पोटासिएम परम्याग्नेट : माछा उत्पादनमा रामवाण

रविनसनअधिकारी

रविनसनअधिकारी

माछापालन, माछा र अन्य जलचर उत्पादनको वृद्धिले विश्वकै खाद्य र पोषण सुरक्षामा अहं भूमिका निभाएको पाइन्छ । तर विभिन्न कालखण्डमा पशु तथा मत्स्यजन्य माहामारी रोगका कारणले गर्दा यस क्षेत्रले पनि ठूलो क्षति व्यहोर्दै आएको छ । तर पछिल्लो समयमा माछापालनमा महत्वपूर्ण समस्याको रूपमा रहेको मत्स्य रोग र यसको नियन्त्रणका लागि पोटासिएम परम्याग्नेटको प्रयोग आशाजनक उपायको रूपमा प्रस्तुत भएको छ ।

पोटासिएम परम्याग्नेट (KMnO4) एक प्रभावकारी रसायन हो जसको प्रयोगले माछापोखरीमा भएको सम्पूर्ण जीवाणु तथा ढुसीहरूलाई निर्मूल पार्न मद्दत गर्छ र पोखरीको पानी स्वस्थ राख्दछ । यसले जीवाणु, परजीवी, ब्याकटेरिया, ढुसी आदिको संक्रमणको प्रतिरोध गर्दछ । यस रसायन पानीमा घुलित हुँदा पोखरीमा घुलित अक्सिजन उत्पन्न हुन्छ, जसले गर्दा माछालाई पूर्ण रूपमा चाहिने अक्सिजन सजिलै प्राप्त गर्न सक्छ र माछा स्वास्थ्य एवं यसको वृद्धि विकास छिटो हुने हुन्छ । धेरै मलिलो माछापोखरीको जैविक पदार्थलाई ओक्सीकरण गर्न मद्दत पु¥याउँदछ, जसका कारण माछापोखरीमा सञ्चित भएका विभिन्न हानिकारक ग्यासहरूको प्रदूषण घटाइ पानीको गुणता एवं शुद्धता सुधार्न मद्दत गर्दछ ।

पोखरीमा विभिन्न किसिमका मत्स्य रोग तथा यसको जीवाणु प्रवेश रोक्न वा प्रवेश भए वखतका बेला पोटासिएम परम्याग्नेटको प्राथमिक प्रयोग नै रोग निवारणको उपयुक्त विकल्प हो । यसको उचित मात्रामा प्रयोग गरी, माछापालक कृषकहरूले आफ्नो पोखरीको माछा तथा भुराको स्वास्थ्य र उत्पादनमा संक्रमण गर्ने परजीवी, जीवाणु र ढुसीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने अध्ययन अनुसन्धानले पुष्टि गर्दछ । यसको प्रयोगले जीवाणु संक्रमणहरू जस्तै कोलम्नारिस रोग, पुच्छर कुहिने, गिल कुहिने, सेतो थोप्लो रोग, मोनोजिनियन किटहरू र बाह्य परजीवीलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

रोग नियन्त्रणको अलावा माछापालनमा पोटासिएम परम्याग्नेटलाई पानीको उपचार तथा पानीको गुणस्तर कायम गर्न प्रयोग गरिन्छ । यसले हानिकारक परजीवी, जैविक अपघटन र अतिरिक्त जलजीवनलाई समाप्त गर्दै उचित जलस्थिति बनाउँछ । यसले जैविक पदार्थको निकासीमा सहयोग गर्दछ, जसले अक्सिजन क्षारण र हानिकारक मेटाबोलाइटको उत्सर्जन गर्दछ र माछामा तनावको कमी ल्याउँछ, प्रतिरोधक क्षमताको वृद्धि गर्दछ र माछाको मृत्युदर निकै कम हुन्छ ।

माछापालनमा पोटासिएम परम्याग्नेटको विधिको र प्रयोगको मात्रा सावधानीपूर्वक विचार गर्नुपर्छ ।अत्यधिक मात्रामा माछाको लागि अति हानिकारक हुन सक्छ र पूर्ण मात्रा निर्धारण गर्न सकिएन भने वा मात्रा अपर्याप्त भए यस रसायनले काम नगर्ने हुँदा अनिवार्य मत्स्य विज्ञको परामर्श लिनुपर्छ । उचित मात्राको निर्धारण गर्दा पानीको आयातन, माछा प्रजाति, रोगको गम्भीरता र पर्यावरणीय अवस्थाको समावेशलाई आधार बनाउनु पर्दछ । सामान्य अवस्थामा माछापालन गरेको पोखरीमा २ पि.पि एम वा २ एम.जी. प्रति लिटरको दरले पोखरीमा प्रयोग गर्न सकिन्छ । यो पाउडर धुलो हुने हुँदा सर्वप्रथम थोरै पानीमा घोली घाम लागेको बेलामा पोखरीको सबैतिर छर्किनु पर्दछ । माछापालक कृषकहरूले मत्स्य विज्ञको सल्लाहबमोजिम प्रभावकारी प्रयोगका लागि सिफारिस गरिएको मापदण्डहरूमा पालन गर्नुपर्छ ।

निरन्तर अनुसन्धान, नवीनता, र विकासद्वारा पोटासिएम परम्याग्नेटको सम्भावनाहरूलाई अधिक उपयोगमा ल्याउन सकिने र यसको प्रयोग मत्स्यपालन क्षेत्रमा रामवाण सावित हुनेमा दुई मत छैन ।

(अधिकारी मत्स्य विकास केन्द्र, मिर्मी, गण्डकी प्रदेशका प्रमुख हुन् ।)