काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्ने गरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएकी छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । कृषिजन्य उपज श्रम गर्ने किसानदेखि उपभोक्तासम्म आउन बिचमा भएका तहले किसानलाई मर्कामा परेको बताए ।
‘किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन सकेन । आफूले उत्पादन गरेको वस्तुको मूल्य त किसानको सहभागितामा हुनुपर्छ,’ उनले भने, ‘श्रम गर्ने किसान अनि ठ्याक्कै त्यसको मूल्य यति भयो भनेर भनिदिँदा कहिलेकाँही किसान मर्कामा पनि पर्छ । त्यसैले किसानको उन्नती, प्रगती गर्न, किसानको श्रम, लगानी, पसिनाको मूल्य उठ्ने गरी किसानले अलिकति मुनाफा पनि प्राप्त गर्नेगरी मूल्य निर्धारण गर्ने र बजारसम्म लैजाने व्यवस्था गर्नुपर्छ ।’
किसानबाट उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य धेरै चुलिएको अवस्था हुने गरेको भन्दै मन्त्री अर्यालले यो असन्तुलनको अन्त्य गर्दै किसानलाई न्याय हुने व्यवहार स्थापित गर्नुपर्ने बताइन् ।
‘किसानलाई न्यून मूल्य दिने र उपभोक्तासम्म आइपुग्दा उच्च मूल्य हुने भएपछि बीचको धेरै नाफा लिइदिनु भएन’, उनले भनिन्, ‘उपभोक्ता पनि मारमा पर्नु भएन र उत्पादन गर्ने किसान पनि मर्कामा पर्नुभएन । किसान, उपभोक्ता र व्यवसायी सबैलाई ठिक हुनेगरी बजार मूल्य निर्धारण हुनुप¥यो ।’ सबैको हित हुने गरी कसैलाई मार्ने वा कसैलाई हित गर्ने कार्य नगर्न उनले आग्रह गरिन् ।
मुलुकको समृद्धी कृषि क्षेत्रबाटै बढी गर्न सकिने भन्दै मन्त्री अर्यालले कृषिको सम्भावना, वातावरणीय सम्भावना र नेपाली मानव सभ्यता जस्ता कुरा विश्वका धेरै मुलुकले अनुकरण गर्न सक्ने बताइन् । ती सम्भावनालाई लिएर अगाडी बढेमा मुलुक समृद्ध बन्नबाट कसैले रोक्न नसक्ने समेत उनको भनाइ थियो ।
‘ती सम्भावनालाई अघि बढाउँदै हामी समृद्ध बन्ने हो । हाम्रो मुलुकलाई समृद्ध बनाउने अबको दिशा यही हो भन्ने कुरामा हामी स्पष्ट छाँै । सरकार त्यो ढंगले अगाडी बढेको छ’, उनले भनिन्, ‘हामीले १५ औं योजनामार्फत समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्ने योजना अघि सारेका छौं । १६ योजना नपुग्दै हाम्रो मुलुकको माथिल्लो स्तरको आर्थिक विकास प्राप्त गर्न सक्छौँ भन्ने विश्वास हामीले गरेका छौँ ।’
उत्पादन र बजारलाई सँगै लैजानुपर्ने भन्दै उनले उत्पादन र बजारलाई सँगै लैजाने भन्ने सरकारको सोचाइलाई साकार पार्न मुलुकभर धेरै बजारहरु विकास गर्दै जानुपर्ने बताइन् । यी काम गर्नका निम्ती सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्र सँगसँगै जानुपर्ने उनको भनाइ थियो ।
आजको आवश्यकता कृषिको व्यवसायिकता भन्ने कुरा राज्यले भनिसकेको भन्दै उनले त्यसलाई कार्यान्वयन गर्नका निम्ती सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागू गरेको बताइन् ।
‘कृषिमा अब औजारको प्रयोग, यान्त्रिकिकरण गर्दै अब हामी उत्पादन बढाएर आयातलाई न्यूनिकरण गर्ने हो । आयातलाई न्यूनिकरण गर्नका निम्ती हामीले उत्पादन बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन् । ‘उत्पादन बृद्धी गरेर कृषि क्षेत्रको व्यवसायिकिकरण, यान्त्रिकिकरण र बजारीकरणलाई सँगसँगै लैजान आवश्यक छ । त्यसमा गुणस्तरीयता कायम गर्ने । राज्य त्यै ढंगले अघि बढेको छ ।’
बजारलाई सबल बनाउन बजार बिस्तार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसका लागि सरकारले संघीय, प्रादेशिक र स्थानीय बजार गरी ३ खालको बजारको परिकल्पना गरेको बताइन् । ९ वटा ठूला बजार स्थापना गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको भन्दै उनले बजार बिना उत्पादनको अर्थ नहुने भएकाले किसानले उत्पादन गरेको वस्तु उपभोक्तासम्म सहज ढंगले पु¥याउन बजारको व्यवस्था आवश्यक रहेको बताए ।
राज्य किसान, व्यवसायी सबैको अभिभावक भएको भन्दै उहाँले किसानको पनि भलाई हुने र व्यवसायिको पनि भलाई हुनेगरी कामलाई अगाडी बढाउनुपर्ने बताए ।
कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले हिजोभन्दा अहिले केही सुधार गरेको देखिएपनि व्यवहारतः अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको आंैल्याए । फोहोर र पार्किङको उचित व्यवस्थापन गर्न सुझाव दिँदै उनले स्टलसँग जोडिएका केही कुराले बेथिती ल्याएको भन्दै सुशासन कायम गर्ने सन्दर्भमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरिन् ।
‘स्टल तथा टहरा व्यवस्थापन समितिसँग सम्झौता नगरिकन प्रयोग भइरहेका स्टलहरुको पहिचान पनि भएको छ । तपाईहरु सिस्टममा आइदिनुस् । तपाईँहरु सिस्टममा आएर सुशासनलाई सहयोग गर्नुस्’, मन्त्री अर्यालले भनिन्, ‘हामीले निश्चित समय दिएर सिस्टममा आउने अवसर दिन्छाँै । त्यस समयमा पनि सिस्टममा आउनुभएन भने अप्रिय निर्णय लिन बाध्य हुनेछौँ ।’