दानामा छैन गुणस्तर ,नेतृत्वकर्ताकै दाना दूषित

डा. वंशी शर्मा / विष्णु पाण्डेय
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष (आ.व) ०७८/७९ मा नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरी स्वामित्वको सिद्धार्थ पेलेट फिड्स प्रालिको कुखुराको दुई दानाको नमुना संकलन गरेर गुणस्तर परीक्षण गर्यो । नतिजा संघलाई कुरीकुरी गर्ने खालको थियो । किनभने, दाना उद्योग क्षेत्रको वेथिति हटाएर व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने दायित्व काँधमा बोकेका मुख्य हर्ताकर्ताकै दाना दूषित पुष्टि भएको थियो ।
दाना दूषित भएको पुष्टिपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, हेटौंडाले गत असार २८ गते सिद्धार्थविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार, यसको फैसला आउन भने बाँकी छ । गत आ.वमा सगरमाथा पोल्ट्री फिड प्रोडक्स प्रालिविरुद्ध विभागमा उजुरी पर्यो । उजुरीमा सगरमाथाले उत्पादन गरेको गाईवस्तुको दाना गुणस्तरहीन परेको उल्लेख पछि विभागले गुणस्तर परीक्षण गरेको थियो । जसको नतिजामा उजुरीकर्ताले दाबी गरेजस्तै गुणस्तरहीन भेटियो ।
सिद्धार्थलाई जस्तै विभागले सगरमाथाविरुद्ध पनि अदालतमा मुद्दा दायर गरेको छ । ०७८ कात्तिक ३ गते सगरमाथालाई विपक्षी बनाएर मुद्दा दायर गरिए पनि अहिलेसम्म फैसला भने आएको छैन ।
गुणस्तरको अवस्था भयावह
कुखुरा तथा गाईवस्तुको दानाको गुणस्तर अवस्था प्रष्ट्याउन माथिका दुई उदाहरण पर्याप्त छन् । दाना उत्पादनका लागि मापदण्ड तय गरेर सरकारले नियामक निकाय खडा गरे पनि गुणस्तर अवस्था दयनीय छ । दाना तथा फिड सप्लिमेन्टको गुणस्तर हेर्ने दुई सरकारी निकायको तथ्यांकले पनि यस्तै देखाउँछ ।
दानाको गुणस्तर नियमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्षमा दानाको नमुना परीक्षण गरी जाँच गर्दा १६ को गुणस्तर फेल भएको छ । कतिसम्म भने गुणस्तर टेस्ट अनुत्तीर्ण हुनेमा एकै उद्योगका दुईभन्दा बढी उत्पादन छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्षमा गरेको नमुना परीक्षणका क्रममा नेपाल प्यालेट फिड इण्डष्ट्रिज, नुवाकोट, सागर पोल्ट्री फिड प्रोडक्स प्रालि, ग्लोबल एग्रो प्रोडक्स प्रालि, न्यू होप एग्रो बिजनेस प्रालि र वेल होप एग्रिटेक प्रालिका दाना दूषित र न्यून गुणस्तरको भएको पाइएको थियो । नेपाल प्यालेट फिड नेपाल दाना उद्योग संघका महासचिव केशव थापा स्वामित्वको हो भने ग्लोबल एग्रो प्रोडक्सका सञ्चालक नेपाल दाना उद्योग संघका कोषाध्यक्ष उमेश सापकोटा हुन् ।
