‘नेपाल एग ट्रेडिङको अवधारणाले सबैलाई फाइदा गर्छ’

कुखरापालक किसानहरू लामो समयदेखि अण्डा बजारीकरणको समस्या झेलिरहेका छन् । लागत मूल्यसमेत नउठ्ने गरी अण्डा बिक्री गर्न बाध्य भएको किसानहरू गुनासो गर्छन् । अझ कतिपयले त अण्डा बिक्रीका लागि बजारसमेत पाएका छैनन् । कुखुरापालक किसानले झेलेको यही समस्यालाई सम्बोधन गर्न किसानहरूको स्वतःस्फूर्त संगठित प्रयासमा नेपाल एग ट्रेडिङ सञ्चालनमा ल्याएका छन् । 

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट विद्यमान सप्लायर्सको लेयर कटौती गरेर किसानलाई अण्डाको मूल्य दिन यो अभियान सफल हुने विश्वास व्यक्त गर्छन् । नेपाल एग ट्रेडिङ अवधारणाका सूत्रधारमध्ये एक विष्टसँग यसको संरचना, उद्देश्य, किसानले पाउने लाभलगायत विषयमा केन्द्रित रहेर भेट टाइम्सले गरेको सवाल  :

तपाईंहरूले किसानले पालेका कुखुराको अण्डाको बजारीकरण गर्ने उद्देश्यले नेपाल एग ट्रेडिङ सुरु गर्नुभएको रहेछ । यो अवधारणा कसरी आयो ? 

कुखुराको अण्डाको बजार निकै अव्यवस्थित र भद्रगोल भयो । सबैले अण्डा बिक्री गर्न सकेनन् । यो दूरावस्थालाई व्यवस्थित गरिदिएर सबैलाई सजिलो पारिदिन यो अवधारणा अघि सारिएको हो ।

यसको उद्देश्य अण्डाको बजार व्यवस्थित पारिदिने मात्रै हो कि अरू पनि छन् ? 

सक्नेले त अण्डा बिक्री गरेकै छन् । तर कतिपयले यो काम गर्न सकेका छैनन् । तिनले पनि आफूले उत्पादन गरेका अण्डा बिक्री गर्न सकून् भनेर यो अभियान थालिएको हो ।

 यसले क–कसलाई फाइदा गर्छ ? 

यसले कसैलाई माइनस गर्दैन । किसान, उपभोक्ता सबैलाई यो अवधारणाले फाइदा गर्नेछ । यसबाट अधिक लाभान्वितचाहिँ किसान हुन्छन् । दानाको मूल्य अहिले यत्रो बढेको छ । तर अण्डाको मूल्य बढेको छैन । घाटा खाएरै बिक्री गरिरहेका छन् । यसलाई मूभ र व्यवस्थित गरेपछि किसानले फाइदा पाउनेछन् । यो सेवा किसानले कहाँ–कहाँबाट पाउँछन् त ?

सबैभन्दा धेरै अण्डा खपत हुने क्षेत्र काठमाडौं हो । त्यसैले काठमाडौंमा कार्यालय स्थापना गरेर काम थालेका छौं । यो कहाँसम्म फैलन्छ भन्ने कुराचाहिँ व्यवस्थित गर्दै अघि बढेपछि यसले लिने रूपमा निर्भर हुनेछ । हाम्रो चाहना नेपाल एग ट्रेडिङले सबैको हित गर्नुपर्छ, विकृति आउनु हुँदैन भन्ने छ । कसैलाई निषेध गर्ने उद्देश्य यसको छैन । समाजमा उत्पादक, सप्लायर्स, उपभोक्ता सबै चाहिन्छ । तथापि, यसमा बडी स्टेपचाहिँ कटौती हुन्छ । बीचमा सप्लायर्स हुन्छन् । त्यसो त सप्लायर्सको यो नाम नै ‘बिचौलिया’ भनेर बदनाम गरेका छन् ।

 यसमा बिचौलियाचाहिँ हुन्छन् कि हुँदैनन् त ? 

बिचौलिया नरहीकन त हुँदै हुँदैन भन्या । कसको उद्योगले आफ्नो उत्पादन सिधै गएर उपभोक्तालाई बिक्री गर्न सक्छ र ? हेर्नुस्, हाम्रा पोलिटिसियनले केही बुझेका छैनन्, त्यत्तिकै बोलेका छन्, बिचौलिया भनेर नाम बदनाम पारेका छन् । यो गलत हुँदैछ । कुनै पनि उत्पादन उपभोक्तासम्म पुग्न बीचमा ट्रेड चाहिन्छ चाहिन्छ ।

 महिनौं लगानी गरेर उत्पादन गर्ने किसानले भन्दा बिचौलियाले बढी फाइदा लिएका छन् । यो त अलि अमिल्दो भएन र ? 

