२० को दशकमा देशमा कुखुरापालन व्यवसाय निकै कम हुन्थ्यो । यसलाई लक्षित गरेर खुलेका अन्य उद्योग पनि अहिलेजस्तो थिएन । दाना उद्योग त औंलामा गणना गर्न सकिने थिए । त्यसमध्ये एक थियो, स्टार पोल्ट्री । भीमदास प्रधान यो उद्योगको खाँबो गाड्ने व्यक्ति थिए । भीमदासले रोपेको यो उद्योगरूपी बिरुवा अहिले बढेर ठूलो वृक्ष बनेको छ । जसलाई अहिले उनका शालीन, भद्र, मृदुभाषीसँगै व्यवसायिक छविका छोरा इन्जिनियर लक्ष्मीदास मानन्धरले सिञ्चित गरी हराभरा पारिरहेका छन् ।
पोल्ट्री क्षेत्रमा अहिले अनेक समस्या देखिएका छन् । यसको दुष्प्रभाव लक्ष्मीदासले नेतृत्व गरेका उद्योगमा पनि परेका छन् । लक्ष्मीदासजस्ता उद्योगी समस्यामा परे पनि राज्यले भने सम्बोधन गरेको छैन । तैपनि, मानन्धरको राज्यसँग खासै आक्रोस छैन । उनले यति आग्रह गरे– हाम्रो व्यवसायमा देखिएका समस्या सम्बोधन गरेर राज्यले सहजीकरण गरिदिए हुन्थ्यो । मानन्धरले आफ्ना बाबुले थालेको व्यावसायिक उडानको पृष्ठभूमिसँगै इन्जिनियरिङ विषयमा आफूले हासिल गरेको उपलब्धि, आधा दशक बढीको प्राध्यापन, त्यसलाई चटक्कै छाडेर पारिवारिक व्यवसाय सम्हाल्नुपर्नाको कारण र त्यसक्रमका भोगेका भोगाइ आफ्नै शब्दमा यसरी सुनाए :
व्यवसायमा मेरो परिवार पहिलेदेखि नै आबद्ध थियो । मेरो पिता श्री हुनुहुन्छ, भीमदास मानन्धर । हाम्रो परिवारको व्यावसायिक उडान उहाँले नै सुरु गर्नुभएको थियो, ०२६ सालमा । काठमाडौंको बालाजु हाम्रो पुर्खौली थातथलो हो । त्यहीँ धान, मकै कुट्ने, तोरी पेल्ने मिल बुवाले स्थापना गर्नुभएको थियो । बुवाले एक दशक यो काम गर्नुभयो । त्यसपछि उहाँले बाटो मोड्नुभयो र ०३६ सालमा दाना उद्योग खोल्नुभयो । त्यो यस्तो समय थियो जतिबेला दाना उद्योगका पायोनियर पन्नालाल श्रेष्ठको रत्न फिड दाना उद्योगबाहेक अरू थिएनन् ।
बुवाले सुरुमा स्टार पोल्ट्री खोल्नुभयो । यसले कुखुराको मास दाना उत्पादन गथ्र्यो । त्यही स्टार पोल्ट्रीको विस्तारित रूप हो, स्टार फिड प्रोडक्सन प्रालि ।
०००
मैले अध्ययन गरेको विद्यालयको नाम सिद्धार्थ वनस्थली हो । यहीबाट म एसएलसी पास भएको हुँ । हामीले विद्यालय अध्ययन गर्ने बेला भोकेसनल विषय पढ्नुपथ्र्यो । विद्यार्थीले व्यावहारिक शिक्षा हासिल गरुन् भन्ने उद्देश्यले यो समेटिएको थियो । यसमा यही विषय पढ्नुपर्छ भन्ने थिएन, व्यावहारिक शिक्षा हासिल हुने जुनसुकै रोज्न सकिन्थ्यो ।