पेटसँग सम्बन्धित सामग्रीमा लाग्दै आएको कर घटाउनु पर्छ

रमेश बस्ताकोटी,सञ्चालक,अन्नपूर्ण भेट क्लिनिक एण्ड पेट सप
केनल व्यवसाय उद्योगका रूपमा विकास भएको छ । यो पेसामा आबद्ध भएर तरक्की गर्नेको संख्या उल्लेख्य छ । त्यसैमध्येका एक हुन्, रमेश बस्ताकोटी । अन्नपूर्ण पेस सपका सञ्चालक बस्ताकोटी झण्डै डेढ दशकदेखि यो पेसामा आबद्ध छन् । दाजुको प्रेरणाबाट यो क्षेत्रमा प्रवेश गरेका उनीसँग पेट व्यवसायको अवस्था, संघर्ष र समस्यालगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिकका प्रतिनिधिले गरेको कुराकानी :
केनल क्लबको व्यावसायिक यात्रा कहिलेबाट सुरु गर्नुभयो ?
केनल क्लबको व्यावसायिक यात्रा ०६६ सालदेखि थालेको हुँ । त्यसयता केनल क्लब तथा पेट व्यवसायमा निरन्तर छु ।
कसको प्रेरणाले यो व्यवसायमा लाग्नुभयो ?
पारिवारिक सदस्यकै प्रेरणाले यो व्यवसायमा लागेको हुँ । मेरो आफ्नै दाजु केनल व्यवसायमा आबद्ध हुनुहुन्थ्यो । नजिकैबाट उहाँको व्यवसाय देख्ने मौका पाएकाले होला, म पनि यसतर्फ आकर्षित भएँ । ०६३÷६४ सालमा भेटेरिनरी जेटिए पढ्न गएँ । त्यसपछि मेरो क्षेत्र यही हुनु पुग्यो । जसलाई आजसम्म निरन्तरता दिइरहेको छु ।
केनल क्षेत्र तथा समग्र पेट व्यवसायको बजार अवस्था कस्तो पाउनुभएको छ ?
अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा छ । यसको असर केनलमा मात्रै नभएर समग्र क्षेत्रमा परेको छ । आर्थिक मन्दीको प्रभावले कुनै पनि क्षेत्र माथि उठ्न सकेका छैनन् । यदि आर्थिक अवस्था सबल हुँदै जाने हो र मन्दीबा देशले मुक्ति पाउने हो भने यो क्षेत्रको व्यवसाय राम्रो हुने देखिन्छ ।
सबैजस्ता उद्योगले समस्याहरू झेलिरहेका हुन्छन् । यो क्षेत्रका समस्याचाहिँ के–के छन् ?
सबै सामान विदेशबाट आयात गर्नुपर्ने हाम्रो बाध्यता छ । यस्ता सामानमा सरकारले लगाउँदै आएको करको दर बढी छ । सरकार वा जिल्ला पशु सेवा कार्यालयको सिफारिस लिएर मात्रै घरपालुवा जनावरको दाना आयात गर्नुपर्ने प्रावधानले असुविधा भइरहेको छ । चाहेर पनि आवश्यक दाना उपलब्ध गराउन सकिएको छैन । यसले समग्र केनल व्यवसाय अप्ठ्यारोमा परेको छ ।
प्रसंग थोरै बदलौं । अहिले आममानिसमा कुकुरपालन गर्ने संस्कृति बढ्दो छ । नेपालीको रोजाइमा कुन जातका कुकुर पर्ने गरेका छन् ?
कुकुरलाई दुई वर्गमा विभाजन गर्ने गरिएको छ । एउटा, ठूलो र अर्को, सानो जातको । ठूला जातको कुकुर सामान्यतया सुरक्षा र सोखका लागि पालिने गरेको छ । साना जातका कुकुरचाहिँ
साथी (ठूला र साना दुवै) को रूपमा पाल्ने गरिएको छ । साना जातका कुकुर थोरै स्पेसमा पनि पाल्न सकिन्छ । त्यसैले पछिल्लो समय ठूला जातका भन्दा साना जातका कुकुरको माग बढी छ । यसमा अमेरियन, चिवावा, जापनिज स्पिछ, अप्सु, सिच्चुलगायत छन् ।
कुकुर उपचारमा दक्ष जनशक्तिको अभाव रहेको, सहज रूपमा औषधि तथा उपचार प्राप्त नहुने गरेको गुनासो सुनिन्छ । यो सत्य हो ?
