भयावह बन्दै पशुमा बाँझोपन,रित्तिँदै किसानका गोठ

काठमाडौं । कैलाली लम्की चुहाकी मातुली भुलले गाई र बाख्रा पालेकी छन् । उनको गाईमा पटक–पटक बाली जाने तर गर्भधारण नहुने समस्या छ । लामो समयसम्म गाई ब्याउने (गर्भधारण) नभएपछि उनी तनावमा छिन् ।

‘गाई धेरै पटक बाली गएको छ, तर गर्भधारण गर्न सकेको छैन, भैंसी भए बेच्न हुन्थ्यो, बाख्रा भए पनि काटेर मासु खान सकिन्थ्यो,’ मातुलीको गुनासो छ, ‘गाई के गर्नु ? दूध नदिने गाई कसैले किन्ने कुरा पनि भएन, पाल्न मात्र दुःख भएको छ ।’

कैलालीकै जानकी गाउँपालिकाका किसान बालकृष्ण सार्कीले पनि घरमा बाख्रा, भैंसी पालेका छन् । उनले पालेका भैंसीमा लामो समयसम्म बाँझोपनको समस्या देखियो । उपचारपछि भने भैंसी ब्याएको उनको

भनाइ छ । ‘लामो समयसम्म भैंसीमा बाँझोपनको समस्या देखियो, १ लाख रूपैयाँमा किनेको भैंसीमा बाँझोपनको समस्या देखिएपछि साह्रै पीर प¥यो,’ आफूलाई परेको अप्ठ्यारोबारे उनले भने, ‘पछि पशु प्राविधिकको सल्लाह लिएँ । सल्लाहबमोजिम उपचार गरेपछि भैंसी ब्यायो ।’पशुमा हुने बाँझोपन समस्याका यी केही उदाहरण मात्र हुन् ।

पछिल्लो केही समययता देशभर पशुपन्छीको बाँझोपन समस्या जटिल बन्दै गइरहेको छ । सरकारी तथ्यांकअनुसार, देशभर २० प्रतिशत पशुमा बाँझोपन समस्या देखिएको छ । यसबाट बर्सेनि कम्तीमा १ अर्ब रूपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भइरहेको अनुमान छ । नेपालमा हाल ७३ लाख गाई र ५१ लाख भैंसी छन् । बाँझोपनको समस्या जटिल बन्दै जाँदा किसानका गोठ रित्तिने खतरा बढेको छ ।

किन बढिरहेको छ पशुमा बाँझोपन
पशु चिकित्सकहरूका अनुसार पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको छ ।

पशुमा देखिने विभिन्न किसिमका यौनजन्य रोग र पशुको पोषणमा ध्यान नदिँदा बाँझोपनको समस्या हुने गर्छ । पशुहरूमा विभिन्न किसिमका विकृत यौनजन्य रोग हुन सक्छन्, यी रोगले बाँझोपनको समस्या निम्त्याउन सक्ने भएकाले समयमै उपचारमा लाग्न पशुपन्छी चिकित्सक सुझाउँछन् ।

उन्नत पशुमा बढी बाँझोपनको समस्या देखिने भएकाले नियमित गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । किसानको लापरबाहीले नै २० प्रतिशत पशुमा बाँझोपनको समस्या देखिने गरेको उनीहरूको भनाइ छ । पशुलाई पेटभर खान, सोतरमा सुत्न नदिँदा तथा नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नखुवाउँदा बाँझोपनको समस्या बढेकाले यससम्बन्धी सचेतना आवश्यक देखिएको छ ।

साँढे वा राँगो खोज्दा पशुले विभिन्न लक्षणहरू देखाउँछन् । अरू पशुलाई आफू उक्लन दिनुलाई महत्वपूर्ण प्राथमिक लक्षण मानिन्छ । सुरुको अवस्थामा आफू अर्को पशुमाथि उक्ले पनि ‘स्ट्यान्डिङ हिट’मा भने अरू पशुलाई आफूमाथि उक्लन दिन्छ । यसबाहेक सूत सुन्निने, सूतको भित्री भाग रातो अथवा गुलाफी रंगमा बदलिने, तुरतुर पिसाब फेरिरहने, दूध घट्ने, कराउनेजस्ता लक्षण समेत देखिन्छन् । पशु चिकित्सकका अनुसार, यस्तो लक्षण सबै पशुमा राम्रोसँग नदेखिन पनि सक्छ । यस्तो ऋतुकाललाई मन्द ऋतुकाल भनिन्छ । यस्तोमा पशुको प्रत्यक्ष हेरचाह गर्ने व्यक्ति अझ चनाखो हुनु जरुरी छ । प्राविधिकले पनि भित्री अंगहरूको परीक्षण गरेर मात्र निक्र्योल गर्न जरुरी छ ।

