पर्यटक आउन छोडेपछि ६ लाखको चीज बिकेन, उत्पादन प्लान्टसमेत बन्द

रसुवा । रसुवाको लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज विक्री नहुँदा अलपत्र परेको छ ।

लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उत्पादन केन्द्रले जनाएको छ ।

विक्री पनि नहुने र भण्डारणमा लामो समयसम्म राख्दा तौल घट्न गई त्यसको नोक्सानी आफूले व्यहोर्नुपर्ने भएकाले दुग्ध विकास संस्थानकोे काठमाडौंस्थित केन्द्रीय भण्डारण लैनचौरमा लाने अनुमति माग भइरहेको चीजकेन्द्रका प्रमुख कग्याल्पो तामाङले बताए ।

गत जेठ मसान्तबाट भदौ १५ गतेसम्म उत्पादन भएको करिब पाँच लाख १२ हजारको बराबारको चीज तथा एक लाख आठ हजार रुपैयाँको मखन अलपत्र परेको उनले बताए ।

कोभिड– १९ को संक्रमणका कारण पर्यटकको चहलपहल शुन्य भएपछि चिज तथा मखन बिक्री वितरणमा समस्या आएको हो ।

यसअघि केन्द्रले उत्पादन गरेका चीज पर्यटकबाटै खपत भइरहेको थियो । यो नेपालको जेठो चिज कारखाना पनि हो ।
चीज तथा मखन विक्रीमा समस्या आएपछि गत असोज १५ बाटै उत्पादन बन्द गरिएको प्रमुख तामाङले बताए ।