वेल होपकै अर्को उत्पादन लेयर्स कुखुराको एल २ दाना र गाईभैंसीको दाना एल२ मा पनि दूषित पदार्थ फेला परेको छ । कोसी फिड प्रालि रामधुनी, पूर्वाञ्चल एग्रिटेक प्रालि, सुनसरीको ब्रोइलर दाना बी२मा दूषित दाना भेटिएपछि विभागले जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार, क्वालिटी फिड एण्ड कोल्ड स्टोर प्रालिका दुई दाना, जे.एम. दाना उद्योग बनेपा, एपोलो फिड्स प्रालि भरतपुर, अनमोल फिड प्रालि, भरतपुर र सिद्धार्थ पेलेट फिड हेटौंडाको दुई प्रकारका दाना पनि दूषित र गुणस्तरहीन पाइएका छन् । सिद्धार्थ पेलेट फिड नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरी स्वामित्वको हो भने अनमोल फिड संघकै उपाध्यक्ष शंकर कँडेलले सञ्चालन गर्दै आइरहेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी सूचना अधिकारी समीक्षा बञ्जाडे विभाग मातहतका कार्यालयले स्वअनुगमन, गुनासो र उजुरीका आधारमा अनुगमन गरी परीक्षण गर्दा गुणस्तरहीन भेटिएको खण्डमा कारबाहीका लागि प्रक्रिया सुरु गर्ने गरेको जानकारी दिइन् ।
राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाको तथ्यांक त अझै डरलाग्दो छ । प्रयोगशालाले स्वअनुगमन, उजुरी र गुनासाको आधारमा दानाको गुणस्तर परीक्षण गर्दै आएको छ । गत आर्थिक वर्षमा उसले विभिन्न उद्योगले उत्पादन गरेका १ हजार ६७५ प्रकारका दानाको नमुना संकलन गरी गुणस्तर परीक्षण गरेको थियो । विभागका अनुसार, यसमध्ये ३७९ दाना गुणस्तरहीन पुष्टि भएका छन् ।
प्रयोगशालाकी सूचना अधिकारी डा. नजुमा जोशी दानासँगै फिड सप्लिमेन्ट पनि उत्तिकै मात्रामा गुणस्तरहीन भेटिएको बताउँछिन् । उनका अनुसार, गत आर्थिक वर्षमा प्रयोगशालाले १८० फिड सप्लिमेन्टको नमुना संकलन गरी परीक्षण गरेकोमा ३९ प्रतिशत अर्थात् ७१ गुणस्तरहीन पाइएका छन् ।

नेतृत्वकर्ताकै दानामा छैन गुणस्तर
विश्वव्यापी मान्यता नै छ कि नेतृत्व सधैं आदर्श हुनुपर्छ । नेतृत्व सधैं अरूका लागि अनुकरणीय हुनुपर्छ भन्ने ठानिन्छ । हुन पनि, नेतृत्वले सधैं सही दिशा पक्डेर संगठनलाई चलायमान पारिरहेका हुन्छन् । तर दाना उद्योगीहरूको छाता संस्था दाना उद्योग संघबाट त्यस्तो अपेक्षा गरियो भने त्यो गलत हुनेछ । किनभने, यसका जिम्मेवार पदाधिकारीले नै बाटो बिराएर दूषित र गुणस्तरहीन दाना उपभोक्तालाई बिक्री गरिरहेका छन् । संघका एक पदाधिकारीको मात्र नभएर चार पदाधिकारीकै दानामा कैफियत भेटिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, संघका अध्यक्ष पुरी स्वामित्वको उद्योग सिद्धार्थ फेलेट फिड्सका दुई प्रकारका दानामा नै कुखुरालाई खुवाउन नहुने दूषित पदार्थ भेटिएका छन् । पुरीले दूषित दाना कृषकलाई बिक्री गरेको भेटिएपछि ती दाना बजारबाट फिर्ता गर्न निर्देशन गर्दै जिल्ला अदालत, मकवानपुरमा २८ असार ०७९ मा मुद्दा दायर गरेको विभागले सार्वजनिक गरेको सुचीमा आ.व. २०७८/७९ को वार्षिक अवधिमा विभागबाट दायर गरिएका मुद्दा सम्बन्धि विवरण उल्लेख भएको छ । सिद्धार्थ फेलेट फिड्स उद्योगले किसानमाथि गम्भीर घात् गरेको पाइएपछि अदालतसमक्ष कारबाही माग गर्दै मुद्दा दायर भएको छ ।