प्रजनन दर उच्च हुनका लागि मुख्यतः ऋतुकाल पहिचान गर्ने दक्षता कृत्रिम गर्भाधानकर्ताको क्षमता, पशुको प्रजनन क्षमता र बीर्यको प्रजनन क्षमतामा भर पर्ने गर्छ । यसका लागि गर्भ रहने दर बढाउन ऋतुकाल सुरु भएको १२ देखि २० घण्टाभित्रको समयलाई कृत्रिम गर्भाधान गराउन उपयुतm समय मानिन्छ । सोही बेला कृत्रिम गर्भाधान गराउनु पर्छ । पशु मन्द ऋतुकालमा भएमा किसान चनाखो हुनु पर्छ र प्राविधिकले प्रजनन अंग परीक्षण गरेर मात्र पशु ऋतुकालमा आए÷नआएको निधो गर्नु पर्छ । पशु ब्याएको कम्तीमा पनि ४५ देखि ६० दिन पछि मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । पशु तुहाएको छ भने त्यस्तो अवस्थामा दुई वटा ऋतुकाल छाडेर कृत्रिम गर्भाधान गर्नुपर्छ ।

कहिलेकाहीँ गर्भाधान पनि पशु ऋतुकालमा आउन सक्छ । त्यसैले कृत्रिम गर्भाधान गर्नुपूर्व इतिहास लिने र गर्भ परीक्षण गर्ने कार्य गर्नुपर्छ । यदि कृत्रिम गर्भाधान गराउन पशुलाई टाढाबाट ल्याइएको भए कम्तीमा पनि १५ मिनेट आराम गर्न लगाइ त्यसपछि मात्र कृत्रिम गर्भाधान
गराउनु पर्छ ।

पशु बिरामी भएको अवस्थामा वा ज्वरो आएकोमा गर्भधारण दर कम हुने भएकाले कृत्रिम गर्भाधान गर्नु हँुदैन । यदि पशु ऋतुकालको समय १७ दिनभन्दा कम र २५ दिनभन्दा बढी छ भने पशुको उपचार गरेर मात्र कृत्रिम गर्भाधान गर्नुपर्छ । खनिज पदार्थ दाना वा अनाजमा भन्दा धेरै हरियो घाँसमा हुन्छ । हरियो घाँस खान नपाएको अवस्थामा मिनरल मिक्स्चर किनेर दानामा मिसाएर खुवाउर्नु पर्छ ।

करोडौं नोक्सानी
घरपालुवा पशुमा हुने बाँझोपनले नेपाली किसानले वार्षिक करोडौँ रूपैयाँको घाटा बेहोरिरहेका छन् । महँगो मूल्य तिरेर ल्याएका राम्रा जातका गाई, भैंसी एक पटक ब्याएपछि अर्को पटक नब्याउने समस्याका कारण किसान आर्थिक नोक्सानी बेहोर्न बाध्य छन् ।

पशुमा हुने बाँझोपनबाट कृषकको लगानी धराशयी भइरहे पनि रोकथाम, क्षतिपूर्ति वितरणजस्ता आधारभूत पक्षमै सरोकारवालाले चासो देखाएका छैनन् । एउटै पशुबाट हजारौँ रूपैयाँ घाटा हुँदा यो व्यवसायबाट किसान विस्थापित हुने खतरा बढेको छ । पशुमा देखिने बाँझोपनबाट हुने आर्थिक क्षतिको विवरण कुनै सरकारी र गैरसरकारी निकायमा छैन । न त क्षतिपूर्तिको व्यवस्था नै छ । स्वयं किसानले नै त्यसको आर्थिक क्षति बेहोरिरहेका छन् ।

