स्टुडेन्ट्स एसोसिएसनको चेतावनीपछि यूटर्न भयो हिकास्ट

राजन प्रसाई

काठमाडौं । हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेज एण्ड टेक्नोलोजी (हिकास्ट) ले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे यसअघि राखेको धारणा परिमार्जन गरेको छ ।

प्रतिनिधिसभाबाट पारित उक्त विधेयक एकपक्षीय र अवैज्ञानिक रहेको भन्दै नेपाल भेटेरिनरी एसोसिएसनलगायत पशु चिकित्सकले विरोध गरिरहेका बेला हिकास्ट भने पशु प्राविधिकको पक्षमा देखिएको थियो । पशु प्राविधिक सुरुदेखि नै विधेयकको पक्षमा देखिएका छन् । पशु चिकित्सकले विधेयक फिर्ता गराउन संघर्षका कार्यक्रम सार्वजनिक गरिरहँदा नेभ्लालगायत पशु प्राविधिकहरूको संगठन अर्को ध्रुवमा उभिएर विधेयकको प्रतिरक्षामा छन् ।

सुरुमा विधेयकको पक्षमा देखिएको हिकास्ट नेपाल भेटेरिनरी स्टुडेन्ट्सको चेतावनी पछि यसअघिको अडानबाट पछि हटेको छ । विद्यार्थी एसोसिएसनले बुधबार एक विज्ञप्ति जारी गर्दै हिकास्टका प्रधानाध्यापकले पशु प्राविधिकको पक्षमा उभिएर भेटेरिनरी पेसालाई नै गिज्याउने काम गरेको उल्लेख गर्दै प्रधानाध्यापक र प्रशासन शाखामा गरिएको तालाबन्दी अनिश्चितकालसम्म जारी राख्ने चेतावनी दिएको थियो ।

हिकास्टले बिहीबार विज्ञप्ति जारी गर्दै पशु चिकित्सा परिषदको परामर्शमा विधेयकलाई आवश्यक परिमार्जन गर्न सरकारसमक्ष माग गरेको छ । साथै उसले पशु चिकित्सातर्फका जनशक्तिको हक, अधिकार र कर्तव्य स्थापित गर्ने सवालमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।