संघर्षमा उत्रियो एनभिए, सेवा बन्दलगायतका विरोध कार्यक्रम गर्दै

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक एकपक्षीय ढंगले प्रतिनिधिसभाबाट पारित गरिएको भन्दै नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) संघर्षमा उत्रिएको छ । उसले कालोपट्टी बाँध्नेदेखि उपचार सेवा बन्द गर्नेसम्मको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

देशभरका दर्तावाल पशु चिकित्सकका माग बेवास्ता गरेर विधेयक पारित गरिएकाले त्यसको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको एनभिएका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार, बुधबारदेखि नै विभिन्न संघर्षका कार्यक्रम सुरु हुँदैेछन् । पहिलो दिन आज कार्यस्थलमा कालोपट्टी बाँधेर पारित विधेयकप्रति विरोध जनाउने कर्यक्रम छ । भदौ २ गते पशु चिकित्सकले कार्यस्थलमा पेन र कामकाज बन्द तथा भदौ ३,४ र ५ गते अत्यावश्यकबाहेकका उपचार सेवा बन्द गर्नेछन् ।

भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइिभिटी र शिक्षा विभागअन्तगर्तका स्कुलहरूमा अनिश्चितकालीन अध्ययन अध्यापन बन्द हुने एनभिएद्वारा जारी विरोध कार्यक्रममा उल्लेख छ । १ दिने चल्लाबाहेकको पशुपन्छी स्वास्थ्य प्रमाणपत्र पनि अब जारी हुनेछैन ।
श्रेष्ठका अनुसार, भदौ ६ गते काठमाडौंकेन्द्रित भेला र ७ गते काठमाडौंमै विशेष साधारणसभा गर्ने तय भएको छ ।

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक संसदीय समितिमा पेस गरेदेखि नै एनभिएले एकपक्षीय र अपुरो रहेको भन्दै त्यसलाई करेक्सन गर्न माग गर्दै आएको थियो । तर पशु चिकित्सकको चासो सम्बोधन नगरी गत साउन २२ गते प्रतिनिधिसभामा पेस भएको थियो । प्रतिनिधिसभाका केही सांसदले विधेयकप्रति असहमति दर्ज गर्दै सच्याउन माग गरेका थिए । तर विधेयक बहुमतले पारित भएको छ । विधेयक राष्ट्रियसभाबाट पारित हुन भने बाँकी छ । एनभिएले आफ्ना माग सम्बोधन गरेर विधेयक पारित गर्न राष्ट्रियसभालाई आग्रह समेत गरेको छ ।