भाइरल बन्दै लम्पी स्किन राेग : ४ जिल्लाका १५ सय गाईमा संक्रमण, १२ गाई मरे

काठमाडौं । नेपालका गाईमा लम्पी स्किन रोगको संक्रमण तिव्र रुपमा फैलिन थालेको छ । १० दिनअघि मात्र पत्ता लागेको यो नयाँ रोगकाे संक्रमण हालसम्म मोरङ, रौतहट, मकवानपुर र चितवन जिल्लाका कुल १ हजार ५ सय गाईमा देखिइसकेकाे छ । संक्रमण देखिएका ४ जिल्लाका गाईका ३४ ओटा नमुना संकलन गरिएकोमा सबै नमुनामा लम्पी स्किन पोजेटिभ देखिएको पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले बताए ।

नेपालका गाईमा हालै देखिएको नयाँ रोग र यसको तिव्र फैलावटबारे जानकारी दिन बुधबार पशु सेवा विभागले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महानिर्देशक शर्माले देशका अन्य स्थानमा समेत यो रोगको लक्षण देखिएका सूचना प्राप्त भइरहेको बताए । लक्षण देखिएका गाईको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाउन भेटेरिनरी प्रयोगशालाहरुलाई निर्देशन दिइएको समेत उनले बताए ।

उनका अनुसार असारको अन्तिम साता मोरङका केही गाईमा नयाँ रोगको लक्षण देखिएपछि परीक्षणका क्रममा साउन ११ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरबाट उक्त रोग पत्ता लागेको थियो । रोगबारे नेपालले विश्व पशु स्वास्थ्य संगठन (ओआईई)लाई जानकारी गराएपछि संगठनले समेत नेपालमा लम्पी स्किन रोग देखिएको सूचना प्रकाशित गरिसकेको छ । हालसम्म ४ जिल्लाका १ हजार ५ सय गाईमा यो रोग देखिएको छ भने १२ ओटा गाई यो रोगका कारण मरेका उनले जानकारी दिए । किसानहरुले समेत यो रोगको लक्षण देखिएका आफ्ना गाईको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ल्याउने क्रम जारी रहेको उनले बताए ।

पशु सेवा विभागले लम्पी स्किन रोगको आशंका गरिएका गाईको रगतको नमुना संकन गरी परीक्षणका लागि विराटनगर र चितवनमा रहेको भेटेरिनरी प्रयोगशालामा काम शुरु गर्नुपर्ने उनले बताए ।

‘हामीले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि आवश्यक मानिसका स्वाब परीक्षणका लागि भेटेरिनरी प्रयोगशाला पनि प्रयोग गर्न दिएका थियौं,’ महानिर्देशक शर्माले भने, ‘ती प्रयोगशालाहरु ३ महिनापछि विभागलाई फिर्ता गर्ने कुरा थियो । ३ महिना पूरा भइसकेको पनि छ र गाईमा नयाँ रोगको तीव्र संक्रमणले संकटको अवस्था पनि सिर्जना भएको छ । त्यसो हुँदा स्वास्थ्य मन्त्रालयले कम्तीमा विराटनगर र चितवनस्थिति पशुपन्छी रोग अन्वेषण प्रयोगशाला हाम्रै प्रयोगका लागि फिर्ता गर्नुपर्छ ।’ यस विषयमा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको समेत उनले बताए ।

नेपालमा कसरी भित्रियो यो रोग ?

विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित रहेको यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तानलगायतका देश हुँदै पूर्वतर्फ फैलिएको थियो । सन् २०१९ जुलाईमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्त्यतिर भारतमा समेत यो रोग देखिएको थियो । यो रोग नेपालमा भारतबाटै सरेको अनुमान गरिएपनि ठोस र आधिकारी प्रमाण नभएको विभागका अधिकारीहरुले बताएका छन् ।

लम्पी स्किन रोगका लक्षण के के हुन् ?

