पशुपन्छीपालनमा आहार महत्वपूर्ण मानिन्छ । आहार सन्तुलित हुँदा किसानले पशुपन्छीपालनबाट राम्रो लाभ लिन सक्छन् भने नहुँदा सोचेजस्तो उत्पादन नमिल्न सक्छ । यसैलाई मध्यनजर गरेर राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले किसानलाई विभिन्न सेवा दिँदै आएको छ । प्रयोगशालाका प्रमुख डा. सूर्यप्रसाद पौडेल पशुपन्छीपालनमा आबद्ध किसानका आहारासम्बन्धी समस्या समाधान गर्न लागिपरेको सुनाउँछन् । पौडेलसँग प्रयोगशालाको अवस्था, यसले प्रवाह गरिरहेको सेवा र सन्तुलित आहारलगायत विषयमा भेट टाइम्स मासिकका विष्णु पाण्डेयले गरेको संवाद :
यस प्रयोगशालाले किसानहरूलाई के कस्ता सेवाहरू प्रदान गर्नुभएको छ ?
प्रयोगशालाले जति पनि पशु आहार छन्, तिनमा प्रयोगहुने कच्चा एवं तयारी पदार्थको गुणस्तर परीक्षण गर्दै आइरहेको छ । कुनै किसानले दानालगायत पशुपन्छी आहारको गुणस्तरमा शंका लागेर परीक्षण निम्ति ल्याएको खण्डमा हामी त्यसको परीक्षण गरिदिन्छौं ।
प्रयोगशालाले अहिले परीक्षण गर्ने प्यारामिटरको संख्या १२ छन् । यसअन्तर्गत दानाको मोइस्चर, प्रोटिन, भिटामिन ‘ए’, ‘डी’, युरिया, क्याल्सियमलगायत पर्छन् । सेवाग्राहीले नमुना उपलब्ध गराएको सात दिनमा रिपोर्ट प्राप्त गर्न सक्छन् । रिपोर्टका लागि धाएर आइरहनु पर्दैन, इमेल, एसएमएसलगायत प्रविधिका माध्यमबाट पनि लिने व्यवस्था मिलाइएको छ ।
प्रयोगशालाबाट प्रवाह सेवा लिन कृषकले शुल्क तिर्नु पर्छ कि निःशुल्क प्राप्त गर्न सक्छन् ?
प्रयोगशालाबाट हामीले प्रवाह गर्ने सेवा लिन किसानले कुनै पनि शुल्क तिर्नु पर्दैन । अहिलेसम्म हाम्रा सबै सेवा निःशुल्क छन् । पछिल्लो समय आधुनिक प्रयोगशाला सेवा विस्तार भइरहेको छ । पशुपालनले पनि व्यावसायिकता पक्डिरहेको छ । विगतमा प्रयोगशाला परीक्षण गर्ने प्रचलन नरहे पनि अहिले बढेको छ । बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै हामीले विद्यमान निःशुल्क सेवा प्रवाहलाई थोरै परिमार्जन गर्दै शुल्क लिन प्रस्ताव गरेका छौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अघि बढाइएको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । तथापि, यसबारे अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।
यो सेवाप्रति किसानको आकर्षण कस्तो छ ?
पशुपन्छीपालनको बढ्दो संस्कृतिले यो सेवा लिनेको संख्या बढ्दै गएको छ । यो सेवा लिनेमा कुखुरापालन गर्ने किसानको संख्या बढी छ । यसको तुलनामा गाईभैंसीपालक किसानको आकर्षण भने कम छ । अनुसन्धानदाता पनि परीक्षणका लागि आउने गर्नुभएको छ ।
अहिले देशमा उत्पादित तथा वितरित पशु आहारको गुणस्तरको अवस्था कस्तो पाउनु भएको छ ?
अहिले पशु आहारको गुणस्तरको अवस्था मिश्रित छ । राम्रो पनि उत्पादन भइरहेका छन्, नराम्रो पनि । हाम्रो परीक्षणबाट मार्जिन बढी हुने दाना गुणस्तरहीन भेटिएका छन् । खासगरी, गाईभैंसीको दानामा धेरै समस्या देखिएका छन् । यस्ता दानामा युरिया, मोलासेस लगायत पदार्थ मिसाउने प्रवृत्ति छ । त्यसैले नियामक निकाय यसतर्फ अलि बढी गम्भीर हुनुपर्ने खाँचो छ ।
फिड सप्लिमेन्टको गुणस्तर अवस्थाचाहिँ कस्तो छ नि ?
