२०७१ मा सरकारको एक दस्तावेजले भन्यो–नेपालमा पाइने रैथाने प्रजातिका ६ गाईमध्ये पूर्वी नेपालमा पाइने सिरी गाई लोप भइरहेको छ ।त्यसअघि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान पशु प्रजनन् महाशाखा खुमलटारले पनि ०६९ सालमा प्रकाशन गरेको नेपालका ‘रैथाने गाई’ भन्ने पुस्तकमा समेत सिरी गाई हाल लोप भइसकेको उल्लेख थियो ।
तर लोप भयो भनिएको सिरी जातको गाई नेपालमै पुनः पाइएपछि गाई वैज्ञानिकहरू आश्चर्यसचित भए । आश्चर्यचकित नहोऊन् पनि किन ? नेपालबाटै लोप भइसकेको भनिएको सिरी गाईको तस्वीर ताप्लेजुङको साब्लाखुका स्थानीय बासिन्दाले सार्वजनिक गरेपछि वैज्ञानिकहरूले आफ्नो दाबी गलत ठाने । शारीरिक बनोट हेर्दा सोही जातको हो भन्ने लागेपछि वैज्ञानिकहरूको समूह अवलोकन गर्दा आफ्नो तथ्य गलत रहेको निष्कर्षमा पुगे । ललितपुरको खुमलटारमा उक्त गाईको आनुवंशिक अध्ययन थालियो र अध्ययनबाट ती सिरी गाई नै रहेको प्रमाणित भयो ।
ताप्लेजुङ साब्लाखुलाई पकेट क्षेत्र मानेर ल्याइएका गाई सिरी जातकै भएको प्रमाणित भएको राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटार ललितपुरकी प्रमुख डा. निना अमात्य गोर्खालीले जानकारी दिइन् । यो अनुसन्धानमा करिब दुई वर्ष लागेको थियो । सिरी गाई भुटान र भारतको सिक्किममा पनि पाइन्छ ।
नेपालमा सिरी गाई रहेछ तर पर्याप्त अनुसन्धानबिना नै लोप भएको हचुवाको भरमा तथ्य सार्र्वजनिक गरिँदा यसले नेपालका पशु वैज्ञानिकहरूको क्षमतमा नै प्रश्न खडा मात्रै गरेन नेपालमा वैज्ञानिक अनुसन्धान कति सतही छ भन्ने दृष्टान्त पनि देखायो । यद्यपि, वैज्ञानिकहरू समयमै सम्हालिँदा नेपालले महत्वपूर्ण सम्पत्तिलाई गुम्नबाट बचायो । तर शुद्ध जातका सिरी गाई लोपोन्मुख अवस्थामा रहेकोले यसको संख्या कति छ भन्ने अझै यकिन अझै हुन सकेको छैन ।
अनुसन्धानबाट लोपोन्मुख सिरी गाई नेपालमा भेटिएको भनिए पनि किसानहरूका बीचमा भने अझै यो पुग्न सकेको छैन ।
उच्च पहाडी भेगदेखि तराईसम्म पाइने यो गाईमा रोग प्रतिरोधात्मक क्षमता उच्च भएकोले यसको आनुवांशिक गुण प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय रूपमा नै फैलाउन सके किसान र देशले यसबाट राम्रो फाइदा लिन सक्ने पशु वैज्ञानिकहरूको भनाइ छ । नेपालमा पहिचान भएका याकसहित सात प्रकारका रैथाने गाई प्रजाति (लुलु, अछामी, सिरी, खैला, याक, तराई र पहाडी) मध्ये उत्पादनका हिसाबले सिरी गाईको बढी सम्भावना छ तर त्यसको अनुसन्धान र अध्ययन अझै अघि बढेको छैन ।
गाई कार्यक्रममा उपलब्धिहरू
- ५० प्रतिशत जर्सी वा होलस्टेन फ्रिसीयनको वर्णशंकर गाई मध्य पहाडी क्षेत्रमा पालनका लागि उपयुक्त रहेका अनुसन्धानको निष्कर्ष
- २५ प्रतिशत जर्सी र होलस्टेन पिÞ्रmसीयन वर्णशंकर गाईहरूको पहिलो पटक ब्याउँदाको उमेर, अन्तर बेत समय र दुध उत्पादन प्रति बेत क्रमशः ३२.४ महिना र २७.९० महिना, १३.८० र १७.७० महिना तथा १४७१.० र १८३६.० लिटर पाइयो
- ४ महिनाको उमेरमा माउबाट दुध खान छुटाईएका वर्णशंकर बाच्छा–बाच्छीहरू २ र ६ महिनामा माउबाट दुध खान छुटाईएका बाच्छा–बाच्छी भन्दा राम्रो हुने गरेको पाइयो
- ४ महिनामा छुटाईएका बाच्छा–बाच्छीको यौवन अवस्थाको औषत उमेर र तौल क्रमशः १२.३३ महिना र १९५.३० किलोग्राम रहेको पाइयो
- त्यसैगरि २ र ६ महिनामा माउबाट दुध खान छुटाईएका बाच्छा–बाच्छीको यौवन अवस्थाको उमेर क्रमशः १२.७ महिना र १४.४ महिना र तौल क्रमशः १६९.५० र १४८.०२ किलोग्राम रहेको पाइयो