पशु प्राविधिक उद्धवप्रसाद सापकोटा गाई वा भैंसीले पटक–पटक साँढे÷राँगो खोज्ने र पशुमा गर्भ नबस्ने समस्या बढेको बताउँछन् । बाँझोपनका पछाडि धेरै कारण रहेकाले यसमा किसान चनाखो हुनुपर्ने उनको सुझाव छ । पशुले भाले खोजेको समयमै कृत्रिम गर्भधारण वा प्राकृतिक गर्भधारण गराउँदा कृत्रिममा ६५ र प्राकृतिकमा ८५ प्रतिशतसम्म गर्भ रहने सम्भावना रहन्छ । पशुमा बाँझोपन हुनुमा वंशाणुगत, वातावरणीय र विभिन्न रोगको संक्रमण, पोषणतत्वको कमी, गोठको व्यवस्थापन मुख्य रहेको उनले बताए ।

पशु चिकित्सकहरूका अनुसार दुधालु पशुले उचित दाना पानी नपाएमा पशुको शरीरको तौल कम हुने, प्रजनन अंग राम्रोसँग वृद्धि–विकास नहुने, प्रजननका लागि आवश्यक हर्मोन पशुको शरीरमा नहुँदा पशुको प्रजनन क्षमतामा ह्रास आउने र बाँझोपन देखिने हुन्छ ।

हरेक २१÷२५ दिनमा गाई, भैंसीको मासिक चक्र हुन्छ । पशुले मासिक चक्र बाहिर नदेखाउने हुँदा साँढे कतिबेला लगाउने भन्ने अन्योल हुने गरेको छ ।

यस्तै, अनुवांशिक गुणले गर्दा धेरै पशुमा बाँझोपनको समस्या देखापर्छ । ‘लम्पी स्किन’जस्ता महामारीका कारण पनि पशुको उत्पादन क्षमता ह्रास ल्याइरहेको पशु चिकित्सकरूको भनाइ छ । केही पशुमा कुन समय मासिक चक्रमा छ भनेर पत्ता लगाउन निकै गाह्रो हुने भएकाले पशुधनीले उपयुक्त समयमा साँढे लगाउन नसक्दा वा कृत्रिम गर्भाधान नगराउँदा बाँझोपनको समस्या बढिरहेको जानकारहरूको भनाइ छ ।

पोथी पशुमा वंशाणुगत र रासायनिक प्रक्रियामा फेरबदल हुँदा कोषको अधिक वृद्धि भएर पाठेघरको आकार ठूलो हुने र पछि क्यान्सर समस्या पनि देखिने गरेको पाइन्छ । पाठेघरमा ट्युमर बनेपछि पोथीले प्रजननका लागि चाहिने अण्डा उत्पादन गर्न सक्दैन र यस्तो पशुमा बाँझोपन देखापर्छ ।

पशुमा गर्भाधानपछि विभिन्न कारणले भ्रूणको विकास नहुने र पशु तुहिने हुन्छ । दुधालु पशुबाट मुनाफा पाउन पशुको स्वास्थ्यसँगै आहार, बिहार र वातावरणीय पक्षलाई ख्याल गर्न सके बाँझोपनको समस्या नहुन सक्छ । गाई, भैंसीको उत्पादनशील उमेर तीनदेखि आठ वर्ष हुने भएकाले त्यस समयमा पशुको विशेष ख्याल गर्नु पर्छ । प्रजननसँग सम्बन्धित समस्या भएमा उपचार पनि महँगो हुने र कहिलेकाहीँ काम नगर्ने भएकाले त्यस्ता पशुलाई बथानबाटै हटाउनुपर्ने हुन्छ ।

जटिल समस्या
पशु चिकित्सकहरूको भनाइमा नेपालमा पशुमा हुने बाँझोपनको समस्या बढ्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैंसी र गाईमध्ये २० वटामा यस्तो समस्या देखिने गरेको छ । यसबाट बर्सेनि कम्तीमा १ अर्ब रूपैयाँभन्दा बढीको क्षति हुने गरेको आकलन छ । यसले पशुपन्छीपालनमा मात्र नभएर देशको समग्र अर्थतन्त्रलाई समेत असर पु¥याएको छ ।

