काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई लिएर पशु चिकित्सक र पशु सेवा प्राविधिकबीच देखिएको द्वन्द्व थप उत्कर्षमा पुगेको छ । विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै पशुपन्छी चिकित्सकहरूको संस्था नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) र पशु प्राविधिककको संस्था नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) एक–अर्काविरुद्ध आमनेसामने भएका हुन् ।
संसदीय समितिमा विधेयकमाथिको छलफल सुरु भए लगत्तै एनभिएले विधेयक एकपक्षीय र हचुवाको भरमा ल्याइएको भन्दै संशोधन गर्न माग गरेको थियो । तर नेभ्लालगायत केही पशु प्राविधिक संगठन भने विधेयकमा समेटिएका प्रावधान उपयुक्त भएको भन्दै त्यसको समर्थनमा उत्रिएका थिए । विरोधका बाबजुद प्रतिनिधिसभाबाट विधेयक पारित भएसँगै यी दुई संगठन पुनः आमनेसामने भएका छन् ।
एनभिएले पारित विधेयकको विरोधमा एक साता लामो संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारबाट सुरु संघर्ष कार्यक्रममा कालोपट्टी बाँध्नेदेखि सेवा ठप्प पार्नेसम्म छन् । एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ आफूहरूको चासोप्रति बेवास्ता गर्दै विधेयक अघि बढाइएकाले बाध्य भएर संघर्षका कार्यक्रम सार्वजनिक गर्नुपरेको बताउँछन् ।
प्रतिनिधिसभाबाट पारित विधेयकविरुद्ध एनभिएले संघर्षका कार्यक्रम अघि बढाइरहँदा नेभ्ला भने खुलेरै विधेयकको प्रतिरक्षामा उत्रिएको छ । विधेयक पारित गर्न भूमिका खेल्ने कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवलगायतलाई धन्यवाद ज्ञापन गरेको नेभ्लाले एनभिएको नाम उल्लेख नगरी घुमाउरो भाषामा उसलाई भने उच्छृंखल समूहको संज्ञा दिएको छ । यति मात्रै होइन, उसले पशु चिकित्सकको संस्थालाई किसानको हितमा काम नगर्ने तत्व भएको संगीन आरोपसमेत लगाएको छ । थपमा उसले एनभिएको संलग्नतामा अत्यावश्यक सेवा बन्द गरिएकाले कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।
‘प्रतिनिधिसभाबाट विधेयक पारित भएको अवस्थाबाट अत्तालिएर किसानको हितमा काम नगर्ने केही निहीत स्वार्थ बोकेका उच्छृंखल समूहबाट विधेयक फिर्ता गराउन विरोधका कार्यक्रम सञ्चालन गरिने जानकारी प्राप्त भएकाले यस्ता उच्छृंखल समूहबाट हुने अराजक गतिविधिहरूको हामी घोर भत्र्सना गर्दछौं,’ नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भेटेरिनरी सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले बन्द, हड्तालजस्ता कार्य गर्ने उच्छृंखल समूहलाई कडाभन्दा कडा कानूनी कारबाहीका लागि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।’
एनभिएले सेवा प्रभावित गर्ने गरी आन्दोलन थालेपछि नेभ्लाले त्यसलाई रोक्न मातहतका संगठनलाई निर्देशन दिएको छ । सातवटै प्रादेशिक समिति, ७७ वटै जिल्ला कार्यसमिति, ७५३ वटै स्थानीय तह कार्यसमिति तथा सदस्यहरूलाई सर्कुलर गर्दै नेभ्लाले विधेयकको विरोधमा घोषणा गरिएको कार्यक्रमबाट विचलित नभई निरन्तर प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।
‘विधेयक फिर्ता गराउने गतिविधिहरूबाट विचलित नभई कृषकको सेवामा निरन्तर प्रभावकारी रूपमा सेवा प्रवाह हुनेगरी आफ्ना क्रियाकलापहरू सञ्चालन गर्न सम्पूर्ण पशु प्राविधिक मित्रहरूलाई हार्दिक आह्वान गर्दछौं,’ नेभ्लाको सर्कुलरमा भनिएको छ ।
पशुपन्छी क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिँदै आएका चिकित्सक र प्राविधिक सम्भवत पहिलोपटक खुलेरै एक अर्काविरुद्ध सतहमा देखिएका हुन् । यो द्वन्द्वले पशुपन्छी क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने चिन्ता सरोकारवालाको छ ।