- गाईलाई ब्याउनु भन्दा २ महिना अगाडि देखि निर्वाहमुखी दानासँगै थप २ केजी आहारा दिँदा दुध उत्पादन र जन्मिने बाच्छा–बाच्छीको तौलमा वृद्धि हुन्छ भन्ने तथ्य उजागर
- बाच्छा–बाच्छीलाई दुधको सट्टामा कृतिम दुध (मिल्क रिप्लेसर) खुवाएर पनि हुर्काउन सकिने र सुरुको ४ महिनासम्म कृतिम दुध खुवाउँदा मोही र शुद्ध दुध खुवाउनु भन्दा २२८४ रुपैयाँ र २१४१ रुपैयाँ कम खर्च लाग्ने गरेको अनुसन्धानको निष्कर्ष
- १० लिटरभन्दा बढी दुध दिने गाईलाई दैनिक रूपमा चाहिने आहारालाई दिनमा दुई पटक भन्दा दिनमा तिन पटक खुवाउँदा ४९५ लिटर प्रति बेत दुध उत्पादन बढ्ने गरेको तथ्य सार्वननिक
- अनुसन्धानबाट युरिया मिनिरल मोलासेस ढिक्का (खनिज ढिक्का) खुवाउँदा नखुवाएको गाई भन्दा ४२७ लिटर बढी दुध उत्पादन हुने गरेको खुल्यो
- गाईमा ३० दिनमै गर्भ पत्ता लगाउनका लागि दुध वा सेरमको नमूनाबाट एलिजा नामक टेस्ट गर्न सकिने
- उन्नत जातका गाई र स्थानीय तराई जातका गाईहरूसँग प्रजनन गराई वणसंंकर जातका गाईहरूको अनुसन्धान
- कम उत्पादन लागतमा वर्ष भरि हरियो घाँस उत्पादन गर्ने प्रविधि, विभिन्न जातका नेपियर घाँसको उत्पादन क्षमताको अध्ययन
- विभिन्न वातावरणीय तत्वहरूले गाईहरूको उत्पादन र प्रजनन क्षमतामा पार्ने प्रभावको अध्ययन
- सालबसाली कार्यक्रमअन्तर्गत फार्म व्यवस्थापन परियोजना, उत्पादन कार्यक्रम, बाह्य अनुसन्धान कार्यक्रम र ललु गाई र वर्षिम घाँसको भेरिफिकेसन परीक्षण
- उत्पादन कार्यक्रम अन्तर्गत २०३ वटा विभिन्न जात र उमेर समूहका गाईहरूको संरक्षण र सम्बर्धन
- विभिन्न घाँसहरूको उत्पादन क्षमता अध्ययन गर्दा टियोसेन्टी, बाज्रा, जुनेलो, मकैको उत्पादन क्रमशः ७१.३, २८.८, ३३.३ र ३६.२ टन÷हेक्टर र उत्पादन लागत रूपैयाँ १.३७, ३.७७, ३.४९ र ३.०४ प्रति केजी हरियो घाँस पाइयो
- भेच, केराउ र जै घाँसको उत्पादन क्रमशः १९.५, २१.५ र ३४.५ टन÷हेक्टर तथा उत्पादन लागत क्रमशः रूपैयाँ ३.७०, ३.०२ र २.१२ प्रति के.जी. हरियो घाँस पाइयो
- साइलेजको उत्पादन लागत अध्ययन गर्दा प्रति केजी रूपैयाँ ९.३८ पाइयो
- गाईको जात, दुध दिने चरण (ल्याक्टेशन) र बेतले वणंसंकर गाईको दूध उत्पादन एवं दूधको संरचनामा असर गरेको देखियो
- नेपियरका विभिन्न जात ऋइघ, ऋइद्ध र सुपर नेपियरको उत्पादन र उत्पादन लागतको अनुसन्धान गर्दा सुपर नेपियर अरू जातभन्दा राम्रो पाइयो
- गाईपालन गर्दा दाना खपतलाई ३५ देखि ४५ प्रतिशत कम गराएर उत्पादन लागत घटाउन सकिन्छ भन्ने तथ्य सार्वजनिक
- २०७७ मा गाईलाई दिइने एन्टिबायोटिक औषधिको संवेदनशीलता परीक्षण गरिएको थियो । चितवन र नवलपरासीमा दुधको नमूना परीक्षण गर्दा एन्टिबायोटिकको अवशेष पाइयो । धेरैजसो किसानहरूले आफुखुसी एन्टिबायोटिक औषधिको प्रयोग गरिरहेको पाइयो भने मह र मेथीको पेष्ट, घिउकुमारी, ज्वानो जस्ता घरेलु उपचार पद्दतिद्वारा सुन्निएको फाँचोको उपचार गर्ने गरेको पाइयो
- सोही वर्ष गाईको थुनेलो सम्बन्धी अनुसन्धान हुँदा स्टाफाइलोकोकस जीवाणले हुनुे लक्षण नदेखाउने प्रकारको थुनेलो सङ्क्रमण भएको देखियो
- स्टाफाइलोकोकस जीवाणुले हुने थुनेलोको अवस्था तथा उपयुक्त औषधिहरूको छनोटको अध्ययन र अनुसन्धान
- भ्यागुते रोग विरुद्ध प्रयोग हुने खोपको मूल्याङ्कन, गाईको दूधमा सिगा टक्सिन उत्पादन गर्ने ईकोलाई ०१५७ःएच७ को जैविक विशेषतीरण गाईहरूको रगतमा हुने प्रोटोजोवाहरूको अवस्था पहिचान तथा गर्मीबाट हुने तनाव कम गर्ने उपायहरूको विषयमा पनि अध्ययन
- दुहुना पशुमा देखिने थुनेलो रोगका लागि जेन्टामाइसिन नामक औषधि सबैभन्दा बढी प्रभावकारी भएको देखियो
