‘खाली भेटेरिनरी प्रमाणपत्र किसान र व्यवसायीलाई दिनु अपराध हो’

पशुपन्छी ढुवानीलाई व्यवस्थित गर्न सरकारले पशुपन्छी ढुवानी मापदण्ड, २०६४ जारी गरेको छ । मापदण्डमा पशु चिकित्सा परिषद्मा दर्ता पशु चिकित्सकले स–शरीर उपस्थित भई स्वस्थ र स्वच्छ भएको व्यहोराको प्रमाणपत्र जारी गर्नुपर्ने प्रावधान छ । तर पछिल्लो समय पशु चिकित्सकले जारी गर्ने भेटेरिनरी प्रमाणपत्र दुरूपयोगको क्रम ह्वात्तै बढेको छ । कतिपयले यस्ता प्रमाणपत्र लिलामीमै राखेका छन् भने केही सरकारी चिकित्सकले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर बिनापरीक्षण प्रमाणपत्र दिएको भेटिएको छ । कानून र आचारसंहिताविपरीतका यस्ता गतिविधि पशुपन्छी चिकित्सकबाट वर्षौंदेखि हुँदै आए पनि उचित कारबाहीको अभावमा यस्ता प्रवृत्ति निस्तेज हुन सकेको छैन । यसैसन्दर्भमा भेट टाइम्सका प्रतिनिधि विष्णु पाण्डेयले पशु चिकित्सा परिषद्का अध्यक्ष डा.बज्रकिशोर प्रसाद साहा लाई प्रमाणपत्र दुरूपयोगको घटना थाहा पाउनु भएको छ कि छैन भनेर सोधेका छन् : सम्पादक

 

  • पशुपन्छी ढुवानीका लागि पशु चिकित्सकले जारी गर्ने भेटेरिनरी प्रमाणपत्र परीक्षण नगरी हचुवाका भरमा बिक्री हुने गरेका विषय एकपछि अर्को बाहिर आइरहेका छन् । पशु चिकित्सा परिषद्ले यसबारे थाहा पाएको छ कि छैन ?

हामीले अहिले दुई किसिमका जानकारीहरू प्राप्त गरेका छौं । पहिलो, खाली भएको प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् । सबै विवरण भरिएका अर्कोखालका प्रमाणपत्र पनि फेला परेका छन् । यसमध्ये खाली प्रमाणपत्र दिनै मिल्दैन । यो त अपराध नै हो ।

यस्ता प्रमाणपत्र छपाइ र बिक्रीमा परिषद्को कुनै भूमिका हुँदैन । यो काम पहिले क्वारेन्टाइनलाई थियो भने अहिले नेपाल भेटेरिनरी एसोसिएसनलाई छ । उसैले छापेर दर्ता गर्दै चिकित्सकलाई बाँड्ने काम गर्छ ।

रह्यो कुरा पशु चिकित्सकको आचारसंहिताको । यसमा दुई÷तीन वटा कुरा छन् । यसले एकातिर पशु चिकित्सकको अधिकार सुनिश्चित गर्दै राइट टू ट्रिटमेन्ट (उपचार गर्ने अधिकार) उपलब्ध गराएको छ भने अर्कातिर कर्तव्य पनि स्मरण गराएको छ ।

पशु चिकित्सले उपचारका क्रममा भेटिएका तथ्यहरू यथार्थपरक ढंगले उपलब्ध गराउने तथा सार्वजनिक गर्ने गर्नुपर्छ । पशु चिकित्सकले लुकाएर कुनै पनि उपचार गर्नु हुँदैन । बरु उसले भविष्यमा के–के जोखिम र खतरा हुनसक्छ, त्यसको जानकारी पनि गराउनुपर्छ ।

हामीले जारी गरेको आचारसंहिता हेर्नुभयो भने यसमा त्यस्ता धेरै कुराहरू छन् । यसमै भेटेरिनरी प्रमाणपत्र जारी गर्दा ध्यानदिनुपर्ने प्रसंग पनि समेटिएको छ । सारमा भन्नुपर्दा लाइसेन्सप्राप्त भेटेरिनरी चिकित्सकले उपचारका क्रममा गर्नुपर्ने र गर्न नहुने काम यसमा प्रष्टसँग उल्लेख गरिएको छ । गर्नुपर्ने काम नगरेको खण्डमा त्यसलाई आचारसंहिता उल्लंघन भनेर बुझ्नुपर्छ ।

