दूधको बजार सुनिश्चित गर्न पाउडर प्लान्ट आवश्यक

धनगढी। दूधको बजार सुनिश्चित गर्न दूध पाउडर प्लान्टको आवश्यकता लामो समयदेखि चर्चा हुँदै आएको छ। अब  कुरा मात्र गरेर हुँदैन, यसको स्थापनाका लागि ठोस पहल गर्नुपर्नेमा दुग्ध व्यवसायीहरूले जोड दिएका छन्।

धनगढीमा सुदूरपश्चिमका दुग्ध व्यवसायीहरूले दूध उत्पादनको बजार सुनिश्चित गर्न पाउडर प्लान्ट स्थापना अनिवार्य भएको बताएका छन्। उत्पादन भएको दूधले बजार नपाउँदा, त्यसको बजार व्यवस्थापन गर्न पाउडर प्लान्ट आवश्यक रहेको कुरा व्यवसायीहरूले नेपाल डेरी एशोसिएसन, सुदूरपश्चिम प्रदेश र जिल्ला कञ्चनपुरले दशैं, तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा बताएका हुन्।

नेपाल डेरी एशोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष भुपेन्द्र थापाले भने, “पाउडर प्लान्टको कुरा लामो समयदेखि चलिरहेको छ। अब मात्र कुरा गरेर हुँदैन, यसको स्थापनाका लागि ठोस पहल गर्नुपर्छ।” उनका अनुसार सुदूरपश्चिममा दैनिक ४ लाख लिटर दूध उत्पादन हुने भए पनि १ लाख लिटर मात्र बजारमा पुगिरहेको छ, बाँकी दूधले बजार नपाएकाले पाउडर प्लान्ट जरुरी भएको बताए।

नेपाल डेरी एशोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्ण बहादुर हमालले कैलाली र कञ्चनपुरमा साना र घरेलु डेरी व्यवसाय बढी भएकोले व्यावसायिक विस्तार हुन नसकेको बताए। उनले भने, “पाउडर प्लान्ट स्थापना गरेर डेरी व्यवसायलाई अझै व्यावसायिक बनाउन सकिन्छ।”

सुदूरपश्चिम प्रदेश सभा सदस्य धमनराज पाठकले पनि पाउडर प्लान्ट आवश्यक रहेको तर थप अध्ययन गरेर मात्र अघि बढ्नुपर्ने बताए। उनले भने, “अब उद्यमशीलताको युग हो, त्यसैले उद्यमशीलता विकास गर्न पाउडर प्लान्ट आवश्यक छ।”

कैलाली भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा. हेमराज अवस्थीले दूधको बजार व्यवस्थापन सहकारीमार्फत गरिनु उपयुक्त हुने बताए। उनले भने, “सहकारीमार्फत बजार व्यवस्थापन गर्दा दूधको तथ्यांक सङ्कलन गर्न सजिलो हुन्छ।”

नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमले पाउडर प्लान्टको स्थापनाका लागि सहकारी तयार रहेको बताए। उनले भने, “नवजीवन सहकारी कृषि र दुग्ध उत्पादनलाई बजार व्यवस्थापन गर्न लागिरहेको छ। यदि पाउडर प्लान्ट स्थापनाको काम अघि बढ्छ भने नवजीवन सहकारीले लगानी गर्न तयार छ।”

बमले पाउडर प्लान्ट स्थापनाका लागि आवश्यक मोडालिटी टुंग्याएमा नवजीवन सहकारीसँगै अन्य सहकारीहरू पनि लगानी गर्न तयार हुने बताए।

नेपाल डेरी एशोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधान, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत पुष्करनाथ र नेपाल डेरी एशोसिएसन कैलालीका अध्यक्ष डम्बर शाहलगायतले मन्तव्य व्यक्त गरेका थिए।