- विभिन्न जिल्लामा एन्टिबायोटिक सेन्सिटिभिटी परीक्षण गर्दा यो औषधि उपयुक्त ठहरिएको निष्कर्ष
गाई कार्यक्रम
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत सञ्चालित व्भििन्न वस्तुबाली राष्ट्रिय अनुसन्धान कार्यक्रमहरूमध्ये एक हो । यो कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद्, पशु तथा मत्स्य निर्देशनालयअन्तर्गत रही अनुसन्धान गर्दै आइरहेको छ । अनुसन्धान गर्ने भनिए पनि अनुसन्धानको गति सुस्त र वैज्ञानिकपरक भने छैन । सीमित स्रोत र साधनबीच स्थापनादेखि अहिलेसम्म यसले गरेका कामहरू भने नेपालकै गाई अनुसन्धान क्षेत्रमा उल्लेखनीय छ ।
नेपालमा गाईको उत्पादन र उत्पादकत्व वृद्धि गरी पोषण सुरक्षा र जीविकोपार्जनमा सुधार गर्नुका साथै अनुसन्धान संस्थाको रूपमा नेतृत्व गर्ने उद्देश्यले राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको स्थापना भएको हो ।
२०४८ सालमा तत्कालीन पशु विकास तथा पशु स्वास्थ्य विभागअन्तर्गत ललितपुरको खुमलटारमा रहेको पशु विकास फार्मबाट यसको स्थापना भएको हो । ०४८ सालमा नेपाल कृषि अनुसन्धान परिषद्को गठन भएपछि यसको नाम राष्ट्रिय गाइभैंसी अनुसन्धान कार्यक्रम राखियो । पछि ०६९ सालमा राष्ट्रिय गाईभैंसी अनुसन्धान कार्यक्रमलाई पुनर्संरचित गरी राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम र राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम छुट्टाछुट्टै हुने गरी विभाजन गरियो । ०७१ सालमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम खुमलटारबाट चितवनमा स¥यो । । त्यसैगरी, राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम सुनसरीको तरहरामा राखियो ।
गाई किसानहरूको समस्यामा आधारित, सहभागितामूलक तथा व्यवस्थित अनुसन्धान कार्य गर्दै नवीनतम् र उपयोगी प्रविधिहरू कृषकसमक्ष सिफारिस गरी गाईको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य यसको छ ।
यसले विभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त हुने गाईको पोषण, चरन तथा घाँसेबाली, प्रजनन, स्वास्थ्य, उत्पादन तथा व्यवस्थापन र सामाजिक–आर्थिक पक्षसम्बन्धी अनुसन्धान गरी गाईपालनसम्बन्धी विकसित उपयोगी प्रविधिहरूको प्रमाणीकरण र सिफारिस गर्ने काम गर्दै आइरहेको छ ।
दूध उत्पादन, संकलन, प्रशोधन, दुग्ध परिकारको विविधीकरण र बजारीकरणसम्बन्धी प्रविधि कामका साथै गाईका विभिन्न जातहरूको अन्वेषण, विशेषतीकरण, मूल्यांकन, प्रयोग र संरक्षण, गाईका जातहरूको दर्ता तथा उन्मोचन, गाई अनुसन्धानसम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कामको निर्धारण तथा प्राथमिकीकरण गरी रणनीति तयार गर्ने काम यस कार्यक्रमले गरिहेको छ ।
पशु आहारा अनुसन्धान केन्द्रले लामो समयको अनुसन्धान पछि दुधालु गाईभैंसीको लागि आहारामा अत्यन्तै पोषिलो युरिया मोलासेस मिनरल ब्लक प्रविधिको विकास गरिसकेको छ । यो प्रविधिले पशुहरूलाई स्वस्थ राख्नुका साथै दूध उत्पादन बढाउन समेत सहयोग गरेको छ । चरण तथा घाँसेबली अनुसन्धान केन्द्रले विभिन्न घाँसहरूको विकास गरेको छ । गणेश, पार्वती, अमृतधारा, नेत्र र कामधेनुजस्ता उन्नत घाँस र प्याउली सेतो क्लोवर, बर्सिम ग्रिन गोल्ड तथा राई घाँस, मकैचरी १, कुटिलकोसा १, रसुवा कक्स्फुट, पाल्पा स्टैलो, खुमल बंसोजस्ता घाँस नार्कले विकास गरिसकेको छ ।
यो कार्यक्रम गाईवस्तुका विभिन्न पक्षहरूमा अनुसन्धान गर्दै आइरहेको छ । यसले किसानहरूको समस्याको आधारमा व्यवस्थित अनुसन्धान गरी गाईवस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र गाईवस्तु किसानहरूको माग पूरा गर्न नयाँ प्रविधिहरू विकास गरिरहेको छ ।