निष्प्रभावी ‘डोर टू डोर’
संघीय, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर बाँझोपन घटाउने कार्यक्रम सञ्चालन भइरहेका छन् । खाना खान नपाउने र समयमै नाम्ले तथा जुकाको औषधि खुवाउन नसक्दा बाँझोपनको समस्या बढिरहेको छ । गाईभंैसी बाँझोपनको उपचार पनि हुन्छ भन्ने किसानमा जानकारी नहुनुले पनि किसान बाँझोपनको उपचार खोज्ने गरेका छैनन् । उपचार गरेर बाँझोपन समस्या हटाउन सकिन्छ भन्ने डोर टू डोर सेवामा दिइने गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय, नवलपरासीले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्न थालेको छ । घरदैलो अर्थात ‘डोर टू डोर’ सेवा सञ्चालन गरी पशुपालनमा देखिएको समस्याहरूको अध्ययन र आवश्यक परामर्श सेवा दिन थालिएको हो ।

पशुपालक किसानका फर्म र घरमा रहेका दुधालु गाई–भैंसीमध्ये अधिकांशमा बाँझोपनजस्ता समस्या देखिएको अस्पतालकी पशु चिकित्सक डा.विभूति सिंहले बताइन् । उनका अनुसार, पशु स्वास्थ्यकर्मीसहित चिकित्सकहरूको टोली पशुपालक किसानको ‘डोर टू डोर’ पुग्ने र सेवा दिइने अभियानको रूपमा चलाइको छ ।

उनका अनुसार पशुमा देखिने बाँझोपन समस्या प्रमुख समस्याको रूपमा देखिएको छ । पशु बिरामी हँुदा उपचारका लागि किसान सक्रिय हुने गरे पनि बाँझोपनलाई समस्याको रूपमा नलिने आम चिन्तनका कारण छाडा छाड्नेजस्ता समस्या देखिएको उनको भनाइ छ ।

‘खासगरी भैंसीको मासु नेपालमा खाने प्रचलनले बाँझो भैंसी त मासुका लागि बिक्री भइरहेका छन्,’ डा.सिंहले भनिन्, ‘तर गाई काट्ने, मासु खाने प्रचलन नभएकाले छाडा छाड्ने समस्या देखिएको हो ।’ बाँझोपन निराकरण गर्न सके किसानले नोक्सानी ब्यहोर्न नपर्ने कथन उनको छ । राष्ट्रिय पशु प्रजनन केन्द्रका प्रमुख डा. जगदीश पाण्डेय पशुपालन बढिरहेका बेला बाँझोपन अर्को समस्या बनेर देखापरेको बताउँछन् । ‘सन्तुलित खाना पशुलाई नखुवाउने हो भने झनै समस्या देखिन्छ,’ उनले भने, ‘त्यसैले पशुपालन बढे पनि यस विषयमा ध्यान दिनुपर्ने देखिएको छ ।’

कुन घाँस कसरी खुवाउने र कति खुवाउने भन्ने कुरा किसानले बुझ्नुपर्ने र त्यो नबुझे समस्या थप पेचिलो बनेर जाने उनको भनाइ छ ।

‘पशुलाई पनि मान्छेलाई जस्तै सन्तुलित भोजन खुवाउने तरिका किसानले जान्नुपर्छ,’ उनले भने, ‘जसले बाँझोपनमा कमी आउनेछ । गाई, भैंसीले दूध पनि राम्रोसँग दिनेछन् ।’ पशुमा बाँझोपन देखिए पनि समयमा औषधि उपचार गरे त्यो निदान हुने उनी बताउँछन् ।

बच्न के गर्ने ?
बाँझोपन प्रजनन कार्यमा हुने अस्थायी अड्चन र व्यवधान हो । यस्तो अवस्थामा जनावर गर्भवती हुन सक्दैनन् । सामान्यतः स्वस्थ प्रजनन कार्य भएको जनावरले प्रत्येक १२–१४ महिनामा बाछो बनाउनुपर्छ ।

परिपक्वता, दूध उत्पादन र दूध उत्पादनमा ढिलाइका कारण बाँझोपनले किसानहरूलाई आर्थिक नोक्सान पु¥याउँछ । किसानले अनुत्पादक पशुपालन गर्दा पनि घाटा बेहोर्नु परिरहेको हुन्छ ।

पशुविज्ञ डा. लोकनाथ पौडेल किसानले दुःखकष्ट सहेर हुर्काएका पशुमा बाँझोपनको समस्या देखिँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पारिरहेको बताउँछन् । ‘दूध उत्पादन गर्ने भैंसी मासुका लागि प्रयोग गर्दा किसानले लाखौं रूपैयाँ नोक्सानी व्यहोर्नुपर्छ,’ पशुविज्ञ डा. पौडेलले भने, ‘यसको रोकथामका लागि कृषक र सरकारबीच समन्वय आवश्यक छ । खाना कसरी खुवाउने, गोठको सुधार कसरी गर्ने भन्नेबारेमा कृषकका लागि समुदायस्तरमै पुगेर ज्ञान दिनुपर्छ ।’

