भारतीय कम्पनीका ७ फिड सप्लिमेन्ट गुणस्तरहीन, रिकल गर्न विभागको निर्देशन

काठमाडौं । सात कम्पनीले उत्पादन गरेका पशुपन्छीका पूरक आहार (फिड सप्लिमेन्ट) गुणस्तरहीन पुष्टि भएको छ । गुणस्तर फेल भएका  कम्पनी ६ भारतका हुन् भने एक स्वदेशी कम्पनी हो।

फिड सप्लिमेन्टको नियामकारी निकाय पशु सेवा विभागले स्वःअनुगमन तथा उजुरी आधारमा नमुना संकलन गरी परीक्षण गरेको थियो । नतिजामा सात कम्पनीले उत्पादन गरी नेपालमा बिक्री वितरण गर्दै आएको फिड सप्लिमेन्टेको गुणस्तर तोकिएबमोजिम नरहेको पुष्टि भएको हो ।

पशु सेवा विभागका अनुसार, पोल्ट्री केयर, इन्डियाको ग्रोभिट, आइडिएल रेमेडिज प्रालिको कल–डी फोर्ट, न्युट्रेसाअर्गानिक्स इन्डिया प्रालिको न्युट्रेसा न्युट्रिअस, भेटबेस्टा ल्याबको मल्टिस्टार लिक्विड, नेसनल भेट फर्मुलेसन प्रालिको अल्टिभेट, ब्याडर ल्याब्रोटोरिज प्रालिको एभिटोनिक प्लस लिक्विड र एएस हेल्थकेयरको क्यारेक्स–के प्रयोगशाला परीक्षणमा गुणस्तरहीन प्रमाणित भएका हुन् ।

क्यारेक्स–केको भिटामिन ‘ए’ र बाँकीमा भिटामिन ‘डी’ लेबलमा दाबी गरिएअनुसार नभएको विभागले जनाएको छ ।

विभागले सात फिड सप्लिमेन्टको प्रयोगशाला नतिजा सार्वजनिक गर्दै त्यसलाई बजारबाट फिर्ता गर्न पनि सम्बन्धित कम्पनी र आयातकर्तालाई निर्देशन दिएको छ । विभागका महानिर्देशक डा. उमेश दाहालले एक सूचना जारी गर्दै यी फिड सप्लिमेन्ट बजारबाट फिर्ता गरी १० दिनभित्र फिर्ता गर्न भनेका छन् । साथै यी फिड सप्लिमेन्ट प्रयोग नगर्न पनि विभागले किसान तथा व्यापारीलाई अनुरोधसमेत गरेको छ ।

पशुपन्छीको पूरक आहारका रूपमा प्रयोग हुने फिड सप्लिमेन्टको गुणस्तरमा विगतका वर्षदेखि नै प्रश्न उठ्दै आएको छ । विभागको पछिल्लो तथ्यांकले फिड सप्लिमेन्टको गुणस्तर अवस्था दयनीय रहेको देखाएको छ । विभागले गर्ने प्रयोगशाला परीक्षणमा फिड सप्लिमेन्टमा समस्या देखिए पनि कानूनको अभाव तथा नियामकको उदासीनताले यस्ता प्रवृत्ति निरुत्साहित हुनुको साटो उल्टो बढ्दै गएको छ ।