लागत प्रभावकारी, ग्राहकउन्मुख र वातावरणमैत्री दिगो प्रविधिहरू उत्पन्न गर्न यसले लक्ष्य लिएको छ । कार्यक्रमले गाईवस्तुको आवास र व्यवस्थापन, प्रजनन र आनुवंशिकी, दाना र दाना, चरन र घाँस उत्पादन, पशु स्वास्थ्य हेरचाह र दूध उत्पादनका विभिन्न आयामहरूमा पनि आधारभूत र व्यावहारिक अनुसन्धानहरू निरन्तर सञ्चालन गर्दै आएको छ । साथै, कार्यक्रमले कृषक र अन्य अधिकारीहरूलाई गाईवस्तुपालन र व्यवस्थापनका विभिन्न आयामहरूमा प्राविधिक सहयोग प्रदान गरिरहेको छ भने प्राविधिक उत्पादनको क्रममा कार्यक्रमले नेपालमा दुग्ध उद्योगलाई प्रवद्र्धन गर्ने क्षेत्रमा विस्तार गर्न सकिने केही उत्पादनहरू पनि हासिल गरेको छ ।
त्यसैगरी स्तनशोथ नियन्त्रणका लागि टिट डिपिङ टेक्नोलोजी, कम लागतमा खुवाउने प्रविधि, गाईवस्तुको उपयुक्त नस्ल र देशका विभिन्न इको–जोनका लागि यसको रगतको स्तर जस्ता नतिजाहरू किसानका लागि उपयोगी सावित भएको छ । यस कार्यक्रमको फार्ममा शीर्ष बुल (जर्सी र होल्स्टेन बुलको वीर्य) को आनुवंशिक सामग्री ग्रहण गर्दा फार्ममा प्रतिस्थापनको लागि उच्च गुणस्तरका पोथी बाछो उत्पादन गर्न र देशका दुग्ध किसानहरूबीच वितरणको लागि भाले बाछो उत्पादन गर्न मद्दत पुगेको छ ।
देशका विभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त हुने गाईको पोषण, चरन तथा घाँसेवाली, प्रजनन, स्वास्थ्य, उत्पादन तथा व्यवस्थापन र सामाजिक–आर्थिक पक्षसम्बन्धी अनुसन्धान गरी गाईसम्बन्धी भएका अनुसन्धानका साथै गाई पालनसम्बन्धी विकसित उपयोगी प्रविधिहरूको प्रमाणीकरण र सिफारिस गरिरहेको छ ।
६० लाखमा अनुसन्धान
रामपुरमा राष्ट्रिय गाई अनुसन्धान केन्द्र पनि छ । तर केन्द्रमा गोठको अभाव हुँदा अनुसन्धानमा सकस देखिएको छ ।
‘हामी बढी अनुसन्धानमा केन्द्रित हुन चाहन्छौं,’ कार्यक्रम प्रमुख सागर पौडेलले भने, ‘अनुसन्धानका लागि गाईको संख्या बढाउनुपर्ने हुन्छ ।’ तर गोठ साँघुरो हुँदा गाई थप्न नसकिएको उनको भनाइ छ ।
अनुसन्धान केन्द्रमा रहेको गोठमा १५० वटा गाई राख्ने क्षमता छ । तर अहिले त्यहाँ २२२ वटा गाई छन् । २० वटा बाच्छाबाच्छी अटाउने गोठमा ५० वटा कोचिएर राखिएको छ । औषधि उपचारका लागि आइसोलेसन बनाइएको गोठमा पनि केही गाईलाई राखिएको छ । गाई बिरामी हुँदा उपचार गर्ने छुट्टै गोठको नहुँदा अनुसन्धानमा समस्या असर परेको छ ।
ब्याउने गाईहरू पनि साँघुरा गोठमा छन् । राम्रोसंग हावा नछिर्दा बिरामी हुने सम्भावना पनि रहेको पौडेल भन्छन् ।
गोठ निर्माणमा सरकारसँग बजेट अभाव छ । ‘गोठका लागि प्रत्येक वर्ष बजेट माग्दै आएका छौं तर, उपलब्ध नहुँदा समस्या परेको छ,’ उनले भने । उनका अनुसार अनुसन्धानसँगै पूर्वाधार निर्माणका लागि पनि आवश्यक बजेट अभाव छ ।
अनुसन्धान केन्द्रमा होलिस्टिन फ्रेजियन क्रस, जर्सी क्रस, हिमालमा जातको लुलु र शुद्ध तराई जातका गाई छन् । उनीहरूबाट प्रत्येक वर्ष कबिर ७० वटा बाच्छाबाच्छी थपिँदै आएका छन् । तर, गोठ थपिएको छैन । जसका कारण उन्नत जातका गाई तथा गोरुहरू सस्तो मूल्यमा अनुसन्धान केन्द्रले बेच्न बाध्य छ ।
अनुसन्धान कार्यक्रमका लागि सञ्चालन खर्च भनेर २ करोड ७० लाख विनियोजन भएको छ । जसमा फार्म व्यवस्थापनमा २ करोड भन्दा बढी खर्च छ । अनुसन्धानका लागि ६० लाख रुपैयाँ मात्रै बजेट आउँछ ।
