व्यवसायीहरू दायित्वच्यूत भइरहेका छन्

केही समयदेखि कोरोनाभाइरस महामारी छ । यही महामारीका कारणले हो कि पशुपन्छी औषधि व्यवसायी संघले अनुभूति हुनेगरी उल्लेखनीय कुनै काम गरेको देखिएको छैन । हुन त, संघका अध्यक्ष भूपेन्द्रप्रसाद गौतम केही गरौं भन्ने हुटहुटी भएको व्यक्ति हुनुहुन्छ । तथापि, मेन्टेन गर्ने हिसाबले मात्र काम भएजस्तो देखिन्छ ।

मैले संघको अध्यक्षका रूपमा धेरै उल्लेखनीय काम गरेको छु । म अध्यक्ष रहँदा फिड सप्लिमेन्टमा भ्याट लाग्ने गथ्र्यो । मभन्दा अगाडि संघको नेतृत्व गर्नुभएका अध्यक्षज्यूहरूले पनि यसलाई हटाउन निकै कोसिस गर्नुभएको थियो । तर सफल हुनुभएको थिएन । मैले अध्यक्ष भएपछि फिड सप्लिमेन्टमा लाग्दै आएको भ्याट हटाउन सफल भएँ । यो मेरो कार्यकालको उल्लेखनीय उपलब्धि हो भन्ने मलाई लाग्छ ।

पशुपन्छी औषधि व्यवसायीको क्षमता अभिवृद्धि हुनुपर्छ । त्यसका लागि तालिम आवश्यक हुनजान्छ । तर म अध्यक्ष हुनुपूर्व भेटेरिनरीमा यस्तो तालिमको प्रबन्ध थिएन । संघ, औषधि व्यवस्था विभाग र पशु सेवा विभागबीच सहकार्य गरेर व्यवसायिक तालिम दिने सुरुवात मेरै कार्यकालमा भएको हो । तीन वटालाई मिलाएर कोर्ष डेभलपको काम त्यतिबेला गरिएको थियो । म अध्यक्ष हुँदा केन्द्रीय संघ मात्र थियो, शाखा थिएन । शाखा विस्तारको काम मैले नै थालेको हुँ । माओवादी द्वन्द्वकाल भएकाले हिँड्डुल गर्न गाह्रो थियो । तथापि, त्यति हुँदाहुँदै पनि शाखा खोल्ने काम गरियो ।

संगठनका अग्रज र कार्यकालमा सहयोग गर्नेलाई सम्मान गर्ने प्रचलन मैले नै चलाएको हुँ । जुन प्रचलन अद्यपि कायम छ । व्यवसायलाई मर्यादित बनाउने सुरुवात पनि गरेको थिएँ । तर त्यसलाई पनि पूणर्ता दिन सकिनँ । तथापि, मपछिका साथीहरूले त्यसलाई निरन्तरता दिइरहनु भएको छ ।
विगतभन्दा मेरो ट्रयाक थोरै परिवर्तन भएको छ । म व्यवसायीभन्दा अहिले उत्पादक हुँ । त्यसैले पशुपन्छी औषधि व्यवसायीका समस्या मलाई अलि कम जानकारी हुन्छ । तथापि, केही दीर्घकालीन समस्या मैले अहिले पनि देखिरहेको छु । यो व्यवसायमा तीन वटा फरक फरक स्वार्थ भएका संलग्न छौं । ती हुन्, आयातकर्ता, थोक व्यवसायी र खुद्रा व्यवसायी । यीबीच जहिले पनि बाझिने इन्ट्रेस्ट हुन्छ । त्यसैले एकले अर्कोलाई दोषारोपण गरिरहन्छन् । मेरो बुझाइमा विगतदेखिको यो सबैभन्दा ठूलो समस्या हो ।
मैले भन्न मिल्छ कि मिल्दैन थाहा छैन । तर मलाई भन्न मन लागेको छ । त्यो के हो भने पशुपन्छी औषधि व्यवसायीहरू अलि बढी नाफामुखी भएका छन् । किसानलगायत पक्षलाई ध्यान नदिई जथाभावी औषधि मगाउने संस्कृति बढेको छ । दुई नम्बर मार्केटबाट दर्ता नभएको औषधि ल्याएर बिक्री वितरण गर्नेहरू पनि उत्तिकै छन् ।

