अञ्जनकुमार घिमिरे एक सफल पोल्ट्री व्यवसायी । जो जन्मिँदै पोल्ट्री व्यवसाय देख्न पाए । हुर्किंदै गएपछि त्यही व्यवसायलाई विकास र विस्तार गर्ने अवसर पाए । पोल्ट्रीसँगै रमाए, पोल्ट्रीबाटै उदाए । ३० वर्षको पोल्ट्रीको व्यवसायिक यात्रामा ५ सय देखि २५ हजार कुखुरा पालेर अब ३० हजार कुखुरा पाल्ने योजनामा रहेका उनी सफल व्यवसायी घिमिरेसँग भेट टाइम्सका राजन प्रसाईले गरेको कुराकानीको सारः
यो व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?
मेरो बुबाको पालादेखि नै हाम्रो घरमा कुखुरा पालन हुन्थ्यो । परिवारको खर्च चलाउन बुबाले कुखुरा पालन गर्नुभएको थियो । म २०३२ सालमा जन्मिएँ । त्यतिबेला ७५ ओटा कुखुरा पालेर बुबाले अलि व्यवसायिक रुपमा कुखुरा पालनको थालनी गर्नुभएको सुनाउनु भएको थियो । मेरो जन्म र हाम्रो व्यवसायिक कुखुरा पालन सँगै सुरु भएको रहेछ ।
त्यो बेला र अहिलेको कुखुरा पालन प्रविधिमा कत्तिको अन्तर पाउनु भएको छ ?
आजभन्दा ४५ वर्षअघिको त्यो कुखुरा पालनको विधि र अहिलेको विधि तथा प्रविधिमा धेरै नै अन्तर आइसकेको छ । बल्बले तातो दिनुपर्ने, माटोको भिउँट, भुडुल्को, बाँसका ढुंग्रामा दाना पानी दिने चलन थियो । तर, अहिले भुकारी, भुटर, ग्यास भुटरहरु छन् । दाना पानी दिन पनि अटोमेटिक प्लान्ट नै
विकास भइसकेको छ । धेरै नै अन्तर छ ।
पहिलो पटक कुखुरा पाल्दा कुन जातको कुखुरा पाल्नु भएको थियो ?
ब्याकक ३६० जातको लेयर्सबाट घरमा कुखुरा पालनको सुरुवात भएको थियो । ६ सय जति त्यो कुखुराको चल्ला इन्डियाबाट आएको थियो । २०४७ सलामा मैले एसएलसी दिएपछि चाहिँ हामी ब्रोइलर कुखुरा पालनमा लागेका थियौं । त्यतिबेला हामीले पालेको कुखुरा भ्याली कोल्डस्टोरले उठाउने गरेको थियो । भ्यालीसँग हामीले काम ग¥यौं । आजको यो अवस्थामा मलाई ल्याइ पु¥याउने हरिकष्ण रावलको ठूलो हात छ । त्यतिबेला म कलेज जानुअघि पनि भ्याली कोल्डस्टोरका लागि कुखुरा जोखेर मात्रै कलेज जाने गरेको थिएँ । यो इतिहास निकै लामो भइसकेको छ ।
कुकुरा पालनसम्बन्धी प्राविधिक ज्ञान सीप आफैं आर्जन भएको हो कि तालिम लिनुभएको छ ?
प्राक्टिस मेक अ म्यान पर्फेक्ट भनेजस्तै मलाई अभ्यासले नै पोख्त बनाउँदै ल्यायो । चल्ला, कुखुरा र उनीहरुलाई लाग्ने रोग, रोगको उपचार गर्ने भेटेरिनरी डाक्टरहरुको उपचारको तरिका, खुवाउने औषधि, दिइने खोपलगायत कुरासँग दैनिकजसो परिचित भइरहँदा कुखुरालाई लाग्ने रोग, देखिने समस्या र ती समस्या समाधानका लागि आवश्यक उपाचार विधि पनि मलाई थाहा भइसकेको छ । भलै मसँग पढेको सर्टिफिकेट भने छैन ।
कुखुरामा के कस्ता समस्या देखिने गरेको छ ?