‘गाईको धेरै लामो समय अनुसन्धान गर्नुपर्छ । अनुसन्धानको नतिजा आउँदैन । बजेट न्यून छ । बजेटकै कारण अनुसन्धानका काम अगाडि बढाउन सकिएको छैन,’ पौडेलले भने । तर पनि नयाँ जातको विकास, आहारा, र दूधको अनुसन्धान भइरहेको उनले बताए ।
यद्यपि, सीमित स्रोत र साधनबाट सञ्चालित कार्यक्रमले ०७८÷७९ मा ४ वटा आवधिक अनुसन्धान गरेको छ । उन्नत जातका गाई र स्थानीय तराई जातका गाईहरूसँग प्रजनन गराई वर्णसंकर जातका गाईहरूको संरक्षण र अनुसन्धानसहित कम उत्पादन लागतमा वर्षभरि हरियो घाँस उत्पादन गर्ने प्रविधि, विभिन्न जातका नेपियर घाँसको उत्पादन क्षमताको अध्ययन, विभिन्न वातावरणीय तत्वहरूले गाईहरूको उत्पादन र प्रजनन क्षमतामा पार्ने प्रभावको अध्ययन, सालबसाली कार्यक्रमअन्तर्गत फार्म व्यवस्थापन परियोजना, उत्पादन कार्यक्रम, बाह्य अनुसन्धान र लुलु गाई र वर्षिम घाँसको भेरिफिकेसन परीक्षण, २०३ वटा विभिन्न जात र उमेर समूहका गाईहरूको संरक्षण र सम्बर्धन आदि गरिएको छ ।
पशुमा वर्णसंकरको इतिहास
नेपालमा नश्ल सुधार गरी कृषि उत्पादन बढाएर आत्मनिर्भर बनाउने प्रयास सात दशकदेखि भइरहेको छ । तर सोचेअनुसार उत्पादन हुन सकेको छैन । वि.सं. १९१७ मा श्री ३ जंगबहादुर राणाको प्रयासमा बेलायतबाट जर्सी गाईहरू ल्याएर पशुमा नश्ल सुधारको थालनी गरिएको हो । २००८ मा बेलायतबाट छोटो सिङ भएका साँढे, जर्सी र ब्राउनस्विस जातका गाई र साँढे ल्याइएको थियो । सोही समयमा पाकिस्तानबाट पनि रेड सिन्धी जातका साँढे ल्याई स्थानीय गाईहरूमा प्रयोग गरी वर्णसंकर बाच्छाबाच्छीहरू उत्पादन गरिएको थियो ।
त्यसपछि ०१४ सालमा संस्थागत रूपमा गाईमा कृत्रिम गर्भाधान कार्यको थालनी भयो । सरकारले ०१८ सालदेखि ०६९ सम्म गाई भैँसीमा कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन ग¥यो । ०२६ मा कृत्रिम गर्भाधान आयोजना त्रिपुरेश्वरबाट जर्सी ब्राउनस्विस, आयरसायर तथा होलिस्टिन साँढेको वीर्य संकलन गर्न थालिएको थियो । साथै, तरल वीर्यबाट कृत्रिम गर्भाधान गराउने कार्यको सुरुवात भएको थियो । यसलाई निरन्तरता दिँदै सरकारले विभिन्न कालखण्डमा नश्ल सुधार गरी विभिन्न देशबाट उन्नत जातका गाई, साँढे, सिमोन (वीर्य) ल्याइरहेको छ । यसले नेपालमा रहेका ५१ लाख भैँसीहरूमध्ये ३५ प्रतिशत नश्ल सुधार भए । अहिले ७४ लाख गाईहरूमध्ये १७ प्रतिशत नश्ल सुधार भएका गाईहरू छन् । यो कार्यक्रम नश्ल सुधारमा उपलब्धिमूलक भएको मानिन्छ ।
त्यसपछि सरकारले पोखरा, नेपालगञ्ज, लहानलगायत ठाउँमा राष्ट्रिय पशु प्रजनन् कार्यालय स्थापना गरी नश्ल सुधारको कायमलाई व्यापक बनाएको छ । पशु आनुवंशिक अनुसन्धान केन्द्रका अनुसार नेपालमा अहिले ७ थरी पशुपन्छीका २५ वटा रैथाने नश्ल नेपालमा अस्तित्वमा छन् । संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ)मा नेपालले यिनै नश्लको सूची दर्ता गराएको छ । जसमा गाईको ७, भैंसीको ३, भेडाको ४, बाख्राको ४, सुँगुरको ३, कुखुराको ३ र घोडाको एउटा नश्ल छ । एफएओमा तराई गाई, पहाडी गाई, खैला गाई, सिरी, लुलु, अछामी गाई दर्ता छ ।
४० प्रतिशत दूध गाईबाट
नेपालमा बहुसंख्यक जनताको खाद्यान्न, आम्दानी र रोजगारीको प्रमुख स्रोत कृषि हो । यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग ३३ प्रतिशत हिस्सा ओगट्छ । नेपालमा पशुधनले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १३ प्रतिशत र कृषि जीडीपीमा २८ प्रतिशत योगदान पु¥याउँछ । भैंसीपछि दोस्रो स्थानमा रहेको गाईवस्तुले देशमा उत्पादन हुने कुल दूधको ४० प्रतिशत योगदान गर्छ । देशमा कुल वार्षिक दूध उत्पादन २१ लाख मेट्रिक टन छ ।
