ब्रोइलर कुखुराको मासुको मूल्यमा भारी गिरावट, प्रतिकिलाे २ सय ४० मा झरेपछि उत्पादक चिन्तित

काठमाडौं । सरकारले दोस्रो चरणमा गरेको अघोषित लकडाउन(निषेधाज्ञा)का कारण ब्रोइलर कुखुराको मासुमा भारी गिरावट आएको छ । तयारी कुखुराको मासुको मूल्य नै अहिले बजारमा प्रतिकेजी १ सय ४० रुपैयाँसम्ममा झरेको छ । यसले कुखुरा उत्पादन गर्ने व्यवसायिक किसान चिन्तित बनेका छन् । यसअघि नै तयारी कुखुराकाे मूल्य प्रतिकेजी १ सय ७० रूपैयाँमा झरेपछि अान्दाेलनकाे तयारी गरेका कुखुरा पालक किसानलार्इ घटेकाे याे मूल्यले झनै तनाबमा पारेकाे छ ।

बिहीबारकै मूल्यलाई आधार मान्ने हो भने कालिमाटी तरकारी बजारमा कुखुराको मासु प्रतिकिलो १ सय ५५ रुपैयाँ तोकिएको थियो । जबकी, प्रतिकेजी २ सय ५५ मा पनि कुखुराको मासु बिक्री नभएपछि शुक्रबार प्रतिकिलो २ सय ४० रुपैयाँमा झारिएको छ । उक्त दिनको बजारमा प्रतिकेजी गुन्द्रुकको मूल्य २ सय ९५ रुपैयाँ रहेको थियो । यद्यपी, गुन्द्रुक र कुखुराको मासुको मूल्य तुलनायोग्य वस्तु वा विषय होइनन् । गुन्द्रुकसँग तुलना गर्न नसकिए पनि कुखुराको मासुको मूल्यमा भारी गिरावट आएको भने पक्कै हो ।

सरकारले कारोना भाइरस संक्रमण नियन्त्रणका लागि पहिलो पटक चैत ११ बाट सुरु गरेको लकडाउनको केही दिनपछि कुखुरा अभाव हुँदै गएको थियो । उक्त अभावका बेला कुखुराको मासुको मूल्य प्रतिकेजी ४ सय ५० रुपैयाँसम्म पनि पुगेको थियो । यही बढेको मूल्य हात पार्न व्यावसायिक किसानले पहिलो चरणको लकडाउनको अन्त्यतिर फार्ममा चल्ला हाल्न(पाल्न) सुरु गरेका थिए । सबैजसो कुखुरा पालकले चल्ला हालेर उत्पादन बढी भएपछि हाल फेरी लकडाउन हुँदा कुखुराको मासुको मूल्यमा भारी गिरावट आएको कुखुरा नेपाल राष्ट्यि कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।

‘सुरुको लकडाउनमा बढेको मूल्य पाउन किसानले चल्ला हाले, तयार हुने बेलामा फेरी लकडाउन भएर खपत घट्यो तर उत्पादन बढ्यो,’ उनले भने, ‘यसले गर्दा कुखुराको मासुको मूल्यमा भारी गिरावट आएको हो ।’ कुखुराको मासु ज्यादा र बढी परिमाणमा सेवन गर्ने निर्माणलगायत क्षेत्रका श्रमिकहरु कामविहीन भएको, लकडाउनले मानिसमा घरबाहिर निस्किन त्रास भएको, होटल पर्यटनलगायत सबै ठप्प भएको र उत्पादन भने बढेका कारण मासुको मूल्य सस्तिएको उनले बताए ।

चैत ११ अघि अर्थात् लकडाउन हुनुअघिसम्म देशभर दैनिक ५ लाख किलो कुखुराको मासु खपत हुने गरेकोमा हाल यो खपत घटेर दैनिक १ लाख किलो अर्थात् झण्डै २० प्रतिशतमा खुम्चिएको उनले बताए । यसले पनि कुखुराको मासुको मूल्य सस्तो भएको उनको भनाई हो ।