राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’ योजना सार्वजनिक,बागमती प्रदेशमा कुखुरा पालनलाई प्राथमिकता

काठमाडौँ ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘प्रदेश विशेष कृषि कर्जा’ योजना अन्तर्गत बागमती प्रदेशमा कुखुरा पालनलाई प्राथमिकता दिँदै विशेष कर्जाको सुविधा सार्वजनिक गरेको छ। बैंकले प्रदेशगत विशेष कृषि उपजहरूमा आधारित कर्जा प्रदान गर्ने योजना ल्याएको हो, जसले प्रत्येक प्रदेशका विशिष्ट कृषिगत क्षेत्रलाई प्रवर्धन गर्नेछ।

यो योजना अन्तर्गत, नेपाली नागरिक, जो कानुनी रूपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध छन्, उनीहरूले १८ देखि ६५ वर्षको उमेरमा अधिकतम पाँच करोड रुपियाँसम्मको ऋण पाउन सक्नेछन्।

हेर्नुहोस कुन प्रदेशमा के मा प्राथमिकता दिएको छ

  • कोशी प्रदेश: अलैंची

  • मधेश प्रदेश: माछा पालन

  • बागमती प्रदेश: कुखुरा पालन

  • गण्डकी प्रदेश: फलफूल खेती

  • लुम्बिनी प्रदेश: पशुपालन

  • कर्णाली प्रदेश: जडीबुटी

  • सुदूरपश्चिम प्रदेश: केरा खेती

यो कर्जा योजना अधिकतम १० वर्षको अवधिका लागि उपलब्ध हुनेछ र आधार दरमा ०।५० प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिनेछ। परियोजनाको धितोको रूपमा कृषि परियोजना नै रहनेछ, र आवश्यकता अनुसार घर-जग्गासमेत धितो राख्न सकिनेछ।

राष्ट्रिय वाणिज्य बैंकका देशभर रहेका २९४ शाखा कार्यालयहरू, ३१२ एटिएम, ९९ शाखारहित बैंकिङ सेवा, र डिजिटल बैंकिङ सेवाहरू मार्फत यो कर्जा उपलब्ध गराइनेछ।