उत्तरपुस्तिका पुनः परीक्षण गरेर नतिजा सच्याउन विभागलाई संघको अल्टिमेटम

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले औषधि व्यवसायी मान्यता परीक्षाको उत्तरपुस्तिका पुनः परीक्षण गर्न औषधि व्यवस्था विभागसमक्ष माग गरेको छ । यीलगायत तीनबुँदे माग अघि सारेको संघले त्यसलाई पूरा गर्न सातदिने समयसीमा दिँदै अन्यथा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासचिव साधुराम ढकाल (आशिष) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै उत्तरपुस्तिका पुनः परीक्षणलगायत माग अघि सारेका हुन् ।

विभागले बदनियतपूर्ण ढंगले नतिजा प्रकाशित गरेर व्यवसायीलाई उत्तीर्ण गराएकाले विशेषज्ञको संलग्नतामा पुनः उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने संघको भनाइ छ ।

‘नेपाल पशुपन्छी औषधि व्यवसायी संघको सहभागितामा सम्बन्धित क्षेत्रको विशेषज्ञको समेत संलग्नतामा पुनः उत्तरपुस्तिका जाँचको व्यवस्था गर्न माग गर्दर्छौं,’ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, पशु औषधि व्यवसायी मान्यता परीक्षाको कार्यविधि स्पष्ट पार्न तथा सबै परीक्षार्थीको उत्तीर्णांक, प्राप्तांकसहित उत्तीर्ण तथा अनुत्तीर्ण स्पष्ट उल्लेख गरी पुनः नतिजा प्रकाशन गर्न पनि संघले माग गरेको छ ।

औषधि व्यवस्था विभागले पशुपन्छी औषधि व्यवसायलाई व्यावसायिक, मर्यादित र व्यवस्थित गर्न औषधि व्यवसायी मान्यता परीक्षा सञ्चालन गर्ने गरेको छ । उसले सञ्चालन गर्ने यस्तो परीक्षा उत्तीर्णले मात्र औषधि पसल दर्ता प्रमाणपत्र लिएर पसल सञ्चालन गर्न पाउँछन् । यही प्रयोजनार्थ विभागले गत जेठ १९ गते काठमाडौंमा परीक्षा सञ्चालन गरेको थियो । जसमा ३५३ जना सहभागी भएकोमा ४३ जना मात्रै उत्तीर्ण भएका थिए ।

पशुपन्छी औषधि व्यवसायीहरूको छाता संस्था संघले तालिम र परीक्षाबीचको अन्तर, परीक्षाको वातावरण, उत्तरपुस्तिका परीक्षणलगायतमा असन्तुष्टि जनाउँदै सात दिनभित्र परीक्षाको नतिजा नसच्याए चरणबद्ध संघर्ष गर्ने चेतावनी दिएको छ ।

‘औषधि व्यवस्था विभागद्वारा पशु औषधि व्यवसायी तालिम समापन भएको १ देखि २ वर्ष पछाडि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दूरदराजबाट परीक्षाका लागि काठमाडौंसम्म आउनुपर्ने बाध्यता बनाय सैनिक शिक्षालयमा सैनिकको घेरामा परीक्षा सञ्चालन गरी परीक्षाको समयमा परीक्षार्थीहरूमा मानसिक तनाव सिर्जना गरी मनोबलमा गम्भीर असर पर्न गएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक घेरामा परीक्षा सञ्चालन गरिनुले नियत प्रष्ट छ । अतः औषधि व्यवस्था विभागले भेटेरिनरी औषधि व्यवसायीहरूप्रति गरेको अवहेलनाप्रति यस संघ घोर भर्त्सर्ना गर्दै विभागले ७ दिन भित्र उल्लेखित मागको उचित संवोधन नगरेमा सघको पूर्ण बैठकबाट चरणवद्ध आन्दोलनको तय गरी संघ संग संवद्ध संघ संस्थाहरु सहित आन्दोलनमा होमिन बाध्य हुने जानकारी यसै प्रेस विज्ञप्ती मार्फत गराउँदछौ ।’

हेर्नुहोस प्रेस विज्ञप्ती