मैले अहिले लेयर्स पालिरहेकोले लेयर्स कुखुराकै समस्याबारे कुरा गरौं । लेयर्स कुखुराका लागि भ्याक्सिनको असाध्यै महत्वपूर्ण भूमिका हुन्छ । खोरभित्रको प्राविधिक कुरा गर्दा दाना पानीको भाँडाको अवस्थिति व्यवस्थापन, चल्लाचल्लाबीचको दूरीको व्यवस्थापन जस्ता विषयमा समस्या हुने गरेको देखिन्छ । यसले गर्दा चल्लाहरु थिचिएर मर्ने समस्या पनि देखिएको छ । त्यसो हुँदा चल्ला किचिन नदिन खोरभित्रको व्यवस्थापनलाई निकै ध्यान दिनुपर्छ । त्यस्तै, कुन सममयमा कस्तो भ्याक्सिन दिने, दाना कति दिने, पानी कति दिने जस्ता विषयलाई पनि असाध्यै महत्वका साथ लिनुपर्छ ।
१५ वर्षकै उमेरदेखि पोल्ट्रीमा लाग्नु भयो । सुरुमा कति पाल्नु हुन्थ्यो र अहिले कति पाल्नु भएको छ ?
सुरुमा बुबाले ५–६ सयबाटै यो व्यवसाय थाल्नु भएको हो । त्यतिबेला नेपालमा चल्ला नपाइने र इन्डियाबाट ल्याउने पर्ने भएकोले त्यो पनि ठूलो संख्या हुन्थ्यो । विस्तरै मैले ब्रोइलर कुखुरा भ्याली कोल्डस्टोरसँग सहकार्य गरेर पाल्न थालेपछि २५ हजारसम्म कुखुरा पालेँ । तर, त्यसबेलामा पलेट दाना निम्बसको मात्रै थियो भ्यालिको थिएन । म भ्यालीको ग्राहक भएकोले पेलेट दाना पाइएन । त्यहीबेला कुखुरामा टक्सिनले धेरै दुःख दियो । असार–साउनको बेला टक्सिनले धेरै कुखुरा मरेपछि २०६४ सालमा मैले चटक्कै ब्रोइलर पाल्न छोडेँ । त्यसपछि मैले अविनाश ह्याचरीको ३ हजार ५ सय चल्लाबाट मैले लेयर्स पाल्न थालेँ । अहिले मेरो क्षमता १५ हजार पुगिसेको छ । लकडाउनले धोका दियो नत्र मेरो क्षमता ३० हजारको पुगिसकेको हुने थियो । अर्को वर्ष मैले ३० हजार लेयर्स क्षमता पु¥याउने योजना बनाएको छु । वैशाखबाट मेरो नयाँ परियोजना सुरु हुन्छ ।
आम्दानीको हिसाबले यो व्यवसायबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
जुनसुकै व्यवसायमा पनि आम्दानी नाफाघाटा हुन्छ नै । सुन व्यापारीलाई अहिले घाटा छ । सेयर व्यापारीको अनुहार बल्ल उज्यालो हुन थालेको छ । समग्रमा आफू खटिन सक्नुपर्छ । खटिन पनि यो सेन्समा सक्नु पर्छ कि म्यानेजमेन्ट आफूले गर्न सक्नुपर्छ । कर्मचारीहरुलाई त्यही किसिमको सुविधा दिएर सन्तुष्ट बनाउन सक्नुपर्छ । यो साहुको काम होइन, आफ्नै काम हो भनेर कर्मचारीले बोध गर्न सक्ने बनाउनु पर्छ । आफू अघि बसेर सबैजसो गतिविधि निगरानी गर्न सकियो भने पोल्ट्रीमा खासै घाटा हुँदैन भन्ने लाग्छ ।
साना किसान तथा व्यवसायी यो ठूला व्यवसायीबाट कार्टेलिङमा परेर व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताइरहेका छन् । यसलाई कसरी लिनु हुन्छ ?