फिड सप्लिमेन्टको आफ्नै स्ट्याण्डर्ड हुन्छ । तर हामीले निर्माण गर्न सकेका छैनौं । यसैलाई मध्यनजर गरेर औषधि व्यवस्था विभाग सम्मिलित कमिटी गठन गरेर काम भइरहेको छ । फिड सप्लिमेन्ट र तयारी फिड सप्लिमेन्ट जुन किसानले खरिद गरेर पशुलाई खुवाउँछन्, त्यसको हामी न्यूनतम स्ट्याण्डर्ड बनाउँदै छौं । गाईलाई खुवाउने क्याल्सियम फिड सप्लिमेन्ट हो भने त्यसको एक एमएलमा निश्चित क्लाल्यिस हुनुपर्छ । जसको मापदण्ड हामी तोक्दै छौं । अहिले बजारमा जाने हो भने एकदमै कम र अत्यधिक क्याल्सियम भएको फिड सप्लिमेन्ट पाउँछौं । यो थोरै र धेरै जति खुवाए पनि फाइदा गर्दैन । त्यसैले स्ट्याण्डर्ड तोक्नेतर्फ हामी लागेका छौं । स्ट्याण्डर्ड तोकिसकेपछि यसलाई घट÷बढ गर्ने अधिकार प्राविधिकलाई हुनसक्छ । डोज बढाएर उसले फिड सप्लिमेन्ट पशुलाई दिनसक्छ । तर धेरै खुवाउनुपर्नेमा हामी स्ट्याण्डर्ड तय गर्दैछौं । १२–१५ वटा भिटामिन र अन्य मिश्रित तत्व हामी तोक्दै छौं । यसतर्फ काम पनि भइरहेको छ । अबको एक महिनाभित्र यसको नतिजा पनि आउला ।
तपाईं नेतृत्वको प्रयोगशालाले पशु आहार व्यवस्थापनको काम गरिरहनु भएको छ । अहिले दाना तथा फिड सप्लिमेन्टमा स्वदेशी उत्पादनले नपुगेर विदेशमा निर्भर हुनु परेको छ । यसमा आत्मनिर्भर हुन केही योजना पनि बनाउनु भएको छ कि ?
यो गम्भीर प्रश्न हो । यो प्रयोगशालाले भन्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलगायतले ध्यान दिनुपर्ने अवस्था छ । नेपालमा दाना तथा फिड सप्लिमेन्ट उत्पादन गर्ने कारखाना छन् । ९–१० कारखाना त फिड सप्लिमेन्ट उत्पादन गर्ने मात्रै छन् ।
तर फिड सप्लिमेन्टका लागि आवश्यक कच्चा पदार्थमा हामी आत्मनिर्भर हुन सकेका छैनौं । विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । विदेशबाट कच्चा पदार्थ आयात गरेर उत्पादन गरे पनि विदेशी उत्पादनभन्दा यो सस्तो पर्छ । त्यसैले सरकारले यस्ता उद्योगको प्रवद्र्धन गर्नुपर्छ । प्रवद्र्धन गरेर मात्र पनि हुँदैन, नियमन पनि गर्नुपर्छ । गुणस्तर र प्रवद्र्धन दुवैको सन्तुलन कायम गर्न यो जरुरी छ । कुखराको दानामा प्रयोग हुने कच्चा पदार्थ मकै, भट्मास भारतबाट आयात हुँदा महँगो परिरहेको छ । भट्मासको उत्पादन बढाउन सोच्ने समय होला तर मकैको तत्काल वृद्धि गर्नुपर्ने खाँचो छ ।
तपाईंले यो कार्यालयको नेतृत्व सम्हालेपछि किसानलाई राहत हुने के–के कार्यक्रम ल्याउनुभयो ?
