका लागि सहुलियत ऋण उपलब्ध गराइएकोलाई पनि मन्त्री अधिकारीले आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । दुग्ध किसानले लामो समयदेखि दूध बिक्रीबापत पाउनुपर्ने भुक्तानी नपाएकोमा अधिकारी मन्त्रालयमा आएपछि सरकारले दुग्ध विकास संस्थानलाई ६० करोड रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको थियो । उक्त रकम प्राप्त भएपछि डिडिसीले अधिकांश दुग्ध किसानको जेठ मसान्तसम्मको भुक्तानी हुन बाँकी रकम उपलब्ध गराइसकेको भने बाँकी रकम समेत भुक्तानी गर्ने तयारी गरेको छ ।

यसबाहेक सयदिने कार्यकालमा पशुधन बीमातर्फ ३७ हजार ६११ र बाली बीमातर्फ ३२३ बीमा लेख जारी भएको, आर्थिक वर्षको बीमा प्रिमियममा दिइने अनुदानको ८० करोड रकम भुक्तानी प्रक्रियामा रहेको, चाडपर्वलक्षित खाद्य पदार्थको अनुगमन निरीक्षण गराएको, खाद्यवस्तुमा स्वच्छता कायम गर्न २ हजार ७४६ पटक बजार अनुगमन गरेको मन्त्री अधिकारीको भनाइ छ ।

किसानलाई सहुलियत उपलब्ध गराउनुका साथै नीतिगत तथा संस्थागत सुधारका कार्य पनि बितेका १०० दिनमा गरेको मन्त्री अधिकारीको भनाइ छ । नीतिगततर्फ कृषि सेवाका कर्मचारीको समस्या समाधान गरेको, मन्त्रालयको आयोजना सञ्चालनका लागि आवश्यक कर्मचारी प्रबन्ध गर्न १२९ कर्मचारीको दरबन्दी स्वीकृत गरेको, कृषि लगानी दशकको अवधारणापत्र तयार भएको, बीउविजन नियमावली स्वीकृत गरेकोलगायत कार्यलाई मन्त्री अधिकारीले उपलब्धिका रूपमा चर्चा गरेका छन् ।