मानिसमा प्रयोग हुने औषधिको व्यवसाय गर्न सम्बन्धित विषय पढेर मात्र पुग्दैन, औषधि पसल पनि दर्ता गर्नुपर्छ । अनुगमन तथा नियमनका लागि औषधि व्यवस्था विभागको स्थापना गरिएको छ । तर केनल व्यवसायको कुरा फरक छ । यो क्षेत्रमा न कुनै मापदण्ड छ न नियमन गर्ने निकाय नै छ । भेटेरिनरी अध्ययन गरेका दक्ष प्राविधिक र चिकित्सक मात्र नभएर अरू पनि यो पेसामा आबद्ध छन् । तपाईंले भनेजस्तै सबै कुकुरपालकले सही औषधि र उपचार समयमै पाएका छन् भन्ने विश्वास म आफैंलाई छैन ।
त्यसो त, उपचार गर्ने दक्ष चिकित्सक र प्राविधिक नभएका होइनन् । प्रशस्तै छन् । यस्ता प्राविधिककोमा जाने हो भने सही उपचार सेवा पाइन्छ । तर कुकुरपालक किसान आफैंले त्यसअघि कुकुरको उपचार गर्ने प्राविधिक जनशक्ति दक्ष हो÷होइनन् भनेर पहिचान भने गर्नुपर्छ ।
हामीकहाँ पशु चिकित्सक र प्राविधिकबीच लामो समयदेखि द्वन्द्व छ । एउटा प्राविधिकको हिसाबले म के भन्छु भने हामीले चिकित्सकको स्तरको सेवा प्रवाह गर्न सक्दैनौं । तर आफ्नो दक्षता र ल्याकतले भ्याएसम्मका उपचार गरेर नसकेका ‘केस’ डाक्टरकहाँ रिफर गर्ने गरेका छौँ । प्राविधिकहरू घरघर पुगेर सेवा दिए पनि चिकित्सकले सक्दैनन् । त्यसैले प्राविधिकलाई थप दक्ष बनाउनुपर्ने आवश्यकता भने छ ।
कुकुर पालकले के–के कुरामा ध्यान दिनुपर्ला ?
कुकुर पालनमा ध्यान दिनुपर्ने कुरा धेरै छन् । पहिलो कुरा, आफूले पालेपछि कुकुर पनि घरको एउटा सदस्य हो । यसलाई पालेर मात्र हुँदैन, समय पनि दिनुपर्छ । समय–समयमा खुवाउने, नुहाउने, कपाल कोरिदिने, स्याहारसुसार गरिदिने, दिसापिसाब गराउने, हिँडडुल गराउने, तालिम गराउनुपर्छ । हिँड्डुल गर्न र खेल्न खुला ठाउँ चाहिन्छ । ठूलो ठाउँ छ भने ठूलो जातका कुकुर पाल्नु उपयुक्त हुन्छ ।
कुकुर राख्ने तथा खेलाउने ठाउँ कम छ भने सानो जातका कुकुर पाल्दा राम्रो हुन्छ । तपाईंले पाल्न ल्याउन लागेको कुकुरको बच्चाले कम्तीमा ४५ दिन आमाको दूध खाएको हुनुपर्छ । चिसोले संक्रमण हुने भएकाले यसबाट जोगाउनु पर्छ । न्यानो बनाएर राख्ने, चिसो खाना नदिने, मनतातो खाना दिने, जुन पसलबाट कुकुर ल्याउनु भएको छ, त्यहीँका प्राविधिकहरूको सल्लाहअनुसारका खाना दिने, समय तालिकाअनुसार खोपहरू लगाउने, बच्चा कुकुरमा जुका पर्ने समस्या हुने हुनाले समय समयमा जुकाको औषधी खुवाउने गर्नुपर्छ ।
केनल व्यवसायलाई व्यवस्थित गराउन राज्यले के, कस्ता कुरामा ध्यान दिनुपर्छ ?
पहिलो, पेट व्यवसायसँग सम्बन्धित सामग्रीको आयातमा करको सीमा घटाउनुपर्छ । अनधिकृत रूपमा केनल तथा पेट सप खुलेका छन् । बजार अनुगमन र नियमन गरेर तिनलाई कानूनी दायरामा ल्याउनु पर्छ । दर्ता गर्न लगाउने, अभिमुखीकरणजस्ता कार्यक्रम राज्यले सञ्चालन गर्नुपर्छ । कुकुरको उपचारमा जाने प्राविधिक दक्ष हो÷होइन भनेर छुट्याउने काम पनि सरकारले गरिदिनुपर्छ ।
केनल तथा पेट व्यवसाय फगत व्यवसायीको मात्रै नभएर राज्यको पनि हो । यसलाई पहिचान गरी व्यावसायिक र व्यवस्थित गर्ने काम सरकारबाट हुनुपर्छ । सुरक्षा, मनोरञ्जन, जैविक विविधता, आर्थिक आयाम, पौराणिक तथा धार्मिक मूल्यमान्यता, सामाजिक मूल्यमान्यता, रीतिरिवाजसँग पनि कुकुरको घनिष्ठ सम्बन्ध छ । यो विषयलाई सरकारले वा नीतिनिर्माण तहमा रहेकाहरूले मनन गर्न आवश्यक छ । तब मात्रै केनल वा पेट व्यवसायले फस्टाउने र विस्तारित हुने अवसर पाउनेछन् ।