सर्वसम्मत हुन्छ भने नेतृत्व लिन तयार छु

दिनेशराज मिश्र पशुपन्छी औषधि व्यवसायीमाझ भिजेको नाम हो । दोस्रो महाधिवेशनदेखि संघमा आबद्ध उनले विभिन्न भूमिकामा रहेर काम गरे । पशुपन्छी औषधि व्यवसायीको हक–हितका निम्ति काम गरेकाले संघको १० औं महाधिवेशनले उनलाई महासचिवमा सर्वसम्मत चयन पर्यो । जतिबेला उनी नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघको महासचिव र नेपाल पोल्टी महासंघको महासचिव थिए । पशुपन्छी व्यवसायीको हकहितका लागि संघ स्थापना भए पनि तदनुरूप काम हुन नसकेको मिश्रको अनुभव छ । मिश्रले संघको नेतृत्वमा नरहे पनि साधारण सदस्य तथा सल्लाहकारका रूपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जायर गरे । तथापि, उनी व्यवसायीहरूले सर्बसम्मत रूपमा संघको नेतृत्व लिइदिन आग्रह गरेको खण्डमा पनि तयार रहेको बताउँछन् । मिश्रसँग पशुपन्छी औषधि व्यवसाय र व्यवसायीको अवस्था, संघले खेलेको भूमिका, आसन्न महाधिवेशनलगायत विषयमा केन्द्रित रहेर भेट टाइम्सका लागि विष्णु पाण्डेयले गरेको कुराकानी :

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १३ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै छ । यसबारे के भन्न चाहनु हुन्छ ?
नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १३ औं महाधिवेशन हुँदैछ । सर्वप्रथम त म यो महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु ।संघको धुलिखेलमा सम्पन्न दशौं महाधिवेशनले मलाई सर्वसम्मत महासचिवमा निर्वाचित गरेको थियो । तत्कालीन अवस्थामा पशुपन्छी औषधि व्यवसायी संघमा जति पनि जिम्मेवारी आएका थिए, तिनलाई सुव्यवस्थित र जिम्मेवारीपूर्वक बहन गरेको महसुस मलाई भएको छ ।

त्यतिबेला पशुपन्छी औषधि व्यवसायी संघका अलावा नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघको महासचिव र नेपाल पोल्टी महासंघको महासचिव थिएँ म । यी दुई संगठनमा पनि मैले आफ्नो जिम्मेवारीअनुसारको भूमिका निर्वाह गरेँ । संघको दशौं महाधिवेशनपछि तीन वटै संस्थामा महासचिवको भूमिकामा क्रियाशील हुने अवसर मलाई मिल्यो । त्यसलाई म गौरवशाली भूमिका भन्न रुचाउँछु । म यसो किन पनि भनिरहेको छु भने यस्तो अवसर न हिजो कसैले पाएका थिए, न आज पाएका छन्, न भोलि पाउलान् । तीन संगठनमा अलग–अलग जिम्मेवारी पाउँदा पनि मैले कुशलतापूर्वक त्यसलाई वहन गरे । जसले म आफैंलाई पनि आत्मसन्तुष्टि दिन्छ । यी तीन वटै संगठनले पनि मेरो भूमिकालाई गौरवको क्षणका रूपमा लिएका छन् भन्ने मेरो विश्वास छ ।

औषधि व्यवसायी संघले कसरी काम गर्नुपर्ने खाँचो देख्नुहुन्छ ?
हामीले हरेक काम योजना बनाएर गर्नुपर्छ । कार्ययोजना एउटा अल्पकालीन हुन्छ, अर्को दीर्घकालीन । अल्पकालीन कार्ययोजनालाई आफू अनुशासित भएर समय सीमाको परिधिमा रही कार्यान्वयन गर्नुपर्ने हुन्छ । कुनै पनि काम गर्नुअघि सबै कार्ययोजनालाई सूचीबद्ध गरेर लैजाने हो भने संघ÷संस्थाका कार्ययोजना पनि सञ्चालन हुँदै जान्छन् । व्यक्तिगत व्यावसायिक कामले पनि लय पक्डन्छन् ।