प्याकिङमा पनि जे पायो त्यही गर्ने प्रवृत्ति छ । भर्खरै मात्र मैले कुनै कम्पनीको इन्जेक्सन आइए ड्रपको कन्टेनरमा राखेर बिक्री भइरहेको देखेको छु । यो हुनै नसक्ने कुरा हो । दायित्वतिरभन्दा पैसाको पछाडि बढी केन्द्रित भएका हौं कि । सारमा भन्नुपर्दा अलिकति नैतिकता र अलिकति अरू केही प्रवृत्तिको समस्या छ ।

पशुपन्छी औषधि व्यवसाय स्वास्थ्यसँग सम्बन्धित छ । पशुपन्छी नै किन नहोस्, हामीले कसैको ज्यानसँग खेलबाड गर्न हुँदैन । किसानका लाखौं लाख हालेर किनिएका जनावर औषधिले काम नगरेर मरिरहेका हुन्छन् । उत्पादनबाट फाइदा भए न भने किसान बिग्रिन्छन् । यो पाटोलाई पनि हामीले गम्भीरतापूर्वक सोच्नु पर्छ ।

पशुपन्छी औषधि व्यवसायी संघलाई धेरै माया गर्ने मान्छे हुँ । तर अहिले म यसबाट थोरै बाहिर छु । लाइन फरक परेकाले यसका क्रियाकलापमा खासै समय दिन पाउदिनँ । तथापि, केही सुझावचाहिँ म दिन चाहन्छु । पशुपन्छी औषधि व्यवसायीका तीन तह छन् । तिनीहरूबीच स्वार्थ बाझिँदा लामो समयदेखि द्वन्द्व छ । यी समस्या समाधान गर्नसक्ने नेतृत्व चयन भइदेओस् भन्ने मेरो चाहना छ । नैतिक आचरण भएका कामलाई बढावा दिने, गलत काम गर्नेमाथि प्रश्न गरेर जिम्मेवार बनाउने नेतृत्व आइदिए जाती हुन्थ्यो ।

पशुपन्छी औषधि व्यवसायी अहिले पनि टाउको निहुर्‍याएर हिँडुनुपर्ने अवस्था छ । पत्र-पत्रिकाका हरेक अंकले पशुपन्छी औषधि व्यवसायीका कैफियत औंल्याइरहेको हुन्छ । आगामी नेतृत्वले यस्ता समस्या समाधान गर्ने ल्याकत भइदिओस् ।
सबैभन्दा पहिले संगठनको नेतृत्व गर्ने व्यक्तिले आफ्ना व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ र संस्थाको स्वार्थलाई शिरोपर गर्नुपर्छ । कुर्सीमा बसुञ्जेल निजी स्वार्थ छाड्नु पर्छ ।

संगठनको साधारण सदस्यदेखि लिएर पदाधिकारीसम्मको जिम्मेवारी पनि लिनुपर्‍यो । कसैको भलाइ, कसैको नराम्रो गर्न भएन । जुन उद्देश्यले संगठन जन्मिएको हो, त्यसको मर्मलाई नेतृत्वले पछ्याउनु पर्छ । मेरो दायित्व संगठन र यसका सदस्यको हित हो भन्ने चिन्ता गर्न सक्नुभयो भने सबै कुरा हुन्छ । अब जिम्मेवारी लिएर आफ्नो स्वार्थ मात्र पूरा गर्न लागियो भने केही पनि हुँदैन ।