सबै त होइनन्, तर केही भेटेरिनरियनहरू उच्छृंखल गतिविधि गरिरहेका छन् । यस्ता गतिविधि गर्न कोहीलाई करकापले त कोहीलाई प्रलोभन (पैसा) ले प्रेरित गरिरहेको छ । नेपालमा माफियाहरूको कमी छैन । पशुपन्छी क्षेत्रमा पनि यस्ता माफिया छिरेका छन् ।

यसबारे हामीले एउटा अनुसन्धान पनि गरेका थियौं । त्यसबाट माफियाले २–३ वर्ष पुरानो भेटेरिनरी प्रमाणपत्र पनि जारी गर्ने गरेको पाइएको थियो । कतिसम्म भने मृत्यु भइसकेका पशुचिकित्सिकको नाममा समेत यस्ता प्रमाणपत्र जारी गरेको भेटियो ।

  • यहाँले भेटेरिनरी प्रमाणपत्र दुरूपयोगका दुई प्रवृत्ति औंल्याउनु भयो । यसतर्फ काउन्सिलले चाहिँ के गरिरहेको छ ?

यस्ता गतिविधि हुन नदिन काउन्सिल आफ्नो ठाउँबाट प्रयासरत छ । कानूनले दिएको अधिकार प्रयोग गरेर हामीले दोषी देखिएकालाई कारबाही पनि गरेका छौं । तिहारअघि मात्रै दुई पशु चिकित्सक निलम्बनमा परेका छन् । यसबाहेक ४–५ जनाका विषयमा परिषद्मा उजुरी परेको छ । तिनीहरूमाथि पनि परिषद्ले प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।

  • प्रमाणपत्र जारी गर्ने र अनुगमन गर्ने दुवै भेटेरिनरी चिकित्सक हुँदा कारबाही गर्न नैतिक अप्ठ्यारो परेको मतहरू पनि प्रकट हुने गरेका छन् नि ?

हामीले त त्यस्तो कुनै नैतिक दबाब महसुस गरेका छैनौं ।

  • चिकित्सकले चिकित्सकलाई के कारबाही गर्नु भन्ने कोणबाट दबाब आउने र परिषदल्ले पनि सफ्ट कर्नर राख्ने गरिएको चर्चा र दाबी सत्य होइनन् उसो भए ?

रजिष्ट्रारसहित ११ जना छौं परिषद्को बोर्डमा । कतिपय विषयमा मत बाझिन पनि सक्छ । त्यस्तो स्थितिमा हामीले जतातिर बुहमत हुन्छ, त्यसैअनुरूप निर्णय लिने गरेका छौं । गल्ती गर्ने चिकित्सकलाई छाड्दिनुहोस् भनेर हामीलाई कतैबाट दबाब आएको पनि छैन । र, हामीले कसैप्रति सहानुभूति राखेका पनि छैनौं । ऐन, कानूनले जे भन्छ, त्यहीअनुरूप काम गरिरहेका छौं ।

  • यहाँले भन्नुभयो कि धाकधम्की र डरत्रास देखाएर पनि भेटेरिनरी प्रमाणपत्र जारी गर्न चिकित्सकलाई बाध्य पारिने गरेको छ । यस्तो काम आखिर गर्दैछचाहिँ कसले ?

मैले माथि नै भनेँ नि यो देशमा विभिन्न वर्गका माफिया छन् । तिनका उद्देश्य अनेक हुन्छन् । आफ्ना दूषित मनसाय पूरा गर्न कतिपय ठाउँमा अद्यपि डर, त्रास र धाकधम्की दिने गरिएको छ ।

नेपालगञ्जको कोहलपुरको एउटा सानो उदाहरण । त्यहाँ नवलपरासीबाट गाईगोरु र बाख्रा ल्याउने गिरोह छ । यो समूह यति खतरनाक छ कि जसले पशु चिकित्सकले प्रमाणपत्रमा हस्ताक्षर गरिदिएन भने जे पनि गरिदिन सक्छ । विगतमा माओवादी आतंक थियो ।

उनीहरूले नियमविपरीतका गतिविधि गर्न हामीलाई दबाब दिन्थे । निर्देशन पालना नगर्ने सात जना चिकित्सकको त तिनले ज्यान नै लिए । डर, त्रास र धाक धक्कीको श्रृंखला माओवादी द्वन्द्व समाप्त भए पनि विद्यमान छ । त्यस्ता गिरोहले परिबन्धमा पारेर पशु चिकित्सकमार्फत जारी गराइएका कतिपय केस पनि हामीले फेला पारेका छौं ।

