भूकम्प प्रभावित क्षेत्रमा यसरी प्रवाह गरिरहेको छ पशु सेवा विभागले सेवा

काठमाडौं । पशु सेवा विभागले भूकम्प प्रभावित क्षेत्रमा पशु चिकित्सक परिचालन गरेको छ । गत शुक्रबार मध्यराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा घाइते पशु–चौपायाको उद्धार तथा उपचारका लागि विभागले पशु चिकित्सक तथा प्राविधिकको टोली परिचालन गरेको हो ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा विभागका चिकित्सक औषधिसहित परिचालन गरिएको जानकारी दिए । उनका अनुसार, कर्णाली प्रदेशस्थित पशु सेवा विभागअन्तर्गतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकसहितको दुई टोली जाजरकोट र पश्चिम रुकुम खटिएका छन् । प्रयोगशालाबाट खोप–औषधिसहित वरिष्ठ पशु चिकित्सक डा. राकेश प्रजापति र समशेर जिसीसहितको टोली जाजरकोट तथा डा. लक्ष्मीनारायण दास र देवीराम कँडेल नेतृत्वको टोली पश्चिम रुकुममा परिचालन गरिएको हो । विभागबाट खटिएका चिकित्सकको यी दुवै टोलीले अहिले विज्ञ केन्द्र र पालिकाका प्राविधिक परिचालन गरेर पशु–चौपायाको उद्धार तथा उपचार गरिरहेका छन् ।

डा. दाहालका अनुसार, वरिष्ठ पशु विकास अधिकृत डा. आभास पौडेल नेतृत्वमा ३ विज्ञ पशु चिकित्सकको थप टोली पनि खोप, अत्यावश्यक औषधि तथा प्राथमिक उपचारका सामग्रीसहित भूकम्प प्रभावित जिल्ला पठाइएको छ । नेपाल भेटेरिनरी एसोसिएसन, कर्णाली प्रदेशका पशु चिकित्सकले पनि उद्धार कार्यमा सहायता गरिरहेको महानिर्देशक डा. दाहालले बताए ।

‘पशु सेवा विभागबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पालिका र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतका कर्मचारीसँग निरन्तर समन्वय तथा जानकारी संकलन भइरहेको छ,,’ भूकम्प प्रभावित क्षेत्रका घाइते पश–चौपायाको उपचार प्रबन्धबारे जानकारी दिँदै महानिर्देशक दाहालले भने ।

भूकम्पबाट १ करोड २५ लाखको पशुधनको क्षति

भूकम्पबाट १ करोड २५ लाख रूपैयाँ बराबरको पशुधनको क्षति भएको आकलन विभागले गरेको छ । घटनामा उत्तिकै मात्रामा पशुपन्छी घाइतेसमेत भएका छन् ।

विभागको पछिल्लो तथ्यांकअनुसार, जाजरकोट र पश्चिम रुकुममा गरी १ हजार ६३८ पशु–चौपाया मरेका छन् । जाजरकोटमा मात्रै ३३ गाईगोरु, १४ राँगा–भैंसी, ३९९ भेडाबाख्रा र ३२२ पन्छी मरेका छन् । पश्चिम रुकुममा १८ गाईगोरु, २६ राँगाभैंसी, ७६ भेडाबाख्रा र ७६५ पन्छी मरेको महानिर्देशक दाहालले जानकारी दिए ।

विभागका अनुसार, भूकम्पमा उत्तिकै मात्रामा पशुपन्छी घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा ८६ गाईगोरु, १४ राँगाभैंसी र ४९२ भेँडाबाख्रा घाइते भएका छन् । त्यसैगरी, पश्चिम रुकुममा पनि ७ गाई, ३ राँगाभैंसी र ४ भेडाबाख्रा घाइते भएको दाहालले जानकारी दिए । विभागबाट परिचालित पशु चिकित्सक तथा पशु प्राविधिकबाट घाइते यी सबै पशुपन्छीको उपचार गरिएको विभागको भनाइ छ ।

भूकम्पबाट जाजरकोटमा १६ र पश्चिम रुकुममा ४ वटा गोठ तथा खोरमा क्षति पुगेको छ । यसबाट करिब ४६ लाख बराबरको धनमालको नोक्सानी हुन पुगेको विभागको आकलन छ ।

भूकम्पबाट पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयका संरचना पनि भत्किएको विभागले जनाएको छ । विभागका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जाजरकोटको कार्यालय भवन क्षतिग्रस्त बनेको छ । कार्यालय भवनमा क्षति पुगेपछि अहिले कार्यालयले खुला आकाशमुनिबाट सेवा प्रदान गरिरहेको छ । भूकम्पका कारण कर्मचारी प्रभावित भएको र क्षतिको विवरण संकलन तथा उद्धारमा पनि कठिनाइ भएको विभागले जनाएको छ ।