शून्य बजेटविरुद्ध पशुपन्छी क्षेत्रका १२ संगठनद्वारा जुलुस र धर्ना

काठमाडौँ । सरकारले पशु सेवा विभागअन्तर्गतका सरकारी नियकाहरुलाई बजेट शून्य बनाएको विरोधमा पशुपन्छी तथा मत्यस्य क्षेत्रसँग सम्बन्धी १२ वटाभन्दा बढी संघसंगठनले आज माइतीघर मण्डलामा जुलुस प्रदर्शन गरेका छन् ।

विभिन्न नारा लेखिएका प्लेकार्डसहित भेटेरिनरी कम्प्लेक्स त्रिपुरेश्वरबाट निस्किएको जुलुस माइतीघ मण्डलामा पुगेर प्रर्दशन तथा धर्नामा परिणत भएको हो । उनीहरुले ३ भदौमा पत्रकार सम्मेलन गरेर ४ भदौबाट चरणबद्ध आन्दोलनका कारणक्रम घोषणा गरेका थिए । त्यसअनुसार ४ र ५ भदौमा उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए ।

चालू आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सरकारले पशु सेवा विभागअन्तर्गतका करिब २० वटा निकायमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छैन । बजेट विनियोजन नगर्दा ती निकायले साविकका कुनै कार्यक्रम तथा सेवा प्रवाह अघि बढाउन सकेका छैनन् भने साढे ३ सय भन्दा बढी कर्मचारी कामविहीन अवस्थामा रहेका छन् ।

चालू आर्थिक वर्षको एक महिना वितिसक्दा पनि बजेट निकासा गराउन नसकेको भन्दै सरोकारवाला निकायका संघसंगठन विरोधमा उत्रिएका हुन् ।

६ भदौदेखि १० भदौसम्म अत्यावश्यकबाहेकका सबै सेवा ठप्प पार्ने, पेन डाउन गर्ने, धर्ना र जुलुस गर्ने पूर्वघोषित कार्यक्रमअनुसार उनीहरुले जुलुस तथा धर्ना प्रदर्शन गरेका हुन् ।

उनीहरुले यो अवधिमा आयात–निर्यात सिफारिस सेवा पनि बन्द गर्ने भनिएपछि त्यो सेवा भने बन्द गर्न सकेका छैनन् ।

११ गतेपछि उनीहरुले जिम्मेवार निकायका प्रमुखहरुको राजीनामा माग्ने, भेटेरिनरी सेवाहरु बन्द गर्ने, क्वारेन्टाइन प्रमाणपत्र र भेटेरिनरी प्रमाणपत्र जारी गर्न बन्द गर्ने, सरकारी र निजी क्षेत्रले प्रवाह गर्ने यस क्षेत्रका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।