पशुपन्छी औषधि व्यवसायी संघको महासचिव भएपछि थप भूमिकामा यहाँलाई देख्न पाइएको छैन । संघलाई किन यसरी माया मार्न भएको ?
पशुपन्छी औषधि व्यवसायी संघमा म दोस्रो राष्ट्रिय महाधिवेशनयता प्रत्यक्ष संलग्न छु । दशौं महाधिवेशनले मलाई सर्वसम्मत महासचिवमा विजयी गरायो । महासचिवको जिम्मेवारी वहन गरिसकेको हुनाले साथीभाइले उपाध्यक्ष, अध्यक्षलगायत पदमा मलाई देख्न चाहेको बताउनु भएको छ । ‘तपाईं अघि बढेर समय दिनुप¥यो, भूमिका निर्वाह गर्नुप¥यो भन्ने उहाँहरूको मत छ । मेरा अग्रज, समकालीनसँगै अनुजहरू पनि पशुपन्छी औषधि व्यवसायी संघको पदाधिकारीमा उम्मेदवारी दिइरहनु भएको छ । म पशुपन्छी औषधि व्यवसायीको हक–हितका लागि काम गर्छु भनेर स्वतःस्फूर्त अग्रसर हुनु स्वागतयोग्य कुरा हो । संघ भनेको विधि, विधान तथा विज्ञान र व्यवहारसम्मत हुनुपर्छ । मैले संघलाई बिर्सिएको छैन । पोल्ट्री क्षेत्रमा केही गर्नुपर्छ भन्ने हिसाबले अग्रसर हुँदा संघमा सक्रिय हुन नसकेको हुँ, बिसिएको छैन । अहिले पनि संघको केन्द्रीय सल्लाहकार छु । वाग्मती प्रदेशको पनि सल्लाहकार हुँ । उहाँहरूले मेरो आवश्यकता महसुस गरेर राय÷सुझाव मागेको खण्डमा दिइरहेको छु । यति लामो समय क्रियाशील संघलाई बिर्सने कुरै आउँदैन नि ।

पदाधिकारीमा निर्वाचित भएर काम गर्ने रुचिचाहिँ नभएको हो ?
म संघमा आबद्ध हुनुअघि पशुपन्छी औषधि व्यवसायी संघलाई ‘भेगडान’ भनिदैनथ्यो । यसलाई सर्ट फर्ममा ‘भेगडान’ राखौं भनेर कार्यसमितिमा प्रस्ताव लैजाने मै हुँ । मेरो प्रस्तावपछि विधान संशोधन समिति बन्यो । त्यसले भेगडान राख्ने प्रस्ताव अनुमोदन ग¥यो । लामो समय पशुपन्छी औषधि व्यवसायी संघमा आबद्ध रहेकाले यो क्षेत्रका व्यवसायीको हक÷हितका निम्ति काम गर्ने रुचि पक्कै छ । त्यसका लागि कार्यसमितिमै हुनुपर्छ भन्ने छैन । साधारण सदस्य तथा सल्लाहकारका रूपमा बाहिरै बसेर भए पनि यी काम गर्न सकिन्छ ।