अध्यक्ष मात्र होइन, उपाध्यक्ष शंकर कँडेल स्वामित्वको अनमोल फिड्स् प्रालिले उत्पादन गरेको दाना पनि न्यून गुणस्तर पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, चितवनले दानाको नमुना संकलन गरी गरेको परीक्षणका क्रममा न्यून गुणस्तर पुष्टि भएको हो । गुणस्तर मापदण्ड पालना नगरेको भेटिएपछि कँडेल स्वामित्वको अनमोल फिड्समाथि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, चितवनमा १० जेठ ०७९ मा मुद्दा दायर गरिएको विभागकी सूचना अधिकारी बञ्जाडेले भेट टाइम्स मासिकलाई जानकारी दिइन् ।
महासचिव केशव थापा र कोषाध्यक्ष उपेश सापकोटाको उद्योगले पनि त्यसैगरी दूषित दाना उत्पादन गरेर बिक्री वितरण गरेको खुलेको छ । थापा स्वामित्वको नेपाल प्यालेट फिड इण्डष्ट्रिज, नुवाकोट र सापकोटाले सञ्चालन गरिरहेको ग्लोबल एग्रो प्रोडक्स प्रालिको दाना प्रयोगशाला परीक्षणका क्रममा दूषित पुष्टि भएको विभागले जनाएको छ । गुणस्तरहीन दाना बिक्री वितरण गरेर बदमासी गरेको भेटिएपछि खाद्य प्रविधि गुणस्तर नियन्त्रण कार्यालय नुवाकोट र खाद्य प्रविधि गुणस्तर नियन्त्रण कार्यालय, तनहुँले क्रमशः जिल्ला अदालत नुवाकोट र तनहुँमा मुद्दा दायर गरेका छन् । दुवैविरुद्ध १ भदौ ०७८ मा मुद्दा दायर गरिएको हो ।

दानाको उत्पादनलाई गुणस्तरीय र भरपर्दो बनाउन भूमिका खेल्नुपर्ने संघका जिम्मेवार पदाधिकारीको उद्योगले नै गुणस्तरहीन दाना उत्पादन गर्नु लज्जास्पद भएको बताउँछन्, नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेल । ‘नेतृत्वको व्यक्तित्व अरूले पछ्याउने किसिमको हुनुपर्छ,’ पौडेल भन्छन्, ‘दाना उद्योग संघका अध्यक्ष रवीन पुरीसहित जिम्मेवार पदाधिकारीको उद्योगले नै गुणस्तरीय दाना उत्पादन गरेर किसानलाई बिक्री गर्नु लज्जास्पद मात्र नभएर दुर्भाग्यपूर्ण पनि छ ।
नेपाल दाना उद्योग संघका अध्यक्ष पुरी नेपाली दाना उद्योगीले उत्पादन गरेको दानामा समस्या रहेको स्वीकार गर्छन् । तर उनी यो उद्योगीको नियतले भन्दा पनि कच्चा पदार्थको कारण हुन पुगेको दाबी गर्छन् । उनका अनुसार, भारतबाट आयातीतसँगै स्वदेशमा उत्पादित मकैलगायतका कच्चा पदार्थ गुणस्तरहीन भएकाले चाहँदाचाहँदै पनि गुणस्तरयुक्त दाना नेपाली दाना उद्योगले उत्पादन गर्न सकेका छैनन् । दानाको गुणस्तर मापन गर्ने तौरतरिकाले पनि विषयमा अतिरञ्जना थपेको उनको भनाइ छ ।
‘दाना गुणस्तरीय उत्पादन हुन त्यसमा प्रयोग हुने कच्चा पदार्थ नै गुणस्तरीय हुनुपर्छ,’ उनले भेट टाइम्स मासिकसँग भने, ‘तर भारत र स्वदेशभित्रै उत्पादित मकै गुणस्तरीय छैनन् । यसले दानाको गुणस्तरमा समस्या आइरहेको छ ।’