त्यसैले भेटेरिनरी प्रमाणपत्र दुरूपयोगका घटना बढ्नुको मूल कारण नियत र परिबन्ध हुन् । यसमा केही ‘गिभन’ छन् भने कतिपय अपराधका ।

चिकित्सकले कुनै अवस्थामा दिएको भेटेरिनरी प्रमाणपत्र अर्को अवस्थामा प्रयोग भएको पनि देखिन्छ । यो पनि अपराध नै हो । तर ठेली नै बिक्री गरेसरह भने होइन ।

नेपालका प्रहरीको काम असुल्ने हो । तपाईंले भेटेरिनरी प्रमाणपत्र देखाउनुस् या नदेखाउनुस्, उसले घुस लिने काम गरिरहन्छ । भेटेरिनरी प्रमाणपत्र उसका लागि अहिले असुली गर्ने माध्यम बनेको छ । भेटेरिनरी प्रमाणपत्र ल्याएन भने त उसको घुस बार्गेनिङ पावर अलि बढी हुन्छ । प्रहरी मात्र होइन, निजामती पेसामा लागेका अन्य कर्मचारीको नियत पनि लगभग यस्तै छ ।

भेटेरिनरी प्रमाणपत्र जारी गर्न व्यवहारिक कठिनाइ पनि उत्तिकै छन् । उदाहरणका लागि पोल्ट्री कै कुरा गरौं । कुखुरा तथा तिनका चल्ला राति–राति लोड हुन्छ । पशु चिकित्सकलाई गाडीबारे केही जानकारी हुँदैन, ह्याचरी अनुगमन मात्र गरिरहेको हुन्छ । १२ बजे राति एक÷एक चल्ला गणना गरेर कसैले पनि दिन सक्दैन ।

  • धाक, धम्की र डर–त्रास देखाएर भेटेरिनरी प्रमाणपत्र जारी गर्न लगाए भनेर उजुरी पनि आएका छन् कि ?

    १÷२ वटा यस्ताखालका उजुरी पनि आएका छन् ।

  • देशमा विधिको शासन छ । यसलाई कायम गर्न प्रहरी प्रशासनदेखि न्यायालयसम्म छन् । तिनलाई गुहारेर यस्ता आपराधिक समूहलाई तह लगाउन सकिन्थ्यो होला नि त ?

यसबारे गुनासो नगरेको होइन, गरेका छौं । तर तिनलाई नियन्त्रण गर्न सजिलो छैन । किनभने, तिनले राजनीतिक दलबाटै संरक्षण पाइरहेका छन् ।

  • भनेपछि, यस्ता समस्यामा परेका चिकित्सकलाई न्याय दिनेतर्फ काउन्सिलले कुनै काम नै गरेको छैन ?

पहिलो त, काउन्सिले डर, त्रास र धम्की पाएका चिकित्सकलाई न्याय दिने निकाय नै होइन । यस्ता गतिविधि गर्नेमाथि कारबाही गर्ने निकाय त अरू नै छन् नि ।

त्यो त हो । तर परिषद्ले यस्ता समस्यामा परेकालाई न्याय दिन समन्वयकारी भूमिका त निर्वाह गर्न सक्थ्यो नि होइन र ?

सकिन्छ, नसकिने होइन ।

  • भेटेरिनरी प्रमाणपत्र दुरूपयोगका घटना बढेको स्वीकार गर्दै यहाँले यसका कारणसमेत औंल्याउनुभयो । तर यसमा संलग्नमाथि कारबाहीचाहिँ निकै कम मात्रामा भएको पाइन्छ । सिंगो पेसालाई नै बदनाम गर्ने यस्ता पात्रमाथि कारबाही गर्न परिषद्ले किन खुट्टा कमाएको ?

यस्ता घटनामा काउन्सिलले गर्न सक्ने दुई काम छन् । पहिलो छ, प्रारम्भिक अनुसन्धान गर्ने । यसबाट दोषी प्रमाणित भएको खण्डमा हामीले स्पष्टीकरण सोध्ने गरेका छौं । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएमा वा नदिएमा निलम्वन गर्ने गरेका छौं । यो अवधिमा उसले कुनै पनि अभ्यास गर्न पाउँदैन । निलम्बनको समय सकिएपछि भने दुई हजार रूपैयाँ तिरेर ऊ त्यसबाट मुक्त भई अभ्यासमा फर्कन सक्छ ।

  • परिवन्धनमा परेर फसेकाको हकमा यो कारबाहीले सुध्रने मौका प्रदान गर्न सक्ला । तर नियत नै खराब भएकाले फेरि पनि यस्तै गतिविधि गरेर पेसाको बदनाम गरिरहन र जोखिम बढाउन सक्छ । तिनका लागि यो कारबाही अलि कम भएन र ?

