अन्तर्राष्ट्रियस्तरको कृषिसम्बन्धी बृहत् प्रदर्शनी सुरु

काठमाडौं । अन्तर्राष्ट्रियस्तरको कृषिसम्बन्धी तीनदिने बृहत् प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन प्रा.लि., फुचरेक्स टे«ड फेयर तथा इभेन्ट र एक्जिभिसन एण्ड टे«ड सर्भिसेज इण्डिया प्रा.लि.को संयुक्त आयोजनामा कृषिसम्बन्धी ‘छैठौं नेपाल एग्रीटेक’ नामक अन्तर्राष्ट्रिय बृहत् प्रदर्शनी सुरु गरिएको हो ।

कृषिक्षेत्रको विकास गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि प्रदर्शनी सुरु गरिएको आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा स्वदेश तथा विदेशका कृषिसम्बन्धी कम्पनीका १०० भन्दा बढी स्टल राखिएको छ ।

प्रदर्शनीमा भारत, चीन, जापान, रुसका विभिन्न कम्पनीबाट निर्मित कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरणसँगै केराखेती, थोपा सिंचाइ, विषादीरहित कृषिलगायतका स्टल रहेका छन् । त्यसैगरी, कृषि कर्मलाई सहज र किफायती बनाउन सहयोग पुग्ने साना औजार, मेसिनदेखि डेरी र पशुपन्छीपालनमा प्रयोग हुने उपकरण पनि प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, कृषकहरूको सहभागिता छ । कृषकका समस्या र जिज्ञासालाई समाधान गर्नुका साथै कृषि क्षेत्रका विभिन्न विषयमा स्वदेशी विज्ञहरूको गोष्ठी भइरहेको आयोजकले जनाएका छन् ।

नेपालको कृषिक्षेत्रको यान्त्रिकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने विश्वास पनि उनीहरूको छ ।
प्र्रदर्शनीको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले कृषिको उत्पादनका लागि उत्पादकत्व बढाउनु पर्नेमा जोड दिए । यसका लागि यान्त्रिकीरकणको महत्त्व रहेको मन्त्री भुसालले बताए ।

‘प्रविधिको विकासमार्फत् कृषिमा क्रान्ति ल्याउन सकिन्छ,’ मन्त्री भुसालले भने । कृषिमा प्रविधिको उल्लेख्य महत्त्व रहेको बताउँदै उनले कृषि औजारको प्रयोग आमकिसानसम्म पु¥याउनु पर्नेमा जोड दिए ।

कृषि सचिव गोविन्दप्रसाद शर्माले प्रदर्शनीबाट नेपालको कृषिक्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रदर्शनीलाई सफल बनाउन प्रवर्द्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ र नेपाल कृषि सहकारी केन्द्रीय संघ छन् ।

फोटो फीचर