पोषणयुक्त आहारमा ध्यान पु¥याउन सके पशुमा हुने बाँझोपनको समस्या निराकरण हुने पशु चिकित्सकहरूको भनाइ छ । संघीय, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर बाँझोपन घटाउने कार्यक्रम सञ्चालन भइरहेका छन् ।

‘पशुलाई टन्न खुवाएर मात्र हुँदैन; शरीरमा आवश्यक पर्ने प्रोटिन, चिल्लो पदार्थ, खनिज पदार्थ, भिटामिन, कार्बाेहाइड्रेट मिलाएर खुवाउनुपर्छ,’ पौडेलको कथन छ, ‘खाना खान नपाउने र समयमै नाम्ले तथा जुकाको औषधि खुवाउन नसक्दा बाँझोपनको समस्या बढिरहेको छ ।’ सन्तुलित खाना र औषधि खुवाउन सके बाँझोपनको समस्या कम हुँदै जाने उनले बताए ।

बाँझोपनका कारण र व्यवस्थापन
किसानका लागि पशुको नियमित प्रजनन निकै महत्वपूर्ण हुन्छ । पशुमा ढिलो आउने परिपक्वता, बाछोबिना लामो समयसम्म दूध दिने, बारम्बार हुने गर्भपतनजस्ता समस्याले प्रायः सबै जनावरको प्रजननलाई सीमित गर्दछ । पूर्ण वा स्थायी प्रजनन विफलता निम्त्याउने समस्यालाई बाँझोपन भनिन्छ ।
बाँझोपन भनेको प्रजनन कार्यमा हुने अस्थायी बाधा हो । त्यसले जनावरमा गर्भ रहन सक्दैन । सामान्यतः स्वस्थ प्रजनन कार्य भएको जनावरले हरेक १२–१४ महिनामा बच्चा जन्माउँछ । बाँझोपनका कारण बाछा तथा दूध उत्पादनमा ढिलाइ हुन्छ । यसले किसानलाई आर्थिक नोक्सान पु¥याउँछ । अनुत्पादक पशु पाल्दा पनि किसानले घाटा बेहोर्नुपरेको छ ।

आकस्मिक कारण
यसमा कुनै पनि मेकानिकल चोटका नतिजाहरू समावेश छन्, जसले अस्थायी वा स्थायी रूपमा जनावरलाई प्रजनन हुनबाट रोक्छ । तुरुन्तै विशेषज्ञले उपचार गरेमा सामान्यतः यो निको हुन्छ ।

पोषणका कारणहरू–
जनावरको प्रजननमा पोषणको भूमिका उत्तिकै हुन्छ । आवश्यक मात्रामा पोषण नपाएका पशुहरूको प्रजनन क्षमता कम हुन्छ ।
कार्बाेहाइड्रेट– कार्बोहाडे«डको कमीले प्रजननका लागि कम स्तरका शुक्राणू उत्पादनले ढिलाइ हुन सक्छ । बोसो– फ्याटी एसिड प्रजननको लागि आवश्यक हुन्छ ।

खनिजहरू– प्रजननलाई सीमित गर्ने खनिजहरूमा फस्फोरस सबैभन्दा आवेगजनक देखिन्छ । एउटा वयस्क गाईलाई प्रभावकारी प्रजननका लागि प्रतिदिन लगभग १० देखि १२ ग्राम फस्फोरसको मात्रा आवश्यक हुन्छ । क्याल्सियमको कमीले पनि गाईवस्तुमा प्रजनन समस्या ल्याउन सक्छ । तर क्याल्सियम र फस्फोरसको अनुपात महत्वपूर्ण हुन्छ । यो अनुपात अधिकतम १ः२ र २ः१ हुनुपर्छ । आयोडिनको कमीले केही प्रजनन समस्याहरू जस्तै कामवासनाको कमी हुने, कमजोर गुणस्तरको बीर्य उत्पादन हुने हुन्छ ।

