काठमाडौँ । औषधि व्यवस्था विभागले ‘रिजर्व एन्टिबायोटिक’ औषधिको रुपमा रहेको ‘कोलिस्टिन’ (COLISTIN) औषधिको आयात, बिक्रीवितरण र प्रयोग गरेको पाइए हदैसम्मको कारबाही गर्ने भएको छ ।
विश्व स्वास्थ्य संगठनले ‘रिजर्भ एन्टिबायोटिक’ औषधिको रुपमा वर्गीकरण गरेको कोलिस्टिन अन्य एन्टिबायोटिक (प्रतिजैविक) औषधिले काम नगरेको अवस्थामा मात्रै प्रयोग गर्न मिल्ने औषधि हो ।
यो औषधिको प्रयोग गरिएको पशुपन्छीको मासु तथा पशुपन्छीजन्य उत्पादनको सेवन गर्दा मानिसमा अन्य एन्टिबायोटिक औषधिले काम नगर्ने अवस्था आउने विभागले जनाएको छ । विश्व स्वास्थ्य संगठनको २०१६ देखि २०२१ सम्मको औषधि खपत विवरणमा पनि कोलिस्टिन औषधिको प्रयोग अधिक देखिएको छ ।
छिमेकी देशहरु भारत र बंगलादेशले समेत यो औषधिको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएका छन् ।
२०७६ भदौ ३ गते बसेको औषधि सल्लाहाकार समितिले पनि उक्त औषधि नेपालमा दर्ता नगर्ने र आयात तथा बिक्रीवितरण नै नगर्ने सिफारिस गरेको थियो ।
तर, नेपालमा कोलिस्टिन औषधिको प्रयोग पशुपन्छी तथा माछाको उपचारमा प्रयोग भएको पाइएको विभागको भनाइ छ ।
उक्त रिजर्भ एन्टिबायोटिक औषधि अनधिकृत रुपमा केही आयातकर्ताले आयात गरेको र लुकाइछिपाई सोझै फर्म तथा पोल्ट्री क्षेत्रका फार्मलाई उपलब्ध गराइएको सूचना विभागमा प्राप्त भएको जनाएको छ ।
उक्त औषधिको प्रयोग औषधि ऐन २०३५ विपरीतको कार्य हुने भएकोले कसैले प्रयोग गरेको भेटिए कानुनअनुसार हदैसम्मको कारवाही गर्ने विभागले २९ माघमा सूचना निकालेर चेतावनी दिएको छ ।
यद्यपी, विभागले यसअघि भने काेलिस्टिन औषधि प्रयाेग भइरहेकाे थाहा हुँदा पनि नियन्त्रणामा प्रभावकारी कदम चालेकाे थिएन । याे औषधि प्रयाेग नगर्न औषधि सल्लाहार समितले ३ वर्षअघि नै सिफारिस गरे पनि विभागले बितेका ३ वर्ष यसबारे माैनता मात्रै देखाएन, थाहा पाएका र पक्राउ परेका व्यवसायीहरूलाई समेत जाेगाउँदै आएकाे थियाे ।
हेर्नुहोस् विभागको सूचना