नेपालमा गाईवस्तुको कुल जनसंख्या ७२ लाख छ । क्रसब्रेड गाईवस्तुमा १२ प्रतिशत र बाँकी ८८ प्रतिशत स्वदेशी गाईवस्तु छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको योगदान ८ प्रतिशत छ र कुल पशुधनको योगदानको ६३ प्रतिशत हिस्सा छ ।
नेपालमा प्रतिव्यक्ति दुध उपलब्धता १४२.४७ ग्राम÷हेड÷दिन छ जुन अन्तर्राष्ट्रिय खाद्य तथा कृषि संगठनको सिफारिसको करिब आधा अर्थात् २५० ग्राम÷हेड÷दिन हो । सन् २०२०को रिपोर्टअनुसार अन्य देशबाट कुल वार्षिक दुग्ध तथा दुग्धजन्य वस्तुको आयात २.२ अर्ब रुपैयाँ छ । दूध तथा दुग्धजन्य पदार्थको राष्ट्रिय तथा विश्वव्यापी माग दिनानुदिन बढ्दै गएको छ ।दूध तथा दुग्धजन्य पदार्थको बढ्दो माग पूरा गर्न विश्वभर गाईवस्तुको उत्पादन र उत्पादकत्व बढाउन अनुसन्धान कार्यहरू निरन्तर भइरहेका छन् । बढ्दो माग पूरा गर्न नयाँ प्रविधिहरू सहयोगी छन् भन्ने कुरामा कुनै शंका छैन ।
तराईको गर्मीमा हुर्किँदै हिमालको ‘लुलु’
अनुसन्धानका लागि हिमाली जिल्लाबाट ल्याइएको लुलु गाई चितवनको तापक्रममा घुलमिल भएको छ । मुस्ताङमा जन्मिएको लुलुलाई चितवनमा ल्याएर बहर लगाइएको हो ।
हिमालको लुलु गाईले तराईको गर्मी सहन सक्ने भएसँगै गाई वैज्ञानिकलाई नयाँ जातको गाई विकास गर्न बाटो खुलेको छ । लुलु गाई समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइबाट चितवनको १५० मिटर उचाइमा ल्याइएको हो । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका अनुसार मुस्ताङबाट ल्याएर दुई वर्ष काठमाडौँमा राखेपछि ती गाई चितवन ल्याइएको हो । आठ गाई र दुई साँढे ल्याइएका थियो । गाईको अनुसन्धान केन्द्रमा नियमित रूपमा आहारा खुवाएर अन्य गाईलाई झैँ ती गाईलाई पनि पालिएको छ ।
मुख्यरूपमा मनाङ, मुस्ताङलगायतका हिमाली क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिको रूपमा यो गाईलाई लिने गरिन्छ । वयस्क हुँदा १५० किलोदेखि १६० किलोसम्मको तौल हुने यो गाईको साँढेको जुरो हुँदैन । निकै बलियो मानिने यो गाईलाई झट्ट कुनै रोग लाग्दैन । जस्तोसुकै कठिन परिस्थितिमा पनि जीवन निर्वाह गर्नसक्ने क्षमता यी गाईमा हुन्छ ।
हिउँ पर्ने ठाउँमा आहारा खोजेर बाँच्न सक्ने क्षमता भएकाले यस गाईमा उन्नत जातको गाईसँग मिलाएर बलियो, जहाँ पनि घुलमिल हुनसक्ने र धेरै दूध दिने गाई उत्पादन गर्न सकिन्छ । लोप हुँदै गएको यस गाईको संरक्षण गर्दै यसको असाधारण क्षमतालाई उन्नत गाईसँग मिलाएर देशका जुनसुकै हावापानीमा घुलमिल हुनसक्ने राम्रो गाई उत्पादन गर्न सकिने देखिएको छ ।
लुलुजस्तै तीन÷चारथरीका गाईलाई क्रस गरेर नयाँ गाई निकाल्न पनि लुलु उपयोगी हुने देखिएको छ । लुलुलाई सम्पत्तिका रूपमा संरक्षण गर्ने राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको उद्देश्य छ । न्यून तापक्रममा हिमालमा हुर्किएका यी गाई तराईमा समेत घुलमिल हुन सक्नुले नेपालमा गाईको अनुसन्धानमा सहयोगीसमेत हुने देखिएको छ ।
लुलु गाईको अनुसन्धान सुरु भए पनि यो प्रविधि लामो भएकाले वर्षो कुर्नुपर्ने देखिएको छ । लुलु गाई तराईमा सफल भएसँगै यसको वंश विस्तार र संरक्षणमा पनि सहयोग पुग्ने देखिएको छ । भविष्यमा लुलुको वीर्य नेपालमा मात्र नभएर विदेशमा पनि बेच्न सकिने सम्भावनाबारे अनुसन्धान भइरहेको छ ।
पहिलो पटक भ्रूण प्रत्यारोपण
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले २०७५ फागुनमा गाईमा भ्रूण प्रत्यारोपण प्रविधि सुरु गरेको हो । तीन वर्ष ६ महिनाको जर्सी गाईलाई होलिस्टन गाईको भ्रुण प्रत्यारोपण गरी अन्य गाईमा यो प्रविधिको थालनी गरिएको हो ।
