नयाँ व्यवसायमा वन्त

काठमाडौं । पशुपन्छी औषधि व्यवसायी तरुणराज वन्तले नयाँ व्यवसाय सुरु गरेका छन् । लामो समयदेखि पशुपन्छी औषधि व्यवसायमा रहेका वन्तले घरायशी प्रयोजनका विभिन्न विद्युतीय उपकरणको आयात गरेर बिक्री वितरण थालेका हुन् ।

इटलीको प्रतिष्ठित डे लङ्घी ग्रुपअन्तर्गतको एरिटे कम्पनीको नेपालको आधिकारिक बिक्रेता बनेर घरायशी काममा प्रयोग हुने त्यसका विभिन्न विद्युतीय उपकरणहरूको आयात आफूले थालेको वन्तले भेट टाइम्स मासिकलाई जानकारी दिए । उनका अनुसार, पहिलो फोकस कफी मेसिनमा गरिएको छ । त्यस्तै, ब्लेन्डर, विभिन्न किसिमका भ्याकुम क्लिनर, सफर, इअर फायरलगायत घरलाई चाहिने उपकरण पनि आयात हुनेछ ।

आयात गरिएका सामानको बिक्री पनि उनले आफैं थालेका छन् । महाराजगञ्जस्थित सेल्सबेरी रहेको घरको पाँचौं तल्लामा सोरुम खोलेर उनले बिक्री वितरण थालेका हुन् । यही वैशाख २१ गते खोलिएको सोरुममा गुणस्तरीय र उच्च प्रविधियुक्त घरायसी एप्लिएन्सेजहरू सुपथ मूल्यमा पाइने वन्तले बताए । नितान्त नयाँ व्यवसायमा हात हालेका वन्तले अनलाइनमार्फत पनि उपभोक्तासमक्ष पुग्ने योजना बनाएका छन् । वन्तका अनुसार, घरमै बसीबसी अनलाइनमार्फत अर्डर गरेर दराजबाट उनले आयात गरेका सामान खरिद गर्न सकिनेछ । यसबाहेक निकट भविष्यमा केही सोरुम खोल्ने र आइटिटिआई अनलाइन ग्रुपसँग सहकार्य गरेर पनि बिक्री वितरण थाल्ने उनको योजना छ ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघका संस्थापक अध्यक्ष तप्तराज वन्तका सुपुत्रसमेत रहेका तरुणराज भेटेरिनरी औषधि कारोबार गर्ने नेपालको प्रतिष्ठित व्यवसायीसमेत हुन् । वन्तले साइड व्यवसाय थाले पनि पुरानो पशुपन्छी औषधिको कारोबार पनि यथावत् गर्ने जानकारी दिए । ‘पशुपन्छी औषधि व्यवसाय मेरो मेरुदण्ड हो । अहिले थालेको आयात त साइड व्यवसाय मात्र हो,’ उनले भने । उनका अनुसार, नयाँ व्यवसाय श्रीमती र छोरीले सम्हाल्ने छन् ।