‘अल ब्रिड च्याम्पिएनसिप डग सो’ हुँदै

काठमाडौं । केनल क्लब अफ नेपाल (केसिएन) ले ‘अल ब्रिड च्याम्पिएनसिप डग सो’ आयोजना गर्ने भएको छ । ललितपुरस्थित सातदोबाटो स्वीमिङ पुलमा माघ ६ गते उक्त डग सो आयोजना हुन लागेको हो ।

‘अल ब्रिड च्याम्पिएनसिप डग सो’ नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएकाे छ ।  यसअघि १३ वटा डग सो भएता पनि अल ब्रिड च्याम्पिएनसिप भने पहिलो पटक हुन लागेको हो ।

डग गेमलाई प्रोत्साहन गर्नु तथा नेपालको कुकुरको मूल्य अन्य देशमा बढाउनु उक्त ‘सो’को मुख्य उदेश्य भएको केसिएनले जनाएको छ । सोमा २०० भन्दा बढी कुकुरको सहभागिता हुन सक्ने आयोजकको अनुमान छ । आयोजकका अनुसार यस्ता ‘डग सो’ ले कुकुरको गुणस्तरका साथै उत्कृष्टता पनि थाहा पाइन्छ । डग सोलाई थप आकर्षक बनाउन केसिएनले १२ वर्षमुनिका बालबालिकालाई ‘बेस्ट ह्यान्डलर चाइल्ड’ अवार्डसमेत राखेकाे छ ।

‘सो’मा कस्ता कुकुर हुन्छन् ?

उक्त ‘सो’मा प्योर ब्रिड कुकुरहरु हुनेछन् ।  २५ भन्दा धेरै देशहरुबाट शुद्ध नश्लका २०० भन्दा बढी कुकुरहरु ‘सो’मा हुने आयोजकको अनुमान छ ।

कुकुरलाई कसरी सहभागीता गराउने ?

कुकुर प्रेमीहरुले आफ्नो कुकुर ‘सो’ मा सहभागीता गराउन केसिएनमा पहिले कुकुर दर्ता गराउनुपर्छ । यसको लागि संस्थाले नै कुकुरधनी भएकै ठाउँमा आएर यो सेवा दिने गरेको छ । यसको लागि कुकुरको गुणस्तर पनि मापन हुन्छ । उदाहरणको लागि जर्मन सेफर्डलाई ‘सो’ मा देखाउने हो भने त्यही अनुसारको गुण हुनुपर्छ ।

कुकुर च्याम्पिएनसिप बनेपछि के हुन्छ ?

‘डग सो’ बाट कुकुर च्याम्पिएन भएपछि वर्ल्ड केनल युनियनमा आवद्ध भएका सबै देशमा उक्त कुकुरले प्रतिस्पर्धा गर्न पाउँछ र त्यो कुकुरको बच्चासमेत च्याम्पिएनको उपाधिले चिनिन्छ । त्यस्तो च्याम्पिएनको बच्चा अन्य कुकुर भन्दा मंहगो शुल्कमा बिक्री हुन्छ । अल ब्रिड च्याम्पिएनसिपका लागि योपटक दक्षिण भारत र ब्यांग्लोरबाट दुईजना निर्णयक आउने भएका छन् । सन् २००५ बाट केसिएनले ‘डग सो’ आयोजना गर्दै आइरहेको छ ।