नेपाली खोपबारे हेटौंडामा अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाली खोपको बजार विस्तारबारे हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाको आयोजना र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको समन्वयमा बिहीबार मकवानपुरको हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले नेपाली खोपबारे अन्तरक्रियासँगै सुझाव संकलन गरेको जनाएको छ ।

कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दहालले राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम तथा संक्रामक रोग नियन्त्रणको वर्तमान अवस्था र भावी कार्यदिशा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठले बागमती प्रदेशको वर्तमान पशुपन्छी तथ्याङ्क, विद्यमान संक्रामक रोगको अवस्था र रोग नियन्त्रण तथा रोकथाममा प्रयोग गरिने खोप र अन्य उपाय र राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमुख पशु चिकित्सक डा. प्रसाईंले राष्ट्रिय खोप उत्पादन प्रयोगशालामा उत्पादन हुने खोपका किसिम तथा खोप उत्पादन तथा बिक्रीको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुतिपछि त्यसमाथि छलफल चलाइएको थियो । जसका लागि सहभागीहरूलाई ४ समूहमा विभाजन गरिएको थियो । छलफलपछि त्यसको निष्कर्ष प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख डा. प्रसाईंले प्रयोगशालाले उत्पादन गरेको खोपबारे पृष्ठपोषण प्राप्त गरी समयानुकूल सुधार गर्न कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै प्राप्त सुझाव ग्रहण गरेर खोपको गुणस्तर वृद्धि गर्न केन्द्रित हुने प्रतिबद्धता जनाए ।

 

राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका प्रमुख डा. प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशका सचिव राजेन्द्र कोइराला, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दहाल, बागमती प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठ, बागमती प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठलगायतको उपस्थिति थियो ।