पोल्ट्रीको यात्रा:सिँढीदेखि दाना उद्योगसम्म

काठमाडौं । ललितपुरसहित देशका तीन जिल्लाका फार्ममा पाँच लाख कुखुरा हुर्किरहेका छन् । ह्याचरी उद्योगले सातामा एक लाख चल्ला उत्पादन गरिरहेका छन् भने दाना उद्योगले पनि उसैगरी उत्पादन बजार पठाइरहेका छन् । शून्य बिन्दुबाट व्यवसायमा हेलिएका व्यक्तिले पोल्ट्री उद्योगका सबै क्षेत्रमा सफलता हासिल गर्ने कुरा सायदै कल्पना गर्न सकिन्छ । यो सामान्य व्यवस्थापनले हुने कुरा पनि होइन । ३५ वर्षअघि ललितपुरस्थित चापागाउँको घरको छिँडीमा २०० ब्रोइलर र ३०० लियर्स कुखुरापालन गर्दा पोल्ट्रीका टाइकुन बलराम सञ्जेलले सपना त कोरलेका थिए तर यसलाई छिचोल्न सजिलो पक्कै थिएन । तर सञ्जेल सबै बाधा र अवरोध पन्छाएर यी सबै क्षेत्रमा सफल बनेका छन् ।
ललितपुर, काभ्रे र मकवानपुरका तीन जिल्लामा चार हजार कुखुरा पालिरहेका, ह्याचरी उद्योगबाट चल्ला उत्पादन गरिरहेका तथा कान्तिपुर फिडसँगै एबी प्यालेटबाट दाना उत्पादन गरिरहेका सञ्जेललाई हामीले सुरुमै सोध्यौं– यो सफलताको राज के हो ?
भेट टाइम्स मासिकको यो प्रश्नमा भूमिका नबाँधी उनले भने– हात हालेका काममा प्रत्यक्ष संलग्न हुनु ।
सञ्जेलका अनुसार, पोल्ट्री क्षेत्र अन्य जस्तो होइन, यसमा लगानी गर्ने व्यक्ति हरेक काममा प्रत्यक्ष संलग्न हुनुपर्छ । यसो नगर्ने आफ्ना साथी र चिनेका धेरै मानिस पेशाबाट पलायन भएको उनको भनाइ छ ।
‘मेरो कुखुरा फार्म, ह्याचरी र दाना उद्योगमा गरी ३०० कर्मचारी कार्यरत छन् । तिनका आ–आफ्नै जिम्मेवारी छन् । तर उनीहरूले जिम्मेवारी लिँदालिँदै पनि म हरेक कार्यमा इन्गेज हुने गरेको छु,’ उनले आफ्नो सफलताको खास भेद खोल्दै भने ।
पोल्ट्री यात्रा :सिँढीदेखि दाना उद्योगसम्म
२०४४ सालमा एसएलसी दिएर बसेका थिए, बलराम । अनायासै उनी कुखुरापालन गर्ने सोचमा पुगे । सुरुमा २०० ब्रोइलर र ३०० लियर्स कुखुरा खोरमा हालिएको थियो । व्यावसायिक कुखुरापालन भर्खर भित्रिएकाले अहिलेजस्तो खोरको चलन भने थिएन । घरको तल्लो तलाको छिडीलाई नै खोर बनाएर पालियो ।
कुखुरापालनले राम्रै मुनाफा दिँदै गयो । त्यसपछि खोरमा हाल्ने चल्लाको संख्या बढाउँदै लगे । केही सयबाट सुरु कुखुरापालन हजार हुँदै लाखसम्म पुगेको छ ।