लम्पी स्किन रोग विशेषगरी गाईमा र कहिलेकाहीं भैंसीमा समेत लाग्ने गरेको पाइएको छ । पक्स भाइरस(विषाणु) समूहको लम्पी स्किन भाइरसले यो रोग लाग्छ । यो रोग लागेका गाईका घाँटी, पुच्छर वरिपरीका भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागहरुमा साना ठूला गिर्खाहरु देखिने, १०५ डिग्री फरेनहाइटभन्दा बढी (उच्च ज्वरो) आउने, कचेरा र सिँगान बग्ने, तथा मुखबाट धेरै फिँज निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पान कम हुने, बाँझोपन हुने, ४५ प्रतिशतसम्म गाईभैंसीहरु बिरामी पर्ने, रोग लागेका मध्ये १० प्रतिशत जतिको मृत्यु हुने लक्षण देखिन्छन् । यो रोगको संक्रमण बढ्दै गए करिब आत्मनिर्भर भएको दूधको उत्पादनमै कमी आई दूधमा परनिर्भर हुनुपर्ने, व्यावसायीक रुपमा गाई पालन गरिरहेका किसानले व्यवसायबाट नै पलायन हुनुपर्ने जस्तो भयावह अवस्था आउन सक्ने देखिएको छ ।

कसरी सर्छ यो रोग ?

खास गरी लामखुट्टे, टोक्ने झिँगा, किर्नालगायत जीवको टोकाइबाट यो रोग एक पशुबाट अर्को पशुमा सर्छ । त्यस्तै, गाईभैंसीसँगको लसपस, आसोरपसार, संक्रमित र स्वस्थ गाईभैंसीको उपचार, स्याहार, चरणका क्रममा हुने लसपस, एउटै सुईको प्रयोग, गर्भाधान गर्दा संक्रमित साँढेको विर्य प्रयोग, संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्चाबाच्छी, पाडापाडीमा यो रोग सर्छ । यो पशुबाट मानवमा नसर्ने रोग हो ।

रोकथामको उपाय के छन् ?

यो रोगविरुद्धको खोप हालसम्म नेपालमा उपलब्ध नरहेको पशु सेवा विभागले जनाएको छ । खोपको उत्पादन सम्भाव्यता, व्यावसायिक उत्पादनलगायत विषयमा विभागले अध्ययन गरिरहेको जनाएको छ । गाईभैंसीको ओसारपसार नियन्त्रण, ओसारपसारमा कडा सावधानी अपनाउने, गोठ वरपरको वातावरण सफा राख्नेलगायत सुरक्षाका मापदण्ड अपनाउन सकिन्छ । रोगको संक्रमण नियन्त्रणका लागि पशु सेवा विभागले मातहतका निकाय, प्रदेशका पशु सेवासँग सम्बन्धीत निकाय र स्थानीय तहका पशु सेवा शाखाहरुसँग समन्वय गरिरहेको विभागले जनाएको छ । त्यस्तै, जनचेतना अभिवृद्धि, अभिमुखिकरण कार्यक्रम सञ्चालनको तयारी भइरहेको विभागका महानिर्देशक शर्माले बताए ।

लम्पी स्किन नियन्त्रण जुट्न कर्मचारी संगठनको सुझाव

यसैबीच नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, पशुपन्छी विभागीय कार्यसमिति हरिहरभवन ललितपुरले लम्पी स्किन रोग नियन्त्रणका लागि सबै एकजुट हुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले शिथिल बनेको अर्थतन्त्रलाई टेवा दिन कृषि तथा पशुपालन नै एकमात्रै विकल्प देखिएको अहिलेको अवस्थामा पशु पालनकै क्षेत्रमै भाइरल रोग देखिनु संकटपूर्ण भएको जनाएको छ ।

रोग नियन्त्रणका लागि सकेसम्म छिटो कृषक तथा प्राविधिकलाई रोगबारे जानकारी दिई सचेत बनाउनु पर्ने, यसका लागि आम सञ्चार माध्यम र सामाजिक सञ्जालहरुको प्रयोग गर्नुपर्ने, प्रदेशस्तरका प्रयोगशालाहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने, बजेट व्यवस्था गर्नुपर्ने, फिल्डस्तरमा उपचार विधि र स्रामग्रीको व्यवस्थापन तत्काल गर्नुपर्ने, विज्ञ टोली बनाई फिल्डमै खटाउनु पर्ने जस्ता सुझाव संगठनले विभागलाई दिएको छ । त्यस्तै, खोपको व्यवस्थापन गर्ने, फिल्डमा खटिने प्राविधिक तथा कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने, प्रात्साहित गर्ने व्यवस्था मिलाउन समेत संगठनले विभाग तथा विषयगत मन्त्रालयलाई सुझाएको छ ।