काठमाडौं । पशु चिकित्सकहरूलाई दुई चरणमा दिने गरी यही माघ ९ गतेदेखि गाईभैंसीको गर्भ परीक्षण तथा पशु प्रजनन विकृति निवारणसम्बन्धी तालिम सुरु भएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, हरिहरभवन ललितपुरको सहयोग तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनको प्राविधिक सहयोगमा यही माघ ९ गतेदेखि तालिम सञ्चालन गरिएको हो ।
आयोजकका अनुसार, पहिलो चरणको तालिम ०७९ माघ १२ गते सम्पन्न हुनेछ भने दास्रो चरणको माघ १४ सम्म सञ्चालन हुनेछ ।
६० पशु चिकित्सक सहभागी हुने तालिममा अधिकृतस्तरीय तालिममा प्रदेशिक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल सरकारका पशु प्रजनन फार्म, नेपाल प्रहरी केनाइन शाखा, नेपाली सेना तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसमेतको उपस्थिति छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट कृषकको गोठसम्म पुगेर सेवा दिनसक्ने ३७ अत्याधुनिक प्रविधियुक्त मेसिन वितरण गरिएका निकायका ६० पशु चिकित्सक सहभागी हुने तालिममा गाईभैंसीको गर्भ परीक्षण, बाँझोपन निवारणलगायत विषयमा ज्ञान वितरण हुने आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा.केशव भट्टले जानकारी दिए ।
कृषि तथा पशु विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डिन प्रा.डा.होमबहादुर बस्नेत, त्रिभुवन विश्विद्यालयका प्रा. डा. कृष्ण काफ्ले, कृषि तथा वन विज्ञान विश्वविद्यालयका स्नातकोत्तर कार्यक्रम संयोजक नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका आयोजना निर्देशक डा.उमेश दाहाललगायतको उपस्थितिमा उद्घाटन गरिएको तालिम कार्यक्रमको पहिलो सत्रमा विभिन्न व्यक्तिले मन्तव्य राखेका थिए ।
कृषि तथा पशु विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मीले नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, प्रादेशिक कृषि मन्त्रालय र विश्वविद्यालयबीच सहकार्य र समन्वय गर्न सके प्रविधि हस्तान्तरण प्रभावकारी र सहज हुने बताए । प्रविधि हस्तान्तरणमा सहजीकरणका लागि विश्वविद्यालय तयार रहेको उक्त अवसरमा उनले जानकारी दिए ।
विकसित राष्ट्रहरुमा पशुहरुमा अल्ट्रासाउण्ड मेसिनको प्रयोग दशकौंदेखि भइरहेको र नेपालमा पनि यसको आवश्यकता बढेकाले तालिम आयोजना गरिएको आयोजनाका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत डा. प्रवेश शर्माले जानकारी दिए ।
Language »