कुखुरा पाल्न थालेपछि दाना खुवाउनुपर्ने भयो । दाना बजारबाट खरिद गरेर ल्याउनुपथ्र्यो । एउटै काममा नखुम्चिई आवश्यकता अनुसारका व्यवसाय गर्ने स्वभावका बलरामलाई लाग्यो कुखुरालाई खुवाउने दाना आफैं उत्पादन किन नगर्ने । त्यसपछि उनी हेलिए, दाना उत्पादनमा । ललितपुरको महालक्ष्मीस्थानमा सुरु गरिएको उक्त दाना उद्योगमा उनीसहित केही व्यवसायीको लगानी थियो । ०५२ सालमा कान्तिपुर फिड सञ्चालनमा आयो जुन अहिले पनि सञ्चालनमा छ । ०६२ मा ललितपुर ह्याचरी सुरु गरे । सञ्जेलका अनुसार यसले अहिले सातामा एक लाख चल्ला उत्पादन गरिरहेको छ । ०६६ मा अर्को सिद्धार्थ पेलेट फिड स्थापना गरियो । तर यो भने उनको मात्र नभएर साझेदारी लगानीको हो । चितवनको गीतानगरमा सञ्चालित एबी प्यालेट दाना उद्योग उनको पछिल्लो उद्योग हो । यसमा उनको आफ्नै परिवारको लगानी छ । यसबाट दुई थरी दाना उत्पादन गरिएकोमा माग राम्रो रहेको सञ्जेलले जानकारी दिए ।
आफन्त जति सबै पोल्ट्रीमा
पोल्ट्री क्षेत्रमा बलराम आफू मात्रै छैनन्, परिवारका सबै सदस्यलाई पनि यसैमा आबद्ध गराएका छन् । उनको श्रीमती, छोरा, छोरी, भतिजलगायत संयुक्त परिवारका सबै सदस्य यही पेसामा छन् । केहीअघि बलरामका छोरा धेरै युवाहरूको सपनाको देश अमेरिका व्यवस्थापन विषय अध्ययनका लागि गएका थिए । अध्ययन पूरा भएपछि उनका छोराले त्यही व्यवसाय गर्न चाहेका थिए । तर बलरामले छोरालाई स्वदेश नै फर्काए ।
‘विदेशमा काम गर्दा आफूलाई मात्र हुन्छ । देशमा काम गर्दा राष्ट्रलाई पनि हुन्छ भनेर अध्ययन सकाएर बसेका छोरालाई स्वदेश नै फर्काएँ । अहिले उसले व्यवस्थापन हेरिरहेको छ,’ उनले प्रसन्नता प्रकट गर्दै भने । बलरामको पारिवारिक सदस्य मात्र होइन, आफन्त, छरछिमेक र गाउँले पनि पोल्ट्री क्षेत्रमा रमाएका छन् । पोल्ट्री व्यवसायलाई आफ्नो गाउँ र जिल्लामा विस्तार गर्न पाउँदा निकै खुसी लागेको सञ्जेलले सुनाए ।
रोजगारी दिन पाउँदा सुखानुभूति
सञ्जेल शून्यबाट स्थापित व्यवसायी हुन् । प्रारम्भमा गरेका कठोर मिहिनेतको मात्रा अहिले कम भएको होला तर अहिले पनि जारी छ । उनी बिहान ४ बजेदेखि राति १० बजेसम्म निरन्तर व्यस्त हुन्छन् ।
त्यसो त, उनलाई यसरी काम गर्नुपर्ने बाध्यता नै भने छैन । किनभने, काम गर्ने कामदारको संख्या नै ३०० छ । यी कामदारमध्ये केहीका परिवारलाई नै उनले आफ्ना फार्म तथा उद्योगमा आवासीय सुविधा दिएका छन् । सञ्जेललाई सबैभन्दा खुसी यसमै लाग्छ । ‘रोजगारीका लागि विदेश जानबाट कम्तीमा ३०० जनालाई रोकेको छु । यसमा मलाई निकै सन्तोष छ,’ सञ्जेलले प्रशन्न मुद्रामा भने ।

बर्डंफ्लूले तहसनहस
पोल्ट्री व्यवसायमा जमेका बलरामले उत्तिकै आरोह, अवरोह र प्रतिकूलता पनि सामना गरेका छन् । नयाँ काम थाल्दा उनलाई सबैभन्दा बढी रिस्क भयो । सबैभन्दा ठूलो धक्काचाहिँ बर्डफ्लू महामारीका बेला खाएको बलराम सुनाउँछन् । ०७० मा बर्डफ्लू आउँदा ६० हजार कुखुरा रहेकोमा ४० हजार नष्ट गर्नुपरेको घटना सम्झँदा उनलाई अहिले पनि नमिठो लाग्छ ।
‘नयाँ काम थाल्दा र बर्डफ्लू आउँदा मलाई रिस्क भएको छ,’ उनले भने । बजारको असन्तुलन, बर्डफ्लू संक्रमण र यसका हल्ला आउँदा पोल्ट्री क्षेत्रले सधैं प्रतिकूलता सामना गर्नुपरेको बलरामको अनुभव छ ।
खुला सीमा टाउको दुःखाइ
नेपाल र भारतबीच खुला सीमा छ । यसकै फाइदा उठाउँदै भारतले आफ्नो देशमा मूल्य कम हुँदा चोर बाटो हुँदै चल्ला, कुखुरा तथा अण्डा नेपाल पठाइदिने गरेको छ । भारतीय किसानले अनुदानमा पाएर गरेका यी उत्पादन नेपाली बजारमा आउँदा कुखुरापालक किसान खुत्रुक्कै हुने गरेका छन् । बलराम सीमाबाट हुने चल्ला तथा कुखुराको तस्करीले नेपाली कुखुरापालक किसान लामो समयदेखि मर्कामा पर्दै आइरहेको बताउँछन् । वर्षौंअघिदेखिको यो समस्या अहिले पनि यथावत् रहेको सञ्जेलले गुनासो गरे ।
‘किसानलाई अनुदानलगायत कारणले भारतमा कुखुराको कष्ट अफ प्रोडक्सन नेपालको भन्दा कम छ । उनीहरूले आफ्ना यस्ता उत्पादन कम मूल्यमा नेपाली बजारमा पठाइदिने भएकाले उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीलाई निकै कठिन हुने गरेको छ,’ सञ्जेलले भने । सुरक्षाकर्मीलगायत राज्यका निकायलाई सञ्जेलजस्ता पोल्ट्री व्यवसायीले यो दुःख नबिसाएका होइनन् । तर उनीहरूबाट समेत यो मामलामा निरीहता प्रदर्शन हुने गरेको छ ।

