काठमाडौं । पशु सेवा विभागले बिहीबारदेखि काठमाडौं उपत्यकामा हुने लकडाउनको अवधिमा पनि पशुपन्छी क्षेत्रको सेवा सुचारु गर्न सहजिकरण गरिदिन काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ ।
विभागका महानिर्देशक डा. वंशी शर्माले बुधबार एक पत्र पठाउँदै काठमाडौंका प्रमुख जिल्लाअघिकारीसँग लकडाउनका अवधिमा पनि पशुपन्छी क्षेत्रको सेवा सुचारु गर्न सहजिकरण गरिदिन आग्रह गरेका हुन् ।
नेपाल सरकारले ८ असारमा राजपत्रमा सूचना प्रकाशित गरी पशुपन्छी क्षेत्रलाई पनि आवश्यक सेवाको सूचीमा राखेको स्मरण गराउँदै उनले सेवा सुचारु राख्न सघाउन आग्रह गरेका हुन् ।
खास गरी पराल, साइलेज, पशुपन्छीको तयारी दाना, दानाको कच्चा पदार्थ, माछाका भूरा, माछा, अण्डा, तयारी कुखुरा, मासु, कुखुराको एक दिने चल्ला, पशुपन्छी औषधि तथा खोपको विक्रीवितरण, ओसारपसार र सेवा प्रवाहमा सहजीकरण गर्न विभागले जिप्रकासँग आग्रह गरेको हो ।
साथै विभागले एक प्रेस विज्ञप्ती जारी गरी कुखुराको मासुबाट कोरोना भाइरस सर्ने कुनै तथ्यको पुष्टी विश्व स्वास्थ्य संगठनले नगरेको प्रष्ट पारेको छ । नेपाल पोल्ट्री क्षेत्रमा आत्मनिर्भर हुँदै गएकोले यस्तो तथ्यहीन हल्लाहरुले यो क्षेत्रलाई नै धराशयी पार्ने हुँदा सचेत हुने विभागले आग्रह गरेको छ । त्यस्तै, स्वस्थ कुखुराको मासु र अण्डा स्वस्थ तरिकाले सेवन गरे शरिरमा प्रोटिनको मात्रा पर्याप्त हुने र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने समेत विभागले विज्ञप्तीमा उल्लेख गरेको छ ।
यस्ताे छ प्रेस विज्ञप्ति: