मुख्यमन्त्री पोखरेलद्वारा भेटेरिनरी अस्पतालको शिलान्यास   

तनहुँ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको शिलान्यास गर्नुभएको छ ।

प्रदेश सरकारका मन्त्रीत्रय मेखलाल श्रेष्ठ, डोवाटे विक र बिन्दु थापाको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले मङ्गलबार सो अस्पतालको शिलान्यास गर्नुभएको हो । सो अवसरमा उहाँले भावी दिनमा पशु उपचारका क्षेत्रमा अस्पतालले नमूनाका रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । भेटेरेनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा हाल पशु विज्ञ केन्द्र भएकै स्थानमा निर्माण हुन लागेको सो भेटेरेनरी अस्पतालमा दुई प्रयोगशाला र २३ कोठा निर्माण गरिने छ ।

अस्पतालले पशुका लागि अत्यावश्यकीय शल्यक्रिया, थेरापी तथा आइसीयू र युएसजीसमेतका सेवा उपलब्ध गराउने छ । रु १० करोडको लागतमा मोडल भेटेरेनरी अस्पताल निर्माण हुन लागेको हो । उक्त अस्पताल तनहुँ र आसपासका जिल्लाको नमूना हुने केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो । उक्त भवनमा तालिम कक्ष, बैठक कक्ष र पुस्तकालयका अतिरिक्त आवाससमेत रहने छ ।