गुणस्तहीन दाना उत्पादन गरेकोसम्बन्धमा संघका महासचिव केशव थापासँग पनि भेट टाइम्स मासिकले सम्पर्क गरेको थियो । तर उनी मूल विषयतर्फ प्रवेश नै नगरी असहिष्णु र असामाजिक ढंगले प्रस्तुत भए । उनले भेट टाइम्स म्यागजिनलाई केही थान उपदेश बाँड्दै सामान्य विषयलाई पनि पहाड बनाइएको भन्दै यसो नगर्न चेतावनी नै दिए । ‘भेट टाइम्सले स–साना विषयलाई पनि ठूलो बनाउँछ । यो वाहियात छ,’ उनले धम्कीको भाषा प्रयोग गर्दै भने, ‘यसबारे राम्रैसँग सोच्नुपर्ने भएको छ ।’
जरिवाना तिरेपछि जे गर्न पनि छुट
दाना उद्योगीको यो बदमासीको भागिदार किसान बन्दै आएका छन् । उनीहरू पैसा तिरितिरी गुणस्तरहीन कुखुराको दाना खरिद गर्न विवश छन् । गुणस्तरमाथि नै सम्झौता गरेर बदमासी गर्ने दाना उद्योगीमाथि कडाभन्दा कडा कारबाही अपेक्षित छ । तर यस्ता दाना उद्योगीले पटकपटक गल्ती गर्दा पनि उन्मुक्ति पाउँदै आएका छन् ।
नेपालको प्रचलित कानूनका कारण गुणस्तरहीन वस्तु उत्पादन गर्ने दानालगायत उद्योगको मनोबल बढेको जानकारहरू बढाउँछन् । हुन पनि, कुनै पनि वस्तु गुणस्तरहीन पुष्टि भएमा त्यसलाई सीमित रकम जरिवाना गराएर बजारबाट फिर्ता गरे पुग्छ । गुणस्तरहीन वस्तु उत्पादन गर्दाको सजाय सामान्य भएकाले दानालगायत उद्योगले उस्तै कमजोरी निरन्तर दोहोर्याउँदै आएका छन् ।

 

झन् झन् बिग्रिँदै अवस्था
पशुपन्छीको दाना तथा फिड सप्लिमेन्टको गुणस्तर परीक्षण गर्ने कार्यक्षेत्र कृषि तथा पशुपन्छी मन्त्रालयत मातहतका दुई निकायसँग छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दानाको गुणस्तर परीक्षण गर्छ भने राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यावस्थापन प्रयोगशालासँग दाना र फिड सप्लिमेन्टलगायत सम्पूर्ण पशु आहारको गुणस्तर जाँच गर्ने अधिकार छ । विभागलाई कैफियत गरेका दाना उद्योगमाथि मुद्दा दायर गर्ने अधिकार भए पनि प्रयोगशालालाई भने यो अधिकार छैन । प्रयोगशालाका प्रमुख डा. सूर्यप्रसाद पौडेलले दाना पदार्थ ऐनले आफूहरूलाई मुद्दा दायर गर्ने अधिकार नदिएकाले सचेत बनाउने काम मात्र गर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार, दानामा बदमासी गरेका उद्योगलाई कच्चा पदार्थमा आयातमा रोक लगाउने काम पनि प्रयोगशालाले गर्ने गरेको छ ।
यी निकायले आफूलाई प्रत्यायोजित अधिकार प्रयोग गर्दै हरेक वर्ष गुणस्तर जाँच गर्ने गरेका छन् । यी निकायले आफ्नो कार्यक्षेत्रभित्र रहेर मुद्दा दायर गर्नेदेखि सचेत गराउनेसम्मका कार्य गर्दै आए पनि गुणस्तरहीन दाना उत्पादनको प्रवृत्तिमा पनि कुनै सुधार आएको छैन । प्रयोगशालाका अनुसार, नेपालमा उत्पादित दाना र आयातीत फिड सप्लिमेन्ट दुवैको गुणस्तर अघिल्ला वर्षको तुलनामा खस्किँदै गएको छ ।
एन्टिबायोटिक्स दाना बजारमा
