लम्पी स्किन महामारी : नियन्त्रणका लागि सरकारलाई परिषद्का सात सुझाव

काठमाडौं । नेपाल पशु चिकित्सा परिषद्ले गाई तथा भैंसीमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारलाई सातबुँदे सुझाव दिएको छ ।

लम्पी स्किन हाल महामारीका रूपमा देशभर फैलिएको छ । नेपालको अर्थतन्त्रमा करिब ११.५ प्रतिशत हिस्सा राख्ने पशुपालन क्षेत्र लम्पी स्किनलगायत रोगहरूका कारण संकटग्रस्त हुँदै गइरहेका बेला परिषद्ले सरकारलाई तत्कालीन र दीर्घकालीन सुझाव दिएको हो ।

केही महिना अगाडिदेखि देखापरेको लम्पी स्किन रोग हाल देशका ७१ जिल्लामा फैलिसकेको छ । यसबाट ५ लाख ५५ हजार पशुहरू संक्रमित भएका छन् । जसमध्ये २१ हजारको मृत्यु भएको परिषद्को परामर्शमा उल्लेख छ । पक्स भाइरसको संक्रमणबाट मुख्य गरी गाई र भैंसीमा लाग्ने यो रोगका कारण पशुवस्तुको मृत्यु हुने, दूध र मासु उत्पदनमा ह्रास आउने, पशुमा प्रजनन समस्या तुहिने, गर्भपतन हुने, बाली नजाने तथा छाला उत्पादनमा समेत समस्या आउने गरेको छ । यो रोगको संक्रमणका कारण करिब ६ महिनासम्म साढे तथा राँगाहरू प्रजननमा आउन नसक्ने र लामो वेतान्तर भई गाई भैंसीको दूध ४० देखि ५० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । विश्व पशु स्वास्थ्य संगठनका अनुसार, यो रोगको संक्रामक दर १० देखि २० प्रतिशत र मृत्युदर १ देखि ५ प्रतिशत देखिएको छ ।

नेपालमा हाल ७४१३१९७ गाई र ५१३२९३१ भैंसी छन् । समयमै यसको उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६ हजार पशुमा संक्रमण फैलिने र १ लाख गाईभैंसीको मृत्यु हुने अनुमान गरिएको छ । यसबाट करिब १ अर्ब २६ अर्बबराबरको आर्थिक क्षति हुने देखिन्छ । यो रकम नेपालको आगामी आर्थिक वर्ष २०८०÷८१ को प्रस्तावित कुल बजेटको करिब ७.२ प्रतिशत हो ।

यस्ता छन् परिषद्ले सरकारलाई दिएका सुझाव
परिषदले लम्पी स्किनलगायत रोग र आगामी दिनमा आउन सक्ने महामारीको समयमा नै उपचार, रोकथाम, नियन्त्रण गरी किसानको पशुधनलाई जोगाउन सरकारलाई आग्रह गरेको छ । उसले पशु चिकित्सा परिषद् ऐन, २०५५ को दफा ९(६) अनुसार नेपाल सरकारलाई ७ बुँदे परामर्श दिएको हो ।

पहिलो बुँदामा हाल मस्यौदाको क्रममा रहेको संक्रमण पशु रोग नियन्त्रणसम्बन्धी प्रस्तावित विधेयक पारित नहुन्जेलसम्म लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गर्न सुझाइएको छ ।

त्यसैगरी, रोगको नियन्त्रणका लागि संघीयस्तरमा लम्पी स्किन रोग कन्ट्रोल रुम स्थापना गर्न, संक्रमित क्षेत्रमा कम्तीमा एक पशु चिकित्सक र पशु स्वास्थ्य प्राविधिक टोलीसहित रेपिड रेस्पोन्स टिम परिचालन गर्न, स्थानीय तहमा पशु चिकित्सक र पशु प्राविधिकको अभाव देखिएकाले विकल्पमा भेटेरिनरी अध्यापन गर्ने शिक्षक, विद्यार्थी तथा निजी क्षेत्रमा कार्यरत पशु चिकित्सकलाई परिचालन गर्न आग्रह गरिएको छ ।

काउन्सिलका निमित्त रजिस्ट्रार डा. मनोजकुमार शाहीद्वारा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रेषित परामर्श पत्रमा लम्पी स्किन रोगको उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक आधारभूत भेटेरिनरी औषधि, खोप, निःसंक्रामक उपलब्धता तथा वितरण व्यवस्था गर्न पनि भनिएको छ ।

त्यस्तै, संक्रमण फैलन नदिन भौगोलिक रूपमा महत्त्वपूर्ण मानिएका स्थान तथा हालसम्म क्वारेन्टाइन, चेकपोस्ट् नै नभएका प्रदेशमा आन्तरिक पशु क्वारेन्टाइन चेक पोस्ट् स्थापना गर्न सुझाव दिइएको छ ।

त्यसैगरी, काउन्सिलले लम्पी स्किनलगायत रोगविरुद्ध लड्न मध्यमकालीन तथा दीर्घकालीन व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

यसमा प्रत्येक स्थानीय तहमा प्राथमिक प्रयोगशाला, सेवासहितको अस्पताल स्थापना, ७५३ वटै स्थानीय तहमा पशु चिकित्सकको प्रबन्ध गर्नेलगायत छन् । त्यसैगरी, जिल्लास्थित भेटेरिनरी अस्पताललाई आधारभूत प्रयोगशालासहितको विशेषज्ञ भेटेरिनरी सेवा प्रदान गर्न सक्ने गरी स्तरोन्नति गर्न, प्रत्येक प्रदेशमा केन्द्रीय प्रयोगशाला मातहत रहने गरी रिफरल प्रयोगशालाका रूपमा संघीय प्रयोगशालाको स्तरोन्नति गर्न सुझाव दिइएको छ ।

प्रयोगशालाको स्तरोन्नतिले पशु रोगको सर्भिलेन्स तथा रिपोर्टिङलाई प्रभावकारी बनाउने काउन्सिलको विश्वास छ । प्रत्येक प्रदेशमा औषधि भण्डार र जिल्लामा खोप बैंक स्थापना, सरकारी छात्रवृत्तिमा अध्ययन गरेका पशुचिकित्सकलाई कम्तीमा दुई महिना दुर्गम जिल्लामा गएर काम गर्ने व्यवस्था गर्दा यसविरुद्ध लड्न सहयोग पुग्ने काउन्सिलको भनाइ छ ।