१६ संगठनद्वारा दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न १६ संगठनले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गरेका छन् । पहिलो चरणमा –याली, प्रदर्शन, धर्ना, तालाबन्दीलगायत कार्यक्रम गरेका उनीहरूले सोमबारदेखि दोस्रो चरणको कार्यक्रम सुरु गर्न लागेका हुन् ।

संघर्षको नेतृत्व गर्दै आइरहेको नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) का महासचिव डा. केदार सुवेदीले आफूहरूका माग पूरा गर्न नेपाल सरकार तयार नभएकाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गरिएको भेट खबर डटकमलाई जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणका आन्दोलनका कार्यक्रम भदौ ११, १२ र १३ गते सञ्चालन हुनेछन् । जसअन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, सम्पूर्ण कार्यालयहरू र सो अन्तर्गतका निकायहरूले प्रदान गर्ने सम्पूर्ण कार्य तथा सेवाहरू ९ क्वारेन्टाइन, प्रयोगशाला, उपचार, सिफारिसलगायतका सम्पूर्ण कार्यहरू) बन्द गर्ने, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागअन्तर्गतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको सामूहिक राजीनामा तयार गरी थप दबाबमूलक कार्य गर्नेलगायत छन् ।

नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा पशु सेवा विभागअन्तर्गतका २० संगठनमध्ये केहीलाई खारेज गर्ने, केहीलाई गाभ्ने र केहीलाई प्रदेश मातहत राख्ने निर्णय गर्दै ती कार्यालयमा शून्य बजेट विनियोजन गरेपछि पशुपन्छी क्षेत्रका सरोकारवाला संघर्षरत छन् ।

योसहित लम्पी स्किन महामारी नियन्त्रण, पीडित किसानलाई क्षतिपूर्ति, सबै स्थानीय तहमा भेटेरिनरी चिकित्सकको प्रबन्ध हुनुपर्नेलगायत जायज माग राखे पनि त्यसको सम्बोधन नभएको आन्दोलनरत पक्षको भनाइ छ । सरकारले भने बजेटको समस्या सम्बोधन भइसकेको दाबी गर्दै अन्य एजेण्डाबारे संवाद गरेर समाधान गर्न सकिने बताउँदै आएको छ ।