कच्चा पदार्थको करले झन् सकस
नेपालको पोल्ट्री क्षेत्र आत्मनिर्भर हुँदैनथ्यो भने कुखुराको मासु, अण्डा र चल्लाका लागि मासिक अर्बौं रूपैयाँ विदेश जाने अवस्था हुन्थ्यो । तर सञ्जेलजस्ता उद्यमीहरूको अनवरत संघर्ष र प्रयत्नले पोल्ट्री क्षेत्र आत्मनिर्भर छ । विदेशबाट मासु ल्याएर नेपालीको भान्छामा पकाउनुपर्ने बाध्यता हल भएको वर्षौं भइसकेको छ ।
तर यति हुँदाहुँदै पनि दानाको कच्चा पदार्थ मकै र भट्मासको पिनामा भने नेपाल अझै आत्मनिर्भर हुन सकेको छैन । यसमा माग र पूर्तिबीच कति ठूलो खाडल छ भने नेपाली मकै र भट्मासका पिनाले दुई महिनालाई पुग्ने दाना मात्र उत्पादन गर्न पुग्छ ।

१० महिनाका लागि आवश्यक कच्चा पदार्थमा भने देश भारतमाथि निर्भर छ । तर भारतबाट ल्याइने दानाको कच्चा पदार्थमा लगाइएको चर्को करले लागत बढ्न गई दाना महँगो हुन पुगेको छ ।
सञ्जेल दानामा लगाइएको कर कुखुराको मासु महँगो हुनुको मुख्य जिम्मेवार रहेकाले यसलाई कम गर्नुपर्ने खाँचो औंल्याउँछन् ।
‘पोल्ट्रीमा १५० अर्ब लगानी भएको छ । हजारौँ मानिसले यो क्षेत्रमा रोजगारी पाएका छन् । जिडिपीमा झण्डै ४ प्रतिशतको योगदान दिन सकिएको छ,’ सञ्जेलले भने, ‘दुई वर्षअघि प्रधानमन्त्रीले देश पोल्ट्रीमा आत्मनिर्भर भयो भनेर घोषणा गर्नुभएको छ । यो त्यत्तिकै भएको होइन ।
कुखुरापालन गर्न सिकाउने सरकारी ह्याचरीदेखि निजी क्षेत्रसम्मको लामो र निरन्तरको त्याग, तपस्याबाट सम्भव भएको हो । सरकारले सिकाए पनि लगानी भने सबै निजी क्षेत्रको हो । यदि हामीले खुला सीमाको समस्या समाधान गर्न सकेनौं र उताको उत्पादन यसैगरी आइरहने हो भने अहिले प्राप्त सबै उपलब्धि त गुम्ने छ नै खर्बौंको मासुसमेत बाहिरबाट आयात गर्नुपर्ने छ ।’
परनिर्भर बन्न नपरोस् उत्पादकत्व बढाउन उनले अरु क्षेत्रमा पनि लगानी गर्ने सोच बनाएका छन् । सरकारले स्वदेशी उद्योग संरक्षण गर्ने पोलिसी बनाएका छन् । तर खुला बोर्डरले उत्पादन धराशयी हुने अवस्था रहेकाले सशंकित पनि छन् ।