मासु पसलमा भेटियो २२ बोरा मरेको कुखुरा, वाणिज्य विभागद्वारा ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको बानेश्वरस्थित बी एन्ड बी मीट मार्टबाट बेच्नका लागि राखिएको २२ बोरा मरेका ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ । विशेष सूचनाका आधारमा बानेश्वर वृत्तबाट गएको प्रहरी टोलीले मरेका कुखुरा बरामद गरी बाण्ज्यि विभागको टोलीलाई बोलाएको थियो । अनुममनमा गएको विभागको टोलीले उक्त कुखुरा मरेको र मासु गुणस्तरहीन रहेकाे पाएकाे थियो ।

गुणस्तरहीन कुखुराको मासु बेच्ने उक्त पसल सञ्चालकलाई विभागको टोलीले तत्काल ३ लाख रुपैयाँ जरिवाना गरेको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) बमोजिम गुणस्तरहिन बस्तु (मरेको कुखुराको मासु वेचविखन) गरेकोले सोही ऐनको दफा ३८(ङ) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले दफा ३९(१) ख बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

बरामद गरिएको कुखुरा विभागको निर्देशन र रोहबरमा प्रहरीले नष्ट गरेको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले बताए ।

उक्त पसल सञ्चालकलाई कालोबजारी ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयले थप कारवाही अघि बढाउने बताइएको छ ।