दानामा ३६ प्रकारका कच्चा पदार्थ मिसाउनुपर्ने मान्यता छ । प्रयोगशालाले जारी गरेको कार्यविधिअनुसार, दानामा मकै, गहुँ, गहुँको चोकर, जहुँ, मेज ग्लुटेन, तोरीको पिना, धानको ढुटो, जुनेलो, जै, कागुनु, वनस्पति तेल र भट्मासको तेल, चनाको चुन्नी, भट्मासको पिना, तिलको पिना, बदामको पिना, आलसको पिना, राइस पोलिस र डिआयल्ड राइस पोलिस, डिआयल्ड सिल्कवर्म प्युपा र भट्मास मिसाएको हुनुपर्छ । त्यसैगरी, सूर्यमुखीको गेडा, ढुटोको पिना, सूर्यमुखीको पिना, सालसिडको पिना, कपासको गेडाको पिना, सिध्रा, हार्डको धुलो, मासुको धुलो, ब्लड मिल, चुन ढुंगाको धुलो, खुलो, कुखुराको सुली, जनावरको बोसो, सिपीको टुक्रा, चून, नुन र ब्रुअरी सहउत्पादन पनि हाल्नुपर्ने नियम छ ।
पशु स्वास्थ्य संगठनको मापदण्डअनुसार पशुपन्छीको दानामा एन्टिबायोटिक्स मिसाउन पाइँदैन । यसको गम्भीर असर मानव स्वास्थ्यसम्म पर्ने भएकाले संगठनले आफ्ना आंगीक राष्ट्रले यस्तो मापदण्ड अनिवार्य पालना गर्नुपर्ने थिति बसालेको हो । नेपाल पनि संगठनअन्तर्गतको एक राष्ट्र हो ।
त्यसैगरी, प्रयोगशालाको आयात, निर्यात सिफारिस समितिले ०७३ फागुन ११ गते औपचारिक निर्णय नै गरेर दाना तथा फिड सप्लिमेन्टमा एन्टिबायोटिक्स मिसाउन निषेध गरेको छ । सोही निर्णयमा टेकेर प्रयोगशालाले १० फागुन ०७३ मा सचिवस्तरीय निर्णयबाट आयात निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमतिसम्बन्धी कार्यविधि, २०७३ जारी गरेको छ । जसको दफा ७ को उपदफा २ (७) मा भनिएको छ– दानामा प्रयोग हुने एन्टिबायोटिक्स कुनै पनि प्रकारका ठोस तथा तरल फिड सप्लिमेन्टहरूलाई आयात सिफारिस गरिने छैन ।’ कार्यविधिमा यस्तो उल्लेख गरिएको भए पनि एन्टिबायोटिक्स मिसावट भएका फिड सप्लिमेन्टको आयात रोकिएको छैन । भेट टाइम्स मासिकले यसअघि नै भारतबाट नेपालमा बिक्रीका लागि गुणस्तरहीन फिड सप्लिमेन्ट पठाउने गरेको खुलासा गरिसकेको छ ।
अदालतको ढिलासुस्तीले हाइसञ्चो
दानाको गुणस्तर परीक्षण गर्ने कार्यक्षेत्र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र पशु सेवा विभागअन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाको हो । यी निकायले स्वनियमन, उजुरी र गुनासाका आधारमा तिनका उत्पादन परीक्षण गर्ने गरेका छन् । समय समयमा यी निकायले बजार अनुगमन पनि गर्ने गरेका छन् । कैफियत भेटिएको स्थितिमा दानाको नमुना संकलन गरी परीक्षण गर्ने र गुणस्तर मापदण्ड पालना नगरेको अवस्थामा कारबाहीका लागि अदालतमा मुद्दा दायर गर्ने गरिएको छ । यी दुई निकायले पछिल्लो दुई आर्थिक वर्षमा दर्जनौं दाना उद्योगविरुद्ध मुद्दा दायर गरेका छन् । तर अधिकांश मुद्दाको अन्तिम फैसला अहिलेसम्म आएको छैन । यसले बदमासी गर्ने दाना उद्योगलाई थप हाइसञ्चो भएको छ ।
दाना ऐनमा के छ ?
