पशु चिकित्सकले पशु सेवा विभागमा ताला लगाउने, प्रधानमन्त्री र मन्त्रीको घर घेर्ने

काठमाडौं । पशुपन्छी चिकित्सकले पशु सेवा विभागमा ताला लगाउने घोषणा गरेका छन् । पशुपन्छी क्षेत्रसँग सम्बन्धित २० वटा कार्यालय गाभ्ने, खारेज गर्ने तथा शून्य बजेट छुट्याउने सरकारको निर्णयविरुद्ध संघर्षमा उत्रिएका पशु चिकित्सकहरूले माग सम्बोधनमा उदासीनता प्रकट गरेको भन्दै विभागमा ताला लगाउने घोषणा गरेका हुन् ।

बुधबार राजाधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) का निवर्तमान अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले आफूहरूका जायज मागबारे नजरअन्दाज गरिएकाले विभागमा बुधबार राति राँके जुलुससहित ताला लगाउन लागिएको बताए ।

‘आजकै रातिबाट पशु सेवा विभागमा ताला लाग्नेछ,’ उनले भने । पुत्ला जलाउने तथा राँके जुलुस निकाल्ने कार्यक्रम आन्दोलनविरुद्ध छेडखानी गर्नेविरुद्ध लक्षित हुने पनि उनले बताए ।
आफूहरूको आन्दोलन माइतीघरमा मात्र सीमित नभएर प्रधानमन्त्री, कृषि मन्त्री र अर्थमन्त्रीको निवास घेराबन्दीसम्म गर्ने गरी अघि बढ्ने उनले बताए ।

‘हाम्रो आन्दोलन माइतीघरमा मात्र सीमित रहनेछैन, कृषि मन्त्री वेदुराम भुसाल बस्ने पुल्चोक, अर्थमन्त्री डा. प्रकाशशरण महतको निजी निवास, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराबन्दी गर्न बाध्य हुनेछौं,’ उनले भने ।प्रारम्भमा आफूहरूले आन्दोलनको मनस्थिति नबनाए पनि सरकार र यसका अधिकारीको बेवास्ताले बाध्य पारेको उनले बताए ।

‘सुरुमा हामीले आन्दोलन गर्ने मनस्थिति बनाएका थिएनौं । जब ०८०÷८१ को आर्थिक वक्तव्यमा पशु सेवा विभागअन्तर्गतका २० कार्यालयमध्ये केही खारेज गर्ने, केही गाभ्ने, प्रदेशमा हस्तान्तरण गर्ने कुरा उल्लेख भयो । त्यसपछि हामीले विभिन्न पेसागत संगठनले विरोधका स्वर निकाल्न थाल्यौं । यसैक्रममा सचिव दीपक खराल, मन्त्री बेदुराम भुसाल, अर्थमन्त्री, प्रधानमन्त्रीसम्म ध्यानाकर्षण गराउँदै सच्याउन भनेका थियौं । तर त्यसका बावजुद पनि गरिएन,’ उनले भने ।

कृषि मन्त्रालयका दुई सचिव डा. दीपक खराल र डा. गोविन्द शर्मालाई भिजिलान्तेको संज्ञा दिँदै दीपकलाई त कालोमोसो चल्ने चेतावनी दिए ।

सरकारले गत जेठमा ल्याएको चालु आर्थिक वर्षको बजेटमा पशु सेवा विभागअन्तर्गतका २० कार्यालयमध्ये केहीलाई खारेज गर्ने, केही गाभ्ने, केही प्रदेशमा हस्तान्तरण गर्दै शून्य बजेट विनियोजन गरेपछि पशुपन्छी क्षेत्रका सरोकारवाला आन्दोलित बनेका छन् ।