भिटामिन– भिटामिन ‘ए’को कमीले पशुको पाठेघरमा प्रतिकूल प्रभाव पार्छ । यसले गेमटोजेनेसिस पनि कम गर्दछ । यसबाहेक भिटामिन ‘सी’ र भिटामिन ‘ई’ले पनि जनावरहरूको प्रभावकारी प्रजनन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

प्याथोलोजिकल कारणहरू–
पशुको शरीरमा हुने विभिन्न ब्याक्टेरिया, भाइरल वा प्रोटोजोल रोगले गर्भपात र प्रजनन क्षमता कम गर्न सक्छ । यीमध्ये ब्रुसेलोसिस, लेप्टोस्पायरोसिस, (ब्याक्टेरिया), ट्राइकोमोनास (प्रोटोजोल) महत्वपूर्ण छन् । उमेर, मौसम, तापक्रम, प्रकाश आदिले पनि यसलाई असर गरिरहेका हुन्छन् ।

बाँझोपनको व्यवस्थापन

  • गर्मीको उपयुक्त समयमा गर्भाधान गराउनु पर्छ ।

  • गर्मी लामो गएमा गर्भधारण गर्न दोहो¥याइएको एआई आवश्यक हुन सक्छ ।

  • जनावरलाई जन्मदेखि नै उचित पोषण दिनुपर्छ ।

  • खनिज मिश्रणको मात्रा पर्याप्त प्रदान गर्नुपर्छ ।

  • सफा पिउने पानी र पर्याप्त शीतल उपलब्ध गराएर जनावरलाई शीतल वातावरण उपलब्ध गराउनुपर्छ ।

  • एआई सेवा दिने कर्मचारी योग्य भए÷नभएको निक्र्योल गर्नुपर्छ ।

  • नियमित एस्ट्रस साइकलबाट गुज्रिरहेका जनावरले तीन पटक गर्भाधान गरिसकेपछि पनि गर्भ नराखेमा

  • पशुचिकित्सकसँग परामर्श लिनुपर्छ ।

किन हुन्छ बाँझोपन ?
पशुविज्ञहरूले पशुमा हुने गर्भपतन र बाँझोपनका केही कारण पत्ता लगाएका छन् । विज्ञहरूका अनुसार, यी समस्याका कारण सामान्य अवस्थामा सहजै पहिचान गर्न सकिँदैन । जीवाणु, विषाणु, माइक्रोप्लाज्मा, क्लामोडिया, ढुसीजन्य संक्रमण तथा प्रोटोजोआको सङ्क्रमणका कारण पशुको बथानमै यो समस्या देखिन्छ । विगतको अवस्थालाई नियाल्दा परजीवीजन्य संक्रमणले हुने पशुको गर्भपतन, गर्भ तुहिने तथा बाँझोपन निकै ठूलो समस्याका रूपमा देखिएको छ । तर विज्ञहरू प्रविधिमार्फत परजीवीजन्य संक्रमणबारे थाहा पाउन सकिने भए पनि अझै त्यो उपलब्ध हुन नसकेको बताउँछन् ।

विज्ञहरूका भनाइमा पशुको गर्भपतन, गर्भ तुहिने तथा बाँझोपन निराकरणका हाम्रा उपाय जीवाणु, विषाणुसम्म सीमित छन् । कृषकहरू आफ्नो गाईभैंसीलाई गर्भाधान प्रक्रियामा लैजानुको साटो दूध दिन छाड्नेबित्तिकै अर्का पशु जोहो गर्न भौंतारिन्छन् । गर्भ तुहाउने र बथानमा बाँझोपन गराउने प्रमुख कारक तत्वमा– टोक्सोप्लाज्मोसिस, ट्राइकोमोनिएसिस, सारकोसिस्येसिस, नियोसारकोसिस परजीविलाई प्रमुख मानिन्छ ।

टोक्सोप्लाज्मा गोण्डी नामक परजीवीले मूलतः बंगुर तथा भेडाबाख्रा प्रजातिको गर्भपतन गराउँछ । यस सूक्ष्म परजीवीको मुख्य बासस्थान भने बिरालो मानिन्छ । गाईभैंसी तथा मानिसमा समेत यसको संक्रमण हुन्छ । पशु चिकित्सकका अनुसार, यो परजीवी विभिन्न माध्यम भएर पशुमा प्रवेश गर्ने जोखिम हुन्छ ।