साथीभाइले सर्वसम्मत नेतृत्व लिइदिनुपर्यो भनेर प्रस्ताव गरे भने के गर्नुहुन्छ ?
सबै साथीभाइले ‘तपाईंले संघको नेतृत्व लिन आवश्यक छ । आउनुपर्यो’ भनेर सहमतिको वातावरण निर्माण गर्नुभयो भने म जिम्मेवारी लिन पनि तयार छु । चुनौतीपूर्ण समयमा तीन वटा संस्थाको महत्वपूर्ण भूमिकामा रहेर त काम गरियो भने पशुपन्छी औषधि व्यवसायी संघ हाँक्न मलाई कुनै समस्या छैन । मात्र साथीभाइबाट मलाई साथ, सहयोग र हौसला आवश्यक छ ।
पशुपन्छी औषधि व्यवसायी संघका समस्याचाहिँ के कस्ता छन् ?
तहगत रूपमा पैठारीकर्ता, थोक, खुद्रा व्यवसायी हुनुहुन्छ । यी सबैको आ–आफ्नै समस्या छन् । सबै क्षेत्रका व्यवसायीलाई आफ्नो समस्या ठूलो र अरूको कम हो भनेजस्तो लाग्छ । वास्तवमा समस्या समस्या नै हो । यी समस्या समग्र व्यवसाय र व्यवसायीको हो । पशुपन्छी औषधि व्यवसायमा भएका समस्या समाधानका लागि राज्यले नीतिगत तहमा काम गर्न सकेको छैन । यसमा हामी व्यवसायीले पहल गर्नुपर्छ । कुनै पनि व्यवसाय र व्यवसायीको भविष्यको सुनिश्चितता छैन । राज्यले नीति नियमले बाँध्न सकेको छैन । हाम्रो पसल दर्ता औषधि व्यवस्था विभागमा हुन्छ । यसमा समस्या छ । पशुपन्छी औषधि ऐनका लागि ०६१ सालदेखि पहल गरेकोमा अहिलेसम्म सम्भव भएको छैन । फिड सप्लिमेन्टलाई पनि व्यवस्थित गर्न सकिएको छैन । यसको दर्ता प्रक्रिया झन्–झन् झण्झटिलो, कसिलो र पेचिलो बनाइँदै छ । हुँदै नभएका कुरा लगाइएका छन् । पहिले पैठारी सिफारिस पत्र एक वर्षको थियो । पछि १३ महिना बनाइयो । अहिले त्यसलाई पनि संशोधन गरेर पटके गरिएको छ । पैठारीकर्ता र ट्रेडर्सलाई पटके सिफारिस दिने कहीँ पनि हुँदैन । औषधि र फिड सप्लिमेन्टजस्तो संवेदनशील विषयमा पटके व्यवस्था हुँदा पैठारीकर्ता निरुत्साहित भएका छन् । काममा ढिलासुस्ती भएको छ । लगाउनै नपर्ने क्वारेन्टाइन ऐन तथा हेल्थ सर्टिफिकेट भनेर उर्दी जारी गरिएको छ । पशु स्वास्थ्य ऐन, २०५५ तथा नियमावली २०५६ अन्तर्गत पनि यो कुरा आउँदैन । यस्ता असंगत कुरा हटाउन विभाग, मन्त्री, सचिवलाई पटक–पटक आग्रह गरेका छौं । तर सम्बोधन भएको छैन । पशु सेवा विभाग र क्वारेन्टाइन महाशाखाले गलत अर्थ लगाउँदा पनि यी समस्या अझै जटिल बनेका छन् ।

क्वारेन्टाइनको व्यवस्थाले रोग सर्ने खतरा न्यूनीकरण गर्छ । यस्तो प्रावधान राख्नु मानव स्वास्थ्यका दृष्टिले उपयुक्त छ होइन र ?
जुन जीवित सजीव वस्तु, जसले रोग सार्न सक्छ, त्यसबारे गहन अध्ययन अनुसन्धान गर्न क्वारेन्टाइन लाग्ने हो । तयारी अवस्थामा आएका फिड सप्लिमेन्टबाट रोग सर्ने सम्भावना नै हुँदैन । जस्तो, मानवले प्रयोग गर्ने औषधि, फिड सप्लिमेन्टमा क्वारेन्टाइन लाग्दैन । तर पशुपन्छी औषधि तथा फिड सप्लिमेन्टमा भने क्वारेन्टाइनको झण्झटिलो र अनावश्यक प्रक्रिया थोपिरिएको छ, यो खारेज हुनुपर्छ । सबै पशुपन्छी औषधि व्यवसायी लाग्ने हो भने यो असम्भव पनि छैन ।

यसबाहेक अरू समस्या पनि छन् कि ?
आयात तथा उत्पादनकर्ताबाट आएका सामान थोक बिक्रेता एवं व्यवसायीले व्यवस्थित ढंगले बिक्री गर्ने अवस्था छैन । सिधै आयातकर्ता तथा उत्पादनकर्ताको सामान लिन जान समस्या छन् । खुद्राले दिएको समस्या थोकले र थोकबाट सिर्जित समस्या खुद्राले देखाउँछन् । तीनै तहका पशुपन्छी औषधि व्यवसायी संघका साथीहरू बसेर पहल गर्ने हो र राज्यका निकाय पनि त्यहीअनुसार नीति बनाएर अघि बढ्यो भने यसको समाधान असम्भव छैन ।

