दुग्ध क्षेत्रको समस्या समाधान गर्न सबैको पहल आवश्यक

तस्विर : गोरखापत्र

काठमाडौं। “नियमित दूध तथा दुग्ध पदार्थ सेवनले विद्यार्थी जीवनमा स्वस्थ र निरोगी रहन मद्दत गर्दछ” भन्ने नारासहित नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम गर्दै १० औं ‘विश्व स्कुल दूध दिवस’ सम्पन्न गरेको छ।

नेपाल डेरी एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रको सहकार्यमा “दुग्ध क्षेत्रको भविष्य, वर्तमान समस्याहरू, समाधान र चुनौतीहरू” विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले दुग्ध क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपायहरूमा छलफल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले मन्त्रालयमा आउने समस्याहरूको समाधान गर्नु आफ्नो कर्तव्य रहेको र दुधको बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए। उपभोक्तासम्म दूध पुर्‍याउन र बजार व्यवस्थापनमा ध्यान दिन नसक्दा समस्या चाँडै समाधान हुन नसक्ने उहाँले थप्नुभयो।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले व्यवसायीहरूले आफ्ना समस्या स्पष्ट रूपमा राखेमा समाधान गर्न सजिलो हुने बताउँदै, समस्याको समाधानमा सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल डेरी एसोसिएसनले सदैव आफ्नो व्यवसायको हकहितमा काम गरेको र महासंघको तर्फबाट आवश्यक सहयोग निरन्तर प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो। कृषि उद्यम केन्द्रका उपाध्यक्ष राजकुमार कार्कीले दूधको महत्त्व र आवश्यकताबारे आफ्नो विचार राख्नुभयो।

कार्यक्रमका सभापति एवं नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले कार्यक्रमको उद्देश्य प्रस्ट्याउँदै, दुग्ध क्षेत्रका समस्याहरू पहिचान गरी समाधान गर्न एसोसिएसनले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।