यस्ता गतिविधि एक–दुई पटक गर्न सक्छ, तर तेस्रो पटक दोहो¥याएमा लाइसेन्स नै खारेज हुने व्यवस्था ऐनमा गरिएको छ । त्यसैले कसैलाई पनि सधैंभरि यस्तो गर्ने छुट छैन । पहिलो र दोस्रो पटक छुट पाए पनि तेस्रो पटक त्यस्ता गतिविधिले छुट पाउने अवस्था छैन । तर लाइसेन्स खोस्ने विशेष व्यवस्था छ । बोर्डका सबै सदस्यले सहमति जनाएको स्थितिमा मात्र लाइसेन्स खोस्न सकिने अवस्था छ ।

  • कतिपयले पुरानो ऐन समय सापेक्षिक नरहेको भनेर आलोचना गर्ने गरेका छन् । ऐनका यस्ता प्रावधानले संशोधनको माग गर्छन् कि गर्दैनन् ?

यो ऐन २५ वर्षअघि बनेको थियो । पशुपन्छी क्षेत्रमा यो अवधिमा धेरै बदलाव आएका छन् । यसर्थ ऐनलाई पनि परिवर्तन गर्नुपर्छ ।

  • भेटेरिनरी प्रमाणपत्र दुरूपयोगकै विषयमा कुरा गरौं । अहिले जे–जति समस्या देखिएका छन्, तिनको समाधान के हुन सक्ला ?

पशु सेवा विभागका महानिर्देशक (डिजी) सँग यस विषयमा मेरो कुराकानी भएको थियो । त्यसक्रममा उहाँसँग एउटा प्रस्ताव गरेको थिएँ, सर्टिफिकेसनलाई अनलाइन प्रणालीमा लैजाऔं । यसरी अनलाइनमार्फत जारी गर्दा जिपिएस लोकेसन्सँगै, वस्तु, गाडी र चिकित्सक लाइसेन्स नम्बरसहितको तस्बिर राख्ने व्यवस्था गर्न सकिन्छ ।

भरसक पशुपन्छी चिकित्सकले स–सशरीर उपस्थित भई परीक्षण गरेर भेटेरिनरी प्रमाणपत्र जारी गर्नुपर्ने हो । तर उसको भरपर्दो कुनै सहायक छ भने त्यसमार्फत पनि जारी गर्न दिनुपर्छ । जस्तो, कुनै चिकित्सक प्यूठानमा छ ।

यदि उसले रुकुमको खसी सर्टिफाइ गर्नुपर्यो भने ऊ त्यहाँ पुग्नुपर्छ । पहिलो त चिकित्सक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर जान पाउँदैन । गई हालेको खण्डमा पनि ऊ प्यूठानबाट रुकुम पुगेको खर्च जारी गरेको प्रमाणपत्रले उठ्दैन । कतिपय ठाउँमा प्रमोटेड चिकित्सक छन्, बढुवा हुँदै चिकित्सक बनेका । पद छ, हाकिम बन्न सक्छन्, विकासका काम गर्न सक्छन् तर भेटेरिनरी प्रमाणपत्र जारी गर्न सक्दैनन् ।

  • भेटेरिनरी प्रमाणपत्र दुरूपयोगका घटना पुराना हुन् । तथापि, पछिल्ला वर्षमा यो प्रवृत्ति थप बढिरहेको छ । यसको कारण के होला ?

यसमा दुई कुराले काम गरेको छ । यो काउन्सिलको नभएर मेरो व्यक्तिगत ठम्याइ हो । केही समयअघि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्, आयो । यसलाई लिएर पशु चिकित्सक र पारा भेटेरिनरियनहरू विभाजित भए । विवाद निकै चर्कियो । यो सिलसिलामा पारा भेटेरिनरियनहरूले अवकाश भइसकेका व्यक्तिले जारी गरेका ६÷७ वर्ष पुराना प्रमाणपत्र उत्खनन् गरेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिए । प्रमाणपत्र दुरूपयोगको बाढी आउनुको पहिलो कारण यही हो ।