विश्वमा नयाँ प्रविधि भित्रिएका छन् । पशुपन्छी औषधि व्यवसायी कत्तिको अपडेट छन् ?
ग्लोबल ट्रेण्डमा संसार आफ्नै ढंगले अघि बढिरहेको छ । नयाँ नयाँ अवधारणा आएका छन् । जसलाई पशुपन्छी औषधि व्यवसायीले पनि आत्मसाथ गर्न सक्नुपर्छ । तर मलाई हामी अद्यावधिक भएका छौं जस्तो लाग्दैन ।

थप व्यावसायिक र व्यवस्थित हुन के गर्नुपर्ला ?
हामीसँग प्रत्यक्ष रूपमा टाँसिने भनेका कुखुरापालक अर्थात् पशुपन्छीपालक किसान हुन् । हामी प्रत्यक्ष संलग्न क्षेत्रको समुच्च विकास भए मात्रै हामी माथि पुग्न सक्छौं । अन्यथा हाम्रो प्रगति असम्भव छ । किसान रहने÷नरहने अहिलेको मुख्य चुनौती हो । सरकारले विदेशी लगानी भित्राउने नीति अख्तियार गरिरहेको छ । दानामा भित्रिसकेको अवस्था छ । भोलि कृषिमा पनि यसैगरी प्रत्यक्ष लगानी भित्राइयो भने हाम्रो भविष्य नरहन सक्छ । पैठारीकर्ताको पनि अस्तित्व नरहने खतरा छ । किनभने, ठूलाठूला मल्टिनेशनल कम्पनीले सिधै सामान पठाइदिन्छन् । पैठारीकर्ताको अस्तित्व नरहने बित्तिकै खुद्रा र थोकको अवस्था धरापमा पर्छ । जसको भैंसी, उसकै लाठी भनेजस्तो अवस्था बन्न नदिन व्यवस्थित तरिकाले अघि बढ्नुपर्ने हुन्छ । नेपाल विशाल अर्थतन्त्र भएका मुलुकको बीचमा छ । हाम्रो भू–राजनीतिक अवस्था पनि उत्तिकै कमजोर छ । विज्ञान र प्रविधिको विकासले संसार नै साँघुरिएको आभास भइरहेका बेला आफैं बलियो भएनौं भने भोलि कसैको पनि भविष्य र अस्तित्व रहँदैन । अन्य अल्पकालीन र दीर्घकालीन समस्याको बीचमा रहेको यो सबैभन्दा ठूलो समस्या हो ।

पशुपन्छी औषधि व्यवसायी संघ विशुद्ध व्यावसायिक संगठन भए पनि राजनीति घुस्यो भन्ने गुनासो सुन्न थालिएको छ । यसबारे तपाईंको धारणा के छ ?
हाम्रो पशुपन्छी औषधि व्यवसायी संघ अहिले केन्द्र, प्रदेश हुँदै अहिले शाखामा पुगिसकेको छ । यी तीनै तहको नेतृत्वमा पशुपन्छी औषधि व्यवसायीका समस्या र दुःख बुझेका र उच्च आचारण भएका हुनुहुन्छ । उहाँहरू सबैले संघको अपनत्व कायम गर्न भूमिका खेल्नुप¥यो । तथापि, पछिल्लो समय संघलाई केही तहका, केही लेबलका, केही आस्थातिर ढल्किने मान्छेले मात्र संघलाई डोहो¥याउन खोजिरहेका छन् । यो राम्रो संकेत होइन । सबै व्यवसायीको हक÷हित हुने गरी संघलाई व्यवस्थित गर्न सक्नुपर्छ । पदाधिकारी, कार्यसमितिमा बस्ने सबै दायित्वबोध लिएर अघि बढ्नुपर्छ । अग्रजले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरिदिएकाले संघ यो ठाउँमा आइपुगेको हो । भविष्यमा पनि यो संस्थालाई अझै गरिमामय बनाउन कुनै पनि वाद र विचार अवलम्बन नगरी अघि बढ्नुपर्ने हुन्छ ।

