गोरुसिंगे सडकमा रात्री बसको ठक्करबाट १० गाईगोरुको मृत्यु, ४ घाइते

काठमाडौँ । कपिलबस्तुको जितपुरबाट गोरुसिंगे जाने सडकमा रात्री बसको ठक्करबाट १० वटा गाईगोरुको मरेको अवस्थामा भेटिएका छन् । कपिलबस्तुको जितपुरबाट गोरुसिंगे जाने सडकमा ५ वटा गाई र ५ वटा गोरु यात्रुबाहक रात्री बसको ठक्करबाट मृत अवस्थामा भेटिएको कपिलबस्तु प्रहरीका डिएसपी मिनबहादुर घलेले बताए । त्यस्तै, ४ वटा गाईगोरु घाइते अवस्थामा भेटिएका उनले जानकारी दिए ।

दाङबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ख५१७१ नम्बरको यात्रुबाहक रात्री बसले सडकमा रहेका गाईगोरुको हुललाई ठक्कर दिँदा उक्त घटना भएको उनले बताए । हाल ठक्कर दिने बससहित बसका चालक भूपेन्द्रबहादुर विकलाई नियन्त्रणमा लिइएको उनले बताए ।

राती वर्षा भइरहेको समयमा गाईगोरुको हुल बसेको सडकमै गाडीले ठक्कर दिएको पाइएको उनले बताए । चालकलाई पशुपन्छी संरक्षण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको उनको भनाइ छ।