‘मेरा प्रतिद्वन्द्वीले पनि अन्त्यमा मलाई नै सहयोग गर्नुहुनेछ’

नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं महाधिवेशनमा आयाततर्फको उपाध्यक्षमा सुना सुवेदीले उम्मेदवारी दिएकी छन् कान्तिपुर भेट डिष्ट्रिब्युटर्स प्रालिमार्फत पशुपन्छी औषधि व्यवसायीमा सक्रिय सुवेदीसँग संघको कोषाध्यक्षको भूमिका निर्वाह गरिसकेको अनुभव व्यावसायिक संगठनमा राजनीतिक रङ मिसाउन नहुने मत राख्ने सुवेदी आफ्नो जित लगभग सुनिश्चित भएको दाबी गर्छिन् संघको १४औं महाधिवेशनको छेकोमा उनको उम्मेदवारी, भावी योजनालगायत विषयमा केन्द्रित रहेर भेट टाइम्सले गरेको कुराकानी :

संघको आयाततर्फको उपाध्यक्ष पदमा किन उम्मेदवारी दिनु भएको हो ?
व्यावसायिक हकहित र व्यवसायलाई प्रवद्र्धन गर्न तथा व्यवसायीका सम्पूर्ण समस्यालाई आफनै बुझेर त्यसको समाधान गर्न संघको आयाततर्फको उपाध्यक्षमा मैले उम्मेदवारी दिएको हुँ । साथै यसपछि मेरो लक्ष्य भनेको कार्यकारी नेतृत्वमा आफ्नो क्षमता देखाउने पनि हो ।

तपाईंले उम्मेदवारी दिँदा साथीहरूको प्रतिक्रिया के पाउनु भएको छ ?
मैले उम्मेदवारी घोषणा गरेपछि देशैभरका साथीहरूबाट हौसला र शुभकामना पाइरहेको छु । कान्तिपुर भेट डिस्ष्ट्रिब्युटर को नेतृत्वलाई सम्हाल्दै औषधि व्यवसाय र समाजसेवा गर्दै आइरहेको हुँ ।

जितिएला त चुनाव ?
मैले आयाततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ । सबै साथीहरूसँग सरसल्लाह गरेर नै उम्मेदवारी दिएको हुँ । चुनाव जित्दिनँ भन्ने प्रश्नै आउँदैन । मेरा प्रतिद्वन्द्वीले पनि अन्त्यमा मलाई नै सहयोग गर्नुहुनेछ ।

तपाईंलाई व्यवसायीले मतचाहिँ किन दिने ?
आयात, खुद्रा र थोकतर्फका सबै व्यवसायीहरूको समस्याका लागि म तत्पर रहन्छु । सबैलाई थाहा छ, कान्तिपुर भेट डिस्ष्ट्रिब्युटरबाट व्यवसायीले कस्तो र कसरी सहयोग पाइरहेका छन् । म कार्यकारी पदमा नरहे पनि सबै समस्याको समाधान सहज तरिकाले गरिरहेका छौं । व्यवसायीहरूको सेवा गर्नु नै मेरो सौभाग्य हो । व्यवसायीका हरेक प्रकारका समस्यामा साथ दिनका लागि नै मेरो उम्मेदवारी हो ।

व्यवसायीले अहिले झेलिरहेका समस्यालाई कसरी हेर्नुभएको छ ?
्व्यवसायीले अहिले झेलिरहेका समस्याहरूलाई मैले आफनै मानेको छु । समस्या नभएको व्यापार नै हुँदैन । तमाम समस्या समाधान गर्न मसँग रोडम्याप पनि छ । नेतृत्वबाट पनि यो यो काम गराउन सक्ने नेतृत्वदायी क्षमता ममा छ । व्यवसायीका सबै समस्या मलाई थाहा छ र कसरी समाधान गर्ने योजना पनि छ ।