दाना पदार्थमा अवान्छनीय मिसावट रोक्न र दाना पदार्थमा रहेको कुनै स्वाभाविक गुण वा उपयोगिता घटाउन वा झिक्न नदिन सरकारले दाना ऐन जारी गरेको छ । ०३३ सालमा जारी ऐन पाँचौ पटक संशोधन भइसकेको छ । अन्तिम पटक ०७५ मा संविधानअनुकूल बनाउन यसमा केही प्रावधान समेटिएको थियो । ऐनमा दाना पदार्थ भन्नाले पशु, पंक्षी र माछाले खाने पिउने चीज वा चीजहरूका सम्मिश्रणबाट बनेको अरू कुनै खानेपिउने चीज सम्झनुपर्ने उल्लेख छ ।
ऐनमा यसरी उत्पादित दाना गुणस्तरीय हुनुपर्ने जनाइएको छ । निर्धारित गरिएको स्तरभन्दा कमसल हुनेगरी प्रमुख अंकको परिमाण घटाइएको वा अर्को कुनै पदार्थ सम्मिश्रण रिएको, पशुपन्छीलाई हानि हुने गरी सडेको, गलेको वा फोहोर मैला वा विषादि अवस्थामा राखिएको वा तयार गरिएको दानालाई दूषित भनेर परिभाषित गरिएको छ । केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशुपन्छी वा हानिकारक वनस्पतीबाट बनेको दानालाई पनि ऐनले दूषित मानेको छ । ऐनमा उल्लेख भएअनुसार ऐनअन्तर्गत बनेको वा जारी गरिएको वा नियम वा आदेशमा तोकिएको न्यूनतम आवश्यक गुणस्तरभन्दा घटेको वा अधिकतम गुणस्तर तोकिएकोमा सोभन्दा बढाएर उत्पादन गर्न हुँदैन ।
ऐनमा दूषित दाना पदार्थको उत्पादनसँगै बिक्री, वितरण, निकासी, पैठारी तथा सञ्चय गर्न मनाही गरिएको छ । ऐनको दफा ३ मा भनिएको छ– कुनै व्यक्तिले दूषित दाना पदार्थको उत्पादन, बिक्री वितरण, निकासी, पैठारी वा सञ्चय गर्न हुँदैन ।’ कुनै दाना पदार्थ दूषित हो भन्ने शंका लागेमा दाना जाँचकीले त्यस्तो दाना सिलबन्दी गरी त्यससलाई उत्पादकको जिम्मा लगाएर भरपाई गराउन सक्छ ।
रोक्का भएको दाना दूषित हो भन्ने अनुसन्धानशालाको परीक्षणबाट ठहर भएको खण्डमा दाना जाँचकीको आदेशले सो दाना पदार्थ जफत गर्न सकिने व्यवस्था छ ।
यस्तो दाना नष्ट गर्नुपर्ने प्रकृतिको भएको खण्डमा दाना उत्पादकले नै त्यसको खर्च व्यहोर्नुपर्ने ऐनमा प्रावधान छ । यो ऐनको उल्लंघन गरी दाना उत्पादन गर्ने व्यक्ति तथा उद्योगलाई २० हजार रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म जरिवाना गर्ने वा एक महिनादेखि एक वर्षसम्म कैद हुने व्यवस्था छ ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले कच्चा पदार्थका कारण गुणस्तरीय दाना उत्पादन गर्न नसकेको बताएका छन उनको अन्तर्वाताको पुर्ण विवरण पछि प्रकाशन गर्नेछौं–सम्पादक

-भेट टाइम्स मासिक २०७९ मंसिरबाट

कच्चा पदार्थका कारण गुणस्तरीय दाना उत्पादन गर्न सकिएन