फिड सप्लिमेन्टको स्ट्याण्डर्ड नतोकिएकाले यसतर्फ काम भइरहेको छ । घाँसको बीउ उत्पादन योजना पनि छ । यसका लागि कृषि अनुसन्धान परिषद्अन्तर्गतको चरन तथा घाँसे बाली विकास कार्यक्रमको संयोजनमा काम भइरहेको छ । यो कार्यक्रम अघि बढाउन अहिले पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । आगामी चैत–वैशाखदेखि यसले प्याकेजमा घाँस उत्पादन गर्नेछ । फिड सप्लिमेन्टमा एप्रुभ्ड लिस्ट पनि बनाउँछौं । यसअन्तर्गत विभिन्न कम्पोनेन्टको लामो सूची तयार पार्दैछौं जसले त्यसभन्दा बाहिर जानबाट रोक्नेछ । प्रयोगशालालाई सबै हिसाबले अन्तर्राष्ट्रियस्तरको बनाउँदैछौं । यसमा पुग्न आइएसओ÷आइइसी १७०२५ प्राप्त गर्नुपर्ने हुन्छ । त्यसका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रयोगशाला सञ्चालनका लागि आवश्यक जनशक्तिलाई दक्ष बनाउन तालिम दिने तयारी गरिएको छ ।
व्यावसायिक पशुपन्छीपालनमा आहारको के महत्व हुन्छ र किसानले ध्यान दिनुपर्ने कुरा के–के हुन् ?
पशुपन्छीपालनमा आहारको अहं महत्व हुन्छ । तर हाम्रा नेपाली कृषकले यसतर्फ कमै ध्यान दिएको पाइन्छ । विशेषगरी गाईपालक कृषकमा यस्तो समस्या बढी देखिन्छ । यसको तुलनामा कुखुरापालक कृषकले भने सन्तुलित आहार खुवाउने गरेका छन् । कुखुरापालनले व्यावसायिकता पक्डिएको हुनाले पनि यसमा आबद्ध किसानमा सचेतना राम्रो पाइन्छ । गाईपालनमा आहाराको सन्तुलन नमिलाउँदा उत्पादन जति हुनुपर्ने हो, त्यो भइरहेको छैन ।
प्रजनन क्षमतामा ह्रास आइरहेको छ । १०–१२ बेत ब्याउने गाई उचित आहार नपाउँदा ५–६ बेत मात्र ब्याउने गरेको देखिन्छ । पशु आहाराबारे विभिन्न माध्यमबाट जानकारी लिन सकिन्छ । यससम्बन्धी विभिन्न मोबाइल एप छन्, त्यसबाट पनि कस्तो आहार, कसरी खुवाउनेलगायत जानकारी प्राप्त गर्न सकिन्छ । प्रयोगशाला किसानसँगै छ । हामी किसानसँग हातेमालो गरेर अघि बढ्न चाहन्छौं । म तपाईंमार्फत कृषकहरूलाई के भन्न चाहन्छु भने यदि तपाईंहरूसँग पशुपन्छी दानालगायत कुनै समस्या छन् भने सिधैं हाम्रो टेलिफोनमा सम्पर्क राख्नुहोला । प्रयोगशालाको आधिकारिक वेबसाइटको फिडब्याक अप्सनमा गएर पनि प्रतिक्रिया छाड्ने सुविधा छ ।
अहिले उत्पादित दानामा मिनरल (खनिज) को कमी देखिएको छ । यसको कमी भएमा गाईहरू बसेको बस्यै गर्ने समस्या हुन्छ । बाहिरबाट फिड सप्लिमेन्ट खरिद गर्दा महँगो पर्ने भएकाले सस्तो उपाय खोजी गर्नुपर्छ । यससम्बन्धी केही अन्योलता भएमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गरेर त्यसलाई मेटाउन सकिन्छ । त्यहाँबाट समाधान नभएको अवस्थामा प्रयोगशालामा पनि सम्पर्क गर्न सकिन्छ । हामी आमकिसानको पशु आहारालगायत आफ्नो कायक्षेत्र भित्र पर्ने सेवा प्रवाह गर्न हरदम तयार नै छौं ।
कुराकानी भिडियोमा हेर्नको लागी