सित्तैमा कसैले काम गर्दैन । त्यसैले व्यवस्थित ढंगले सप्लायर्सलाई कमिसन दिनु उपयुक्त हुन्छ । यसमा समस्या छ, नभएको होइन । छलफलहरू त्यसलाई व्यवस्थित गर्नेतर्फ केन्द्रित हुनुपर्छ । सप्लायर्सको लेयर (तह) बढी छ भने त्यसलाई कटौती गर्न सकिन्छ । तर एक÷दुई लेयर त हुन्छ, हुन्छ । त्यो हुनु हुँदैन भनेर बेकारमा कसैले फुर्ती गर्न पर्दैन ।

 यसरी एग ट्रेडिङबाट मात्र अण्डा बजारीकरण गर्ने भएपछि एकाधिकार त हुँदैन ? 

हामीले एकाधिकार गर्न खोजेकै होइन । म आफैंले त्यहाँ गएर यो कुरा बोलेको छु । हेर्नुस्, समाजमा सबैका भूमिका छ । सबै चाहिन्छन् । सामाजिक संरचनाभन्दा बाहिर जान्छु भनेर कसैले सोच्छ र व्यवसाय गर्न  खोज्छ भने त्यो सफल हुँदैन । मैले माथि नै भनिसकेँ कि यसले बजारलाई धेरै प्रदूषित गर्न दिँदैन । एउटै अण्डामा ३–४ रूपैयाँ खाने, ५–७ वटा लेयरहरू राख्ने कुरालाई मात्र यसले कटौती गर्न खोजेको हो ।

अण्डाको मूल्यचाहिँ कसरी निर्धारण हुन्छ ?

अण्डाको मूल्य जति राख्दा मनासिव हुन्छ, त्यति नै राखिन्छ । यसमा मनोपोली हुँदै हुँदैन । यदि त्यस्तो कसैले गर्छ भने त्यो म आफैं स्वीकार गर्दिनँ । जहाँसम्म कसले तोक्ने भन्ने सवाल छ, यो संघले गर्छ । उसले पनि निर्धारण नै भने गर्दैन । न्यूनतम सहमति मूल्य यति हो भनेर सार्वजनिक गरिदिएपछि त्यसैका आधारमा गर्नुपर्ने हुन्छ ।

पोल्ट्री क्षेत्रमा निराशा छाइरहेको छ । व्यवसायीहरूले आत्महत्यासम्मको बाटो रोजिरहेका छन् । यसको कारण के होला ? 

निराशा मात्र होइन, निराशाको बाजे, जिजुबाजे छ । यो नेचुरल हो । उद्योग बन्द गरौं भनेर आजै गर्न पनि सकिँदैन, खोलौं भन्न पनि सकिँदैन । प्राकृतिक रूपमा ‘ग्रोथ’ हुन समय लाग्छ । प्यारेन्ट खोरमा हालेको ७–८ महिनामा बल्ल अण्डा उत्पादन हुन थाल्छ । त्यसलाई २१ दिन मेसिनमा लगेर राख्नुपर्छ । बिक्रीका लागि बजार हुनुपर्छ ।

त्यसको एजम्सन त्यति लामो छ । अचानक बिक्री हुँदैन । त्यस्तो बेला प्रकृतिलाई रोक्न सकिन्न । कोभिड–१९ महामारीकै कुरा गरौं । त्यतिबेला लामो समय लकडाउन भयो । अण्डा बिक्री नै भएन, फ्याँक्नु प¥यो । यसबाट कति नोक्सानी भयो, हरहिसाब नै छैन । लकडाउन समाप्तपछि यसमा केही सुधार आएको थियो । पछि पोस्ट् कोभिडले फेरि असर पा¥यो । इकोनोमिक मुभमेन्ट निकै कम भयो । कतै निर्माण भएको छैन । मानिसको क्रय शक्ति नै क्षय भएको छ । बीचमा कुखुराको मासु भारतबाट आइदियो । दाना पनि चैट भयो ।

पोल्ट्रीमा देखिएको अहिलेको मन्दी कहिलेसम्म कायम होला ? 

अब यो अवस्था के हुन्छ भनेर आँकलन नै गर्न नसक्ने अवस्था म पुगेको छु ।