पहिले विदेश खासगरी विदेशबाट ल्याइएका पशुपन्छीका हकमा मात्र स्वास्थ्य प्रमाणपत्र जारी हुन्थ्यो । देशभित्र पशुपन्छी ढुवानी गर्दा भेटेरिनरी प्रमाणपत्र चाहिने व्यवस्था थिएन । त्यस्ता प्रमाणपत्र क्वारेन्टाइनले मात्र जारी गर्न पाउँथे । बर्डफ्लू महामारीपछि आन्तरिक क्वारेन्टाइनको अवधारणा आयो । त्यसपछि, बल्ल दर्तावाल चिकित्सकलाई यो अधिकार दिइएको हो । त्यस्ता सर्टिफिकेट अहिले छापामा बढी आए ।

  • देशका कुनाकन्दरामा भेटेरिनरी प्रमाणपत्र जारी गर्ने अख्तियारप्राप्त दर्तावाल पशु चिकित्सक छैनन् । तपाईं आफैंले पनि यो व्यवस्था अलिक अव्यवहारिक भयो भनेर माथि उल्लेख गर्नुभएको थियो । यो व्यवस्था नै खारेज गरिदिए हुँदैन ?

मैले त पशु सेवा विभागका डिजी सा’वलाई यो हटाउन भनेको थिएँ । तर उहाँले यो प्रावधान नराख्नेबित्तिकै बर्डफ्लू जस्तै गरी अन्य रोग पनि देशव्यापी हुने भएकाले राख्नुपर्ने तर्क गर्नुभयो । वास्तवमा यो संवेदनशील विषय नै हो । यसको डर हामीलाई छ । अनलाइन प्रणालीमा लगेर व्यवस्थित गर्ने अर्को विकल्प पनि प्रस्ताव गरेको छु । मात्र अग्रगामी सोच राख्नुपर्छ, विकल्पहरू, समाधान त निस्किहाल्छ नि ।

  • अस्वस्थ र रोगी पशुपन्छी ढुवानी गर्दा पर्ने असरहरू कस्ता हुन्छन् ?

अस्वस्थ पशुपन्छी संक्रमित छन् भने तिनले मानसिदेखि सिंगो वस्तीको पशुपन्छीलाई संक्रमण सार्न सक्छन् । पिपिआर लागेको कुनै संक्रमित पशुले सिंगो गाउँका पशुलाई नै सखाप पार्न सक्छ । ढुवानी गरी ल्याइएका मर्न लागेका पशु मानिसले उपभोग गरेमा त्यो खानु र नखानुको कुनै अर्थ हुँदैन, किनकि त्यसमा पौष्टिकता नै हुँदैन ।

खोरेत र ब्रोसोलेसिस लागेको पशुको दूध खायो भने त्यो मानिसको शरीरमै प्रवेश गर्छ । ब्रेसोलेसिस भयो भने दुई महिनासम्म ट्रेटासाइकिलिन खानुपर्छ । खोरेतले मानिसको आवाज नै दबिन्छ । खोरेत लागेका पशुको त मासु मात्र होइन, दूधबाट पनि मानिसमा संक्रमण पुग्छ । दूधमार्फत खोरेत र बेसोलेसिसका संक्रमण मानिसमा प्रवेश गर्ने खतरा हुन्छ । तर अहिलेसम्म यसतर्फ राज्यको ध्यान जान सकेको छैन ।

  • भेटेरिनरी प्रमाणपत्र यति गम्भीर विषय छ । यसलाई व्यवस्थित गराउन अनलाइन प्रणालीका अतिरिक्त काउन्सिलले अरू के–के सोचेको छ ?

हाम्रोमा दुई थरी पशु चिकित्सक छन् । एउटा प्राइभेट र अर्को सरकारी । प्राइभेट पशु चिकित्सकले प्रमाणपत्र निःशुल्क वितरण गर्दैनन् । जाँचेर लिन्छन् कि नजाचेर, त्यो उसको नैतिकताको कुरा हो । रह्यो कुरा, सरकारी पशु चिकित्सकको । उनीहरूलाई त हामी छुनै सक्दैनौं । उनीहरूलाई निजामती सेवा नियमावली बमोजिम कारबाही हुन्छ । हामीले त यहाँबाट सिफारिस गरेर विभागलाई लेखिदिने मात्र हो ।

  • अन्तिममा, पशु चिकित्सकलाई के भन्नुहुन्छ ?

    पशु चिकित्सकका लागि परिषद्ले आचारसंहिता जारी गरेको छ । म सबै पशु चिकित्सकलाई त्यसको अक्षरशः पालना गरेर नैतिकवान् र इमान्दार बन्न अनुरोध गर्न चाहन्छु । पशु चिकित्सकले यस्ता काम गर्न हुँदैन जसबाट भोलि कारबाहीको तरबार झुण्डियोस् ।