खासगरी संक्रमित पशुबीच हुने यौन सम्पर्क, मासु सेवन तथा तिनको दिसापिसाबबाट अन्य पशु तथा मानिसमा समेत यो परजीविको संक्रमण हुने खतरा हुन्छ । यो समस्या रोकथाममा सामान्य र व्यावहारिक उपाय अवलम्बन गर्न सकिने पशु चिकित्सकहरू सुझाउँछन् । उनीहरूका अनुसार, पशुको रेखदेख तथा दानापानी खुवाउँदा केही कुरामा ध्यान दिने हो भने पनि यस्तो संक्रमणबाट पशुलाई जोगाउन सकिन्छ ।

यसका साथै केही प्राविधिक उपाय पनि अपनाउन आवश्यक छ । यो समस्याबाट जोगिन सकेसम्म बिरालो पाल्नु हुँदैन । बिरालो पाल्नै पर्ने बाध्यात्मक अवस्था आए खानामा काँचो मासु मात्र दिनुपर्छ । पशुको गर्भ तुहिएमा त्यसको सालनाल गहिरो खाल्डो खनी पुर्नुपर्छ । टोक्सोप्लाज्मा परजीवीको संक्रमण भएको यकिन भए टोक्सोम्याक खोप लगाउनुपर्छ ।

पशुको गर्भ तुहाउने र बथानमा बाँझोपन गराउने अर्को प्रमुख परजीवी हो, ट्राइकोमोनिएसिस । यो परजीवीको संक्रमण पशु यौन सम्पर्कबाट हुने गर्छ । यसको संक्रमण मुख्यगरी ‘परकमत’ जातको गाईमा देखिन्छ । यद्यपि, भैंसी, बंगुर र घोडामा पनि यसको संक्रमण हुन्छ । दूध उत्पादनका लागि पालिने पशुमा यो परजीवी संक्रमण विश्वव्यापी छ ।

प्राकृतिक रूपमा यो रोग पशु यौन सम्पर्कबाहेक संक्रमित साँढेबाट संकलित बीर्यबाट पनि सर्छ । त्यसैगरी, अदक्ष पशु प्राविधिकले जनेन्द्रीय परीक्षण गर्दा समेत यो रोगको संक्रमण हुने गरेको छ, जुन हाम्रो परिवेशमा सामान्य छ । पशुको गर्भाधान प्रक्रिया सुरू भएको ३ महिनाभित्र उल्टिनु यसको लक्षण हो । त्यसैगरी, पशुको योनी चिलाउने, रक्तश्राव हुने समस्या पनि हुन्छ । गर्भावस्थाको सुरूमै गर्भ उल्टिने समस्या पटक–पटक देखिए यसको उपचार नगर्दा नै राम्रो हुन्छ ।

किनकि, यस्तो अवस्थामा जन्मेको बाछाबाछी स्वस्थ हुँदैनन् । यसैले, किसानले बेलैमा वुद्धि पु¥याइ बथानका अन्य कोरलीको गर्भाधानका लागि साँढे प्रयोग गर्नुभन्दा कृत्रिम गर्भाधानको विकल्प रोज्नु उपयुक्त हुन्छ । पशुमा यसप्रकारको समस्या आउन नदिन पशुको गर्भाधान गर्दा साँढे यो परजीवीबाट संक्रमित नभएको यकिन गनुपर्छ ।

कृत्रिम गर्भाधान प्रक्रिया अपनाउँदा निर्मलीकरण गरिएका औजार तथा निःसंक्रमित विधि अपानाउनुपर्छ । कृत्रिम गर्भाधानका लागि प्रयोग गरिने बीर्यमा संक्रमण देखिए सम्पूर्ण बीर्य नष्ट गर्नुपर्छ । तुहिएका पशुलाई बथानबाट हटाउनु उपयुक्त हुन्छ ।

नेपालमा हालसम्म पशुको गर्भ तुहाउने र बथानमा बाँझोपन गराउने प्रमुख परजीवी टोक्सोप्लाज्मोसिस र ट्राइकोमोनिएसिस नै हुन् । यो समस्या नेपालमा धेरै ठूलो मात्रामा देखिइसकेको भने छैन । यद्यपि, पशुपालक किसान यस्तो संक्रमणबारे बेलैमा सचेत हुन आवश्यक छ । र, पशुको कृत्रिम गर्भाधान गराउने पशुविज्ञ पनि यसमा सचेत हुन जरुरी छ ।

(भेट टाइम्स मासिकबाट)