अमेरिकाबाट झिकाइएको शुद्ध नश्लको जर्सी वा होलिस्टन गाईको भ्रूण क्रमशः अन्य गाईमा पनि प्रत्यारोपण गरिएको हो । स्थानीय वर्णसङ्कर गाई जुन नियमित ऋतु चक्रमा आउँदा उक्त भ्रूणलाई गाईको पाठेघरमा प्रत्यारोपण गरिन्छ । उक्त भ्रूण अन्य सामान्य गर्भ जसरी नै परिपक्व भई निश्चित समय पुगेपछि बाच्छाबाच्छी जन्मिन्छ । यसरी जन्मिएका बाच्छाबाच्छी शुद्ध नश्लको हुन्छ । बाच्छा जन्मिएमा वीर्य संकलनका लागि उपयोगी भएको छ ।
नेपालमा ०५८ सालदेखि भ्रूण झिकाएर प्रत्यारोपण थालिएको हो । सुरुमा न्यूजील्याण्डबाट एक सय दश डोज जर्सी गाईको भ्रूण झिकाइएको थियो । पछि ०७२ सालमा अमेरिकाबाट जर्सी र होलिस्टनको ५५ डोज भ्रूण झिकाइएको थियो । सोही भ्रूण पोखरा, गोरखा र खुमलटारमा रहेका गाईमा प्रयोग गरिएको थियो ।
नेपालमा हाल विभिन्न देशबाट समेत वीर्य आउने गरेको छ । पोखरामा वार्षिक ६ लाख ५० हजार डोज वीर्य उत्पादन हुँदै आएको छ । वीर्य यहीको गाईमा प्रयोग हुँदा शत प्रतिशत शुद्ध जन्मदैन भने सोझै भ्रूण प्रत्यारोपण गर्दा गाईबाट जन्मिएका बाच्छाबाच्छी शुद्ध हुने गर्दछन् । विदेशबाट ल्याइएका भ्रूणमा अण्डा र शुक्रकिट दुवै त्यहीको हुने गर्दछ ।
हाल नेपालमा गाईपालनमा देखिएका विभिन्न चुनौती कम गर्नका लागि नश्ल सुधार गर्ने प्रयास हुँदै आएको छ । बहर व्यवस्थापन, अनुत्पादक गाईको व्यवस्थापन र रोगी बुढी गाईको व्यवस्थापन अहिलेका मुख्य चुनौती हुन् । कृत्रिम गर्भाधान सेवाका साथै उक्त वीर्यलाई लिङ्ग पहिचानसहितको वीर्य उत्पादन गर्ने लक्ष्य रहेको कार्यक्रमको छ ।
लोप हुँदै अछामी गाई
नेपालमा छ प्रकारका स्थानीय जातका गाई पाइन्छन् । तीमध्ये धेरै गाई अहिले संकटमा छन् ।
नेपालका पाइने स्थानीय गाईको जातमा सबैभन्दा चर्चित हो अछामी गाई । नौमुठे गाईसमेत भनिने यो संसारकै सबैभन्दा सानो गाई पनि हो । १ मिटरभन्दा कम उचाइको हुने यो गाईको तौल अधिकतम १ सय ५० केजीसम्म हुन्छ । दैनिक १ देखि ४ लिटरसम्म दूध दिने यो गाई लोपोन्मुख गाईको सूचीमा छ ।
डोल्पा, मुस्ताङ र मनाङ क्षेत्रमा पाइने रैथाने गाई हो लुलु । जुरो नभएको यो गाई उच्च हिमाली भेगको सुक्खा हावापानीमा हुर्किन सक्छ । यो गाईले दैनिक औसत डेढ लिटर दूध दिन्छ । यो गाई पनि लोपोन्मुख गाईको सूचीमा पर्छ । नेपालमा पाइने स्थानीय गाईको भन्दा ठूलो शरीर हुने खैला गाई पनि नेपालको रैथाने गाई हो । दैनिक साढे दुई लिटर दूध दिने यो गाई सुदूरपश्चिम क्षेत्रमा पाइन्छ । रिसाहा स्वभावको यो गाई सुदूरपश्चिम क्षेत्रमा अहिले पनि प्रशस्तै पाइन्छ ।
विकट हावापानीमा हुर्किन सक्ने रैथाने गाई हो पहाडी गाई । नेपालका सबैजसो पहाडी क्षेत्रमा पाइने यो गाईले दैनिक १ लिटरसम्म दूध दिन्छ ।
तराईक्षेत्रमा पाइने नेपालको रैथाने गाई हो तराई गाई । गर्मी हावापानीमा हुर्किने यो गाईले दैनिक २ लिटरसम्म दूध दिन्छ ।
पूर्वी पहाडमा सिरी गाई चरम संकटमा छ । दैनिक साढे ४ लिटरसम्म दूध दिने यो गाई पूर्वी पहाडको इलाम क्षेत्रमा पाइन्छ । कुनै समय लोप भयो भनिएको यो गाईको अहिले संरक्षण गर्न थालिएको छ ।
नेपालमा पहिचान भएका छवटा रैथाने गाईमध्ये सिरी गाईले धेरै दूध दिने राष्ट्रिय पुश प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र बताउँछ । उच्च हिमाली क्षेत्रमा पाइने याक र चौँरी पनि नेपालको रैथाने गाईमा पर्छ ।
नेपालमा जर्सी, होल्स्टिन, ब्राउन स्वीस, साहिवाल, रेड सिन्धी, हरियाणालगायत प्रजातिका आयातित गाई पाल्ने गरिएको छ ।
नेपालमा कस्ता गाई पाइन्छ ?
