आचारसंहिताविपरीत काम गर्ने दुई भेटेरिनरी चिकित्सक निलम्बित

काठमाडौं । आचारसंहिताविपरीत गतिविधि गर्ने दुई भेटेरिनरी चिकित्सकलाई नेपाल पशु चिकित्सा परिषद्ले निलम्बन गरेको छ ।

परिषद्को बिहीबार बसेको बैठकले डा. विशल बास्तोला र डा. नवराज चापागाईलाई पशु चिकित्सा व्यवसाय गर्न नपाउने गरी दुई महिनाका लागि निलम्बन गरेको हो ।

पशु चिकित्सकको आचारसंहिताविपरीत काम गरेको भन्दै दुवैविरुद्ध परिषद्मा उजुरी परेको थियो । त्यसैउपर थप छानबिन गर्न नेपाल पशु चिकित्सा परिषद् नियमावली, २०५७ को नियम २१ को उपनियम (१) बमोजिम निलम्बन गरिएको निमित्त रजिस्ट्रार डा. मनोजकुमार शाहीले जनाएका छन् ।

उनीहरूको निलम्बन दुई महिनाका लागि रहनेछ । यो अवधिमा उनीहरूले दर्तावाल पशु चिकित्सकका हैसियतले पशु चिकित्सा व्यवसाय गर्न नपाउने परिषद्द्वारा जारी सूचनामा उल्लेख छ ।

निलम्बनमा पर्ने बास्तोला तिनै चिकित्सक हुन् जसले चितवनमा बसेर रूपन्देहीको १३३ गोरु स्वस्थ रहेको व्यहोराको प्रमाणपत्र जारी गरेका थिए । यसबारे उतिबेलै भेटखबर डटकम र भेट टाइम्सले तथ्यसहित समाचार प्रकाशन गरेको थियो ।

पशुपन्छी ढुवानीका लागि जारी हुने भेटेरिनरी प्रमाणपत्रको दुरूपयोग बढेको छ । गत असोज ३० गते मात्रै भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा.रामप्रकाश प्रधानले ललितपुरमा बसेर हेटौंडामा यस्तो प्रमाणपत्र जारी गरेका थिए । उनीजस्तै गल्ती गर्ने दुई चिकित्सकलाई निलम्बन गरेको परिषद्ले प्रधानबारे भने कुनै कारबाही अघि बढाएको छैन ।

यो पनी हेर्नुहोस

नक्कली प्रमाणपत्र बनाएर गाईगोरु तस्करी, क्वारेन्टाइन समाउने, प्रहरी छाड्ने

डा.प्रधानको बदमासी : ललितपुरमा बसेर हेटौंडाको भेटेरिनरी प्रमाणपत्र जारी,चितवनबाट जारी प्रमाणपत्र पाण्डेको कि खनालको ?