ज्वालाकुमारीले सम्हालिन कृषिको बागडोर, तर पोल्ट्री व्यवसायी गृहमन्त्रीसँग बढी आशावादी 

काठमाडौं । कृषि मन्त्रीमा ज्वालाकुमारी साह नियुक्त भएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, रास्वपालगायत दल सम्मिलित गठबन्धनको मन्त्रिपरिषद् विस्तार गर्दै साहलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

विस्तारित मन्त्रिपरिषदमा पशुपन्छीतर्फको आत्मनिर्भर क्षेत्र पोल्ट्रीमा आबद्ध व्यावसायी भने गृहमन्त्री रवि लामिछानेसँग निकै आशावादी देखिएका छन् ।

पोल्ट्रीजन्य वस्तुको आयातमा सरकारले रोक लगाए पनि भारतसँगको खुला सीमाका कारण भित्रिँदै आएको छ । यसले पोल्ट्री व्यवसायी मारमा परेका छन् । अघिल्लो पटक गृहमन्त्री हुँदा लामिछानेले यो समस्या समाधानमा अग्रसरता लिदै प्रहरी प्रशासनलाई तस्करी विरुद्ध निर्मम हुन निर्देशन समेत दिएका थिए । पोल्ट्री व्यवसायी यसपटक पनि उनीसँग आशावादी देखिएका हुन् । लामिछानेको यस्तो निर्देशनपछि लयमा फर्किएको व्यवसाय उनको वहिर्गमनसंगै पुन तस्करीको चपेटामा परको पोल्ट्री व्यावसायी बताउँछन् ।

लामिछानेले गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै चोरी–तस्करीका कारण धेरै व्यवसायी र किसान विस्थापित भएकाले यसको नियन्त्रण आफ्नो प्राथमिकतामा  रहेको समेत बताएका छन् ।