म अण्डा उत्पादक संघमा दुई कार्यकाल केन्द्रीय कार्यसमितिमा बसेर काम गरेँ । साना किसानहरुमा टिक्ने क्षमता नै हुँदैन । समस्या त्यो हो । ५ सय हजार कुखुराबाट सुरु गर्नु भएको हुन्छ । आज राम्रो कमायो उत्साहित भइहाल्ने । घाटा लाग्यो निरुत्साहित भएर व्यवसाय छोडिहाल्ने प्रवृत्ति देखिन्छ । धैर्य गर्न नसक्ने समस्या छ । सस्तैमा पनि कुखुरा तथा अण्डा बिक्री गरिहाल्ने । बजारको प्रवृत्ति र समस्याको सुक्ष्म अध्ययन गरेर चल्न नसक्ने पनि समस्या छ । काठमाडौंकै कुरा गर्दा ३ महिनासम्म अण्डा स्टोर गरेर राख्दा पनि कुहिँदैन । तर, यहाँका किसानले पनि धैर्य गर्न सकेको देखिँदैन । त्यसो हुँदा साना व्यवसयी पनि यसमा उत्तिकै जिम्मेवार छन् ।
औषधि र प्राविधिकको समस्या के छ यो व्यवसायमा ?
औषधिको त्यति धेरै अभाव छैन । कहिलेकाहीँ परिस्थितिबस आवश्यक औषधि नपाइन सक्छ । त्यति धेरै समस्या छैन । तर, भेटेरिनरी डाक्टर र प्राविधिकहरुको त्यति धेरै समस्या छैन । अहिले भेटेरिनरी अध्ययन हुने कलेजहरुको संख्या नै धेरै भइसकेको छ । भेटेरिनरी डाक्टर तथा प्राविधिकहरको उत्पादन पनि बढेको छ । आवश्यकताअनुसार जुनसुकै बेला डाक्टर तथा प्राविधिक उपलब्ध हुन सक्ने अवस्था छ ।
नेपालमा रोजगारीको कुनै अवसर नदेखेर विदेश जान चाहने युवालाई यो व्यवसायमा लाग्न कस्तो सुझाव दिनुहुन्छ ?
म कुखुरा पाल्छु, दाना चल्ला पनि बेच्छु । विदेश गएर फर्किएका जति भाइ साथी आउनु हुन्छ उहाँहरुलाई मैले चल्ला र दाना दिएर कुखुरा पाल्न सक्ने बनाएको छु । मोटरसाइकल चढ्न सक्नेसम्म मैले बनाइ दिएको छु । मसँग काम गर्ने कोही पनि भाइसाथी डुब्नु भएको छैन । मैले दिनु पर्ने सुविधा उहाँहरुलाई दिएको छु । मसँग भएको ज्ञान उहाँहरुलाई बाँड्दा मलाई पनि राम्रै भएको छ । त्यसो हुँदा विदेश गएर सोह्र सत्र घण्टा काम गर्नुभन्दा नेपालमै काम गर्नु धेरै राम्रो हो ।
यहाँ अण्डा उत्पादक संघको कार्यसमितिमा पनि हुनुहन्छ ? कृषि तथा पशुपन्छी पालन क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारको नीतिलाई कसरी लिनु भएको छ ?
यो क्षेत्रमा वैदेशिक लगानी आउनु जरुरी नै छैन । स्वदेशी पूँजी लगानीले नै आत्मनिर्भर भइसकेको क्षेत्रमा विदेशी लगानी ल्याउनु कुनै आवश्यक नै नभएको कुरा हो । प्रविधि ल्याउन पर्छ । आइरहेकै पनि छ । तर, यो क्षेत्र भर्खरबामे सर्दै गरेको क्षेत्र होइन । आत्मनिर्भर भइसकेको र नेपाली पूँजीलाई नै अझ यस क्षेत्रमा विस्तार हुने वातावराण बनाउन सक्ने हो भने अझै राम्रो हुने यो क्षेत्रमा विदेशी लगानी ल्याउनु कुनै आवश्यक नै नभएको विषय हो ।
सरकारले पोल्ट्रीलाई आत्मनिर्भर बनाई राख्न र रोजगारी वृद्धि गर्न यो क्षेत्रलाई महत्व दिएको भन्दै आएको छ । सरकारी निकायसँग तपाइँको कुनै समन्वय छ ?
