काठमाडौं । पशुपन्छी ढुवानीका लागि प्रयोग हुने भेटेरिनरी प्रमाणपत्र अनधिकृत ढंगले जारी गरेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा. रामप्रकाश प्रधानलाई नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले उल्टै साथ दिएको छ । प्रधानसँग सम्बन्धित समाचार सेयर गरेका तथा उनीमाथि कारबाही माग राख्दै विज्ञप्ति जारी गरेका भेटेरिनरी अध्ययनरत विद्यार्थीलाई एनभिएका महासचिव अशेष भट्टराईले विरोधमा नलाग्न र सेयर गरेका सामग्री हटाउन दबाब दिएका हुन् ।
डा. प्रधानको कर्तुत सार्वजनिकपछि नेपाल भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन (हिकास्ट) ले पशु चिकित्सकको यो कार्यबाट सिंगो पेसाको बदनाम भएको भएको उल्लेख गर्दै कारबाही गर्न माग गरेको थियो । यससम्बन्धमा विज्ञप्ति नै जारे गरेर पशु सेवा विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बोधार्थ दिएका दिएका थिए । जसलाई विद्यार्थीहरूले संस्था र व्यक्तिगत फेसबुकमा सेयरसमेत गरेका थिए । तर ती सामग्री एकाएक फेसबुक पेजबाट डिलिट भएका छन् । एसोसिएसनको आधिकारिक फेसबुक पेजबाट मात्र नभई विद्यार्थीको पेजबाट समेत यस्ता सामग्री हटेका छन् ।
एकाएक यी सामग्री सामाजिक सञ्जालबाट हट्नुको कारणबारे राखिएको जिज्ञासामा हिकास्टका अध्यक्ष अविनाश ठाकुरले दबाबका कारण त्यसो गर्न बाध्य भएको स्वीकार गरे ।
उनले भने, ‘पोष्ट् नहटाए एनभिएको साथ सहयोग केही नरहने भनेर हाम्रो अभिभावक संस्था एनभिएको तर्फबाट फोन आयो । उहाँहरूबाटै यस्तो धम्की आएपछि त्यसलाई थेग्न सकेनौं र हटायौं ।’ भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन एनभिएको भातृ संगठन हो ।
पेसाको मर्यादा कायम गर्न वेथिति विरुद्ध बोले पनि एनभिएकै जिम्मेवार व्यक्तिबाट दबाब आउँदा दुःख लागेको उनले बताए ।
उनले धम्की दिने पदाधिकारीको बारेमा भने केही खुलाउन चाहेनन् । एसोसिएसनका एक विद्यार्थीका अनुसार अनधिकृत कार्य गर्ने डा. प्रधानको बचाउ गर्दै उनीविरुद्ध गतिविधि नगर्न दबाब दिने व्यक्ति एनभिएका महासचिव भट्टराई हुन् । ती विद्यार्थीका अनुसार, भट्टराईले एउटै पेसा व्यवसायमा भएका व्यक्तिले एकअर्काको विरोध गर्न नहुने भन्दै सेयर गरेका समाचार र विज्ञप्ति सामाजिक सञ्जालबाट हटाउन भनेका थिए ।
भट्टराईले प्रधानविरुद्ध सामाजिक सञ्जालमा सेयर गरिएका सामग्री हटाउन विद्यार्थी र तिनको संगठनका पदाधिकारीलाई आफूले दबाब दिएको सहर्ष स्वीकार गरे । उनले भने, ‘विद्याथीहरूको काम आफ्नो शैक्षिक गतिविधि गर्ने र त्यससँग सम्बन्धित समस्या उजागर गर्ने हो । यसविपरीत पशु चिकित्सा परिषद्, एनभिसीलगायत जिम्मेवार निकायको विषयमा चासो राख्दै समाचार तथा पत्र सेयर गरेकाले हटाउन भनिएको हो ।’ तर उनले भेटेरिनरी प्रमाणपत्र दुरूपयोगबारे सार्वजनिक विषयले एनभिए गम्भीर भएको बताए । उनका अनुसार, यसलाई मर्यादित र व्यवस्थित गर्न एनभिएले आफ्नो ठाउँबाट प्रयास गरिरहेको छ ।
यसले भट्टराईले विद्यार्थीलाई दिएको दबाब संस्थागत नै रहेको देखाएको छ ।