व्यवसायीका समस्या समाधानमा तपाईंका रोडम्याप के हुन् ?
व्यवसायीका साझा समस्या छन् र त्यसलाई सामूहिक रूपमा हल गरिनु पर्छ भन्ने मेरो मान्यता हो । यसका लागि हामीबीच एकता र सहकार्यको खाँचो छ । मेरो रोडम्याप मेरो व्यक्तिगत होइन, सबै व्यवसायीको साझा हो । त्यसैले व्यावसायिक एकता पनि मेरो रोडम्याप हो ।

नेता बन्न चुनावमा उठ्ने तर पछि व्यवसायीका समस्यालाई फर्केर पनि नहेर्ने प्रवृत्ति बढेको गुनासो व्यवसायीहरूको छ । के भन्नुहुन्छ ?
नेता बन्न चुनावमा उठ्ने र चुनाव जितेपछि व्यवसायीको समस्यालाई टुलुक्क नहेर्ने तपाईंको भनाइसँग म सहमत छु । चुनाव आएपछि उठौं उठौं लाग्नु स्वाभाविक पनि हो । कोषाध्यक्षको कार्यकालमा मैले कसरी काम गरेँ ? त्यसको मूल्यांकन साथीहरूले गरेकै होलान् । अध्यक्ष, उपाध्यक्ष र सम्पूर्ण पदाधिकारीहरूले संघलाई एक ढिक्का बनाएर लगेका हौं । हामीबीच कहिले पनि मनमुटाव भएको छैन । चुनावपछि व्यवसायीको काँधमा काँध मिलाएर काम गर्न तयार छु । व्यवसायीका गुनासो आउन नदिन मेरो प्रयास रहन्छ ।

व्यावसायिक संगठनमा राजनीतिक घुस्यो भन्ने व्यवसायीमा चिन्ता देखिन्छ, यसबारे तपाईंको भनाइ के छ ?
यस्ता संगठनमा राजनीति घुस्नु गम्भीर कुरा हो । किनभने, कुनै पनि व्यावासायिक संगठनमा राजनीति घुसाउनु हुँदैन । हामीले राजनीति विचारभन्दा पनि व्यवयासीको हितलाई ध्यानमा राखेर मतदान गर्ने हो । यो संघ व्यावसायिक हकहितका लागि हो, पार्टीको विचार र झण्डा बोक्नका लागि होइन । संघमा राजनीति गर्नेलाई हामी सबैले चिनेका छौं । संघमा राजनीति घुसाएर व्यवसायीलाई राजनीतिक रंग दिएर फुटाउने काम गलत हो । त्यसैले संघको हितमा काम गर्ने क्षमतावान् व्यक्तिलाई निर्वाचित गराउनुपर्छ । ‘यो मेरो’, ‘त्यो तिम्रो पार्टी’ भन्नु हुँदैन । क्षमता र योगदानका आधारमा नेतृत्व चयन हुनुपर्छ ।

सहमतिका आधारमा नेतृत्व चयन गर्ने सम्भावना कति छ र सहमतिका लागि तपाईं तयार हुनुहुन्छ कि हुनुहुन्न ?
महाधिवेशनमा सहमतिका आधारमा पनि नेतृत्व चयन हुन सक्छ । पूर्वअध्यक्ष र पूर्वपदाधिकारीहरूले सहमतिका लागि प्रयास गर्नुहुनेछ । तर निर्वाचन पनि प्रजातान्त्रिक प्रक्रिया हो । त्यसैले मतदान नै भयो भने त्यो पनि अन्यथा हुँदैन । तर पनि सहमति हुनु सबैभन्दा राम्रो हो । यदि सहमति भएन भने त्यसको विकल्प मतदान नै हो । आफनो क्षमता देखाउनेलाई महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । सबै साथीहरू विवेकशील छन् र मतदानमा स्वविवेश प्रयोग गर्नु हुनेछ भन्ने विश्वास छ ।