- पहाडी गाई : मध्य पहाडी भेगमा पाइने पहाडी गाईहरू भुटान, सिक्किम र दाजिर्लिङबाट भित्रिएको पाइन्छ । मुख्यतया यी गाईहरू गोरु, मल र धार्मिक र सामाजिक कार्यको लागि पालिन्छन् । यी गाईहरूको शारीरिक तौल २००–३०० के.जी सम्म हुन्छ । शरीरको रंग कालो, रातो, फुस्रो र टाटेपाटे पनि हुन सक्छ । पहाडी गाईले सरदर एक बेतमा १५०–२०० लिटरसम्म दुध दिन्छन् र सरदर ३–४ वर्षमा पहिलो चोटी ब्याउँछन् ।
- तराई गाई :मुख्य रूपमा तराई क्षेत्रमा पालिने यो गाई बहर उत्पादन गरी गाडा तान्ने र जोत्ने कार्यको लागि निम्ति पालिने गरिन्छ ।
हाल हरियाणा, जर्सी, साहिवालको वर्णसंकरले गर्दा तराई गाई करिब–करिब लोप अवस्थामा नै छ । - याक, नाक र चौरी : यी गाईहरू हिमाली क्षेत्रमा पाइन्छन् । यी गाईहरूको ठूलो शरीर, लामा लामा तिखा सिंग र शरीर भरी भुत्ला भएका हुन्छन् । याकको पोथीलाई नाक भनिन्छ ।
पहाडी गोरु (किर्को) र नाकको प्रजननबाट निस्कने गाईलाई दिम्जो चौरी भनिन्छ भने गोरुलाई दिम्जो झोप्क्यो भनिन्छ । त्यस्तै याक र पहाडी गाईको प्रजननबाट जन्मने गाईलाई उरंग चौरी र गोरुलाई उरंग झोप्क्यो भनिन्छ ।
अन्तर्जातीय प्रजननबाट जन्मने चौरीहरूले सन्तान उत्पादन गर्न सक्छन् भने भालेहरू (झोप्क्यो) ले सधै सन्तान उत्पादन गर्न नसक्ने हुन्छन् ।
दूध उत्पादनको लागि दिम्जो चौरी उत्तम मानिन्छ भने भारी बोक्न र चढ्नको लागि उरंग झोप्क्यो उत्तम मानिन्छ । - अछामी गाई : यो संसारकै सबैभन्दा सानो गाई । सुदूरपश्चिमको अछाममा उत्पत्ति मानिने यस गाईको उचाइ ८८ से.मी. तथा औसत तौल ११० कि.ग्रा. हुने गर्दछ । यो गाईलाई नौँ मुठे गाई पनि भनिन्छ ।
- लुलु : लुलु गाई मुस्ताङ जिल्लामा पाइन्छ । यी गाईहरूको शारीरिक तौल १५०–२०० के.जी. सम्म हुन्छ ।
प्रती बेत ७ हजार लिटरभन्दा बढी दुध दिन्छ । यस्को दुधमा ५.५ प्रतिशत भन्दा बढी फ्याट पाइन्छ । हाल जर्सी र स्थानीयको क्रस गराउँदा औसतमा २६ सय लिटर दुध दिएको पाइन्छ । - होलस्टेन : यो गाई संसारमा सबै भन्दा बडी दुध दिने गाई मानिन्छ । प्रति बेत १० हजार लिटर भन्दा बडी दूध दिएको पाइन्छ ।
- नेपालमा होलिस्टेन र स्थानीयको क्रस ले ३ हजार लिटर दुध दिएको पाइन्छ भने पोखराको भरत पोखरी भन्ने ठाउँमा यस्तो क्रस गाईले ८ हजार लिटर दुध दिएको पाइएको छ ।
- ब्रोन स्विस :यो गाईले औसत प्रति बेत ७५ सय लिटरभन्दा बदी दुध दिने गर्दछ । नेपालमा यसको स्थानीयसँगको क्रसले औसत २८ सय लिटरसम्म दुध दिने गर्दछ ।
- शाही वाल : यो गाई नेपालमा कमै मात्रामा पाइन्छ । यो गाईले प्रति बेत औसतमा २५ सय लिटर दूध दिने गर्दछ । यसको दुध मा ४.६ प्रतिशतसम्म फ्याट पाइन्छ । नेपालमा नपाइने वर्णशंकर जातहरूमा थारापार्कर, गिर , हरियाना लगायतका गाईहरू पर्दछन् ।