सरकारी स्वामित्वको कृषि विकास बैंकसँग ऋणमा सहकार्य हुने गरेको छ । विगतमा कृषि विकास बैंकबाट ऋण लिएर धेरै काम अघि बढाइएको थियो । बेला बेला सरकारले गर्ने पोल्ट्री तथा पशुपन्छी पालन सम्बन्धी गोष्ठीहरुमा भाग लिने गरिन्छ । यसभन्दा बढी समन्वय भएको छैन । सरकारले सस्तो व्याजदरमा कृषि तथा पशुपन्छी पालन क्षेत्रमा ऋण प्रवाह गरिहेको छ । कतिपयले चाहिँ कुखुराको खोर वा फार्म हाउस देखाएर ऋण लिने र उक्त ऋण कुखुरा व्यवसायमा नलगाई जग्गा जमिनमा लगानी गर्ने गरेको पनि देखिएको छ । सरकारले यसमा नियमन गर्न नसकेको हो कि पहुँचवालाहरुलाई खाने बाटो बनाइदिएको हो मैले बुझेको छैन ।
सरकारले अनुदानका रुपमा नगद अनुदान दिँदा ठीक हुन्छ कि उपकरण, प्रविधि तथा पूर्वाधारहरु अनुदान दिँदा ठीक हुन्छ ?
सरकारले केही चिज किन भनेर कसैलाई ५ लाख रुपैयाँ दियो भने किसानले २ लाखको त्यो चिज किन्छ र ३ लाख रमाइलो गरेर उडाउँछ । वा अन्य क्षेत्रमा खर्च गर्छ । किन भने मान्छे लोभी हुन्छ । फोकटमा आएको पैसाको त्यति माया नहोला । त्यसो हुँदा प्रविधि, उपकरणहरु अनुदानकै रुपमा दियो भने त्यसलाई प्रयोगमा ल्याउन ऊ बाध्य हुन्छ । त्यस्ता उपकरणमा पहुँचवालाहरुले कमाईखाने भाँडो बनाउन पनि नसक्लान् भन्ने लाग्छ ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्याललाई भेट टाइम्समार्फत यस क्षेत्रबारे यहाँको केही सुझाव छ कि ?
मन्त्री ज्यूले मन्त्री भएर नभई किसान भएर सोच्नुपर्छ । राम्रा किसानको राय सुझाव सल्लाह अनुसार किसानमैत्री नीति निर्माण गरेर त्यसै अनुसार अघि बढने हो भने उहाँले नेपालको कृषि तथा पशुपन्छी पालन क्षेत्रमा धेरै काम गर्न सक्नुहुन्छ । उहाँले गर्नु भएका राम्रा काम इतिहासका पानामा लेखिएला । होइन, ठूला उद्योग व्यापारीको मात्रै कुरा सुनेर अघि बढ्नु भयो भने त्यो पनि इतिहासले मूल्यांकन गरि नै हाल्छ ।
अन्त्यमा यस क्षेत्रका व्यवसायी साथीहरुलाई तपाइँ के भन्न चाहनु हुन्छ ?
पोल्ट्री क्षेत्र असाध्यै रमाइलो व्यवसाय हो । लागु औषधको रुपमा पाइने स्मेक खाने बानी र पोल्ट्री व्यवसाय गर्ने बानी दुबै उस्तै जस्तो लाग्छ मलाई । यो व्यवसायको दलदलमा फसेपछि निस्किन सारै गाह्रो हुन्छ । कि यो व्यवसायमा आउँदै नआउनु आउने हो भने राम्रो बनेर निस्किन सक्यो भने ठिक हुन्छ । नत्र धैर्य गर्न नसक्ने दुई वर्ष काम गर्ने छोड्ने गर्नका लागि यो व्यवसायमा नआउँदा राम्रो हुन्छ । भ्याली कोल्ड स्टोरका सञ्चालक स्वर्गीय श्रीकृष्ण घिमिरेले मलाई भन्नु भएको थियो– ‘अञ्जन बाबु यो व्यवसायमा आउने हो भने पूर्व–पश्चिम, उत्तर–दक्षिण, आकाश–पाताल सबैतिर हेरेर मात्रै आउनु पर्छ ।’ म उहाँको त्यो अर्ती अहिले सम्झिरहेको छु । दिगो र टिक्ने गरी यो व्यवसायमा आउनेले राष्ट्रकै लागि केही योगदान गर्न सक्छ । पैसा त जति कमाए पनि कसैलाई कहिल्यै पुग्दैन । यस व्यवसायका व्यवसायीले आम नागरिकलाई प्रोटिनको मुख्य स्रोत अण्डा र मासु उपलब्ध गराउन सकेका छन् । यो क्षेत्रले देशकै नागरिकको पोषणमा योगदान गर्न सकेका छ । यसमा पनि सन्तुष्ट हुने प्रशस्त ठाउँ छ ।