संघको आगामी नेतृत्वका लागि रस्साकस्सी छ । आगामी नेतृत्व कस्तो आउनुपर्ने खाँचो देख्नुहुन्छ ?
हाम्रो संघको १३ औं महाधिवेशन यही फागुन २०–२१ गते हुँदैछ । यसबाट असल एवं सन्तुलित नेतृत्व र राम्रो कार्यसमिति आओस् भन्ने मेरो सदिक्षा छ । आग्रह, पूर्वाग्रह राखेर काम गर्दा राम्रोभन्दा हाम्रोले स्थान पाउँछन् । आफ्नो होइन, राम्रो मान्छे संघलाई खाँचो छ । विराटनगरमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनमा चुस्त, दुरुस्त कार्यसमिति बनेको थियो । त्यसैले व्यवसायीको हक हितमा काम हुने अपेक्षा थियो । तर त्यस्तो भएन । कार्यसमितिका कतिपय पदाधिकारी नै संघप्रति जवाफदेही नभई अनुपस्थित भइदिए । दिइएको जिम्मेवारी वहन गर्न नसक्ने मान्छेहरूलाई आसन्न महाधिवेशनले नचुनोस् ।

महाधिवेशन पनि अलिक भड्किलो बन्दै गएको हो ?
हो । पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन राजनीतिक दलको जस्तो भड्किलो र खर्चिलो हुँदै गइरहेको छ । यो रोकिनु पर्छ ।

यस्तो रवाफिलो प्रवृत्तिका दुष्प्रभाव कस्तो पर्ने देख्नुहुन्छ ?
यस्ता रवाफले क्षणिक रूपमा कसैलाई आकर्षित गर्न सक्ला तर त्यसले दीर्घकालमा फाइदाभन्दा बेफाइदा बढी हुन्छ । विकृति भित्रिन्छ । असल तथा राम्रा मान्छे आउन सक्दैनन् । खर्च गर्न नसक्ने मान्छे निर्वाचित नहुन सक्छ । खराब आचरणले प्रोत्साहन नपाउने गरी हामी काम गर्नुपर्छ । नेतृत्व यस्तो आउनु पर्छ कि जसले थोक, खुद्रा र पैठारीकर्ताको भावना बुझेको हुनुपर्छ । नेतृत्वमा आइसकेपछि अनुचित लाभ नलिने, व्यक्तिगत स्वार्थ नहेर्ने हुनुप¥यो । हुन त अहिलेको अवस्थामा यो अपेक्षामा मात्र सीमित होला । तैपनि, यसतर्फ अधिकतम प्रयास हुनुपर्छ ।

आगामी नेतृत्वको ध्यान केमा केन्द्रित हुनुपर्ला ?
विधि र पद्धतिअनुसार संस्था चल्नुपर्यो । जस्तो, अहिले नै संघको महाधिवेशन तीन÷तीन पटक सारियो । यदि सार्नु नै थियो भने सबैसँग राय, सुझाव र सल्लाह लिनुपथ्र्यो । तर निर्णय सुनाएर साक्षी किनारा राखियो । बिना कारण, बिना आधार महाधिवेशन सारिएकोप्रति मेरो आपत्ति छ । यस्ता गतिविधिले कताकता राजनीतिको गन्ध घुसेको हो कि भन्ने संशय पैदा गरेको छ ।
जिल्ला, प्रदेश तथा केन्द्रकै कतिपय पदाधिकारीहरूले नै आफ्नो महाधिवेशनलाई भन्दा पनि पार्टीका अधिवेशन÷महाधिवेशनलाई ध्यान दिएको देखिएको छ । यसरी सुतेर बस्नु हुँदैन । विधि र पद्धतिअनुसार संघलाई अगाडि बढाउनु पर्छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
सबै अल्काली छार हुन् तर सबै छार अल्काली होइनन् भनेजस्तो सबै पैठारीकर्ताहरू पशुपन्छी औषधि व्यवसायी संघका सदस्य हुनुहुन्छ । तर सबै पशुपन्छी औषधि व्यवसायी संघका साथीहरू पैठारीकर्ता संघमा सदस्य हुनु भएको छैन । तैपनि, हामी नङ र मासुजस्तै एक अर्काप्रति अभिन्न सम्बन्ध राखेका मान्छे हौं । त्यसैगरी, नेपाल पोल्ट्री महासंघमा नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघ सँगसँगै नेपाल पशुपन्छी औषधि व्यवसायी संघलगायत १०–१२ संघ आबद्ध हुनुहुन्छ । म दुवै संघको तर्फबाट पशुपन्छी औषधि व्यवसायी संघको १३ औं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।

भेट टाइम्स मासिक फाणुन २०७८ बाट