के हो अफ्रिकन स्वाइन फिभर, कसरी जोगिने ?

अफ्रिकन स्वाइन फिभर एक प्रकारको विषाणूका कारण सुंगुर, बँगुर तथा बँदेलमा देखापर्ने अति खतरनाक महामारीजन्य सरुवा रोग हो । यो रोग घरपालुवा तथा जंगली सुंगुर जातिबाहेक किर्नामा समेत पहिचान गरिएको छ । यो रोग लाग्दा बिरामीदर र मृत्युदर अत्यधिक हुने हुँदा यो रोगलाई सुंगुर जातिको हैजाको रूरुपमा समेत लिइन्छ । विगतमा अफ्रिकी महादेशमा मात्र सीमित यो रोग सन् २०१८ मा चीनमा देखापरेपश्चात् क्रमशः आसियान क्षेत्रका मुलुक हुँदै हाम्रा छिमेकी देश चीन, भारत र भुटानमा समेत देखापरिसकेको थियो ।

नेपालमा यो रोग भित्रिन नदिन सीमा नाकामा कार्यरत क्वारेन्टाइनलाई सतर्क अवस्थामा राखी देशभित्र रोगको सर्भिलेन्सलाई नियमित राखिएको थियो । यसैक्रममा काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखिएको र सो क्षेत्रबाट ०७८ सालको चैत्र महिनाको अन्तिम सप्ताह नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग भएको प्रारम्भिक नतिजा प्राप्त भएको थियो ।

नेपालमा पहिलोपटक रोगको संक्रमणको आशंका भएकोले रोगको थप पुष्टि गर्न विश्व पशु स्वास्थ्य सङ्गठको अस्ट्रेलियास्थित मान्यता प्राप्त प्रयोगशालामा थप परीक्षणका लागि नमुना पठाइएकोमा सो प्रयोगशालाबाट मिति ०७९ साल जेठ २ गते अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको प्रयोगशाला प्रतिवेदन प्राप्त भएको थियो र तत्कालै पशु सेवा विभागले सो रोगसम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेको अवस्था छ ।

यस रोगको संक्रमणबाट हालसम्म काठमाडौं (कागेश्वरी मनहरा, कीर्तिपुर,चन्द्रागिरि, टोखा र दक्षिणकाली), ललितपुर (गोदावरी र महालक्ष्मी), भक्तपुर (सूर्यविनायक र चाँगुनारायण) र काभ्रेको (पाँचखाल) मा गरी जम्मा ३ हजार ७ सय ७० वटा सुंगुर तथा बंगुरको मृत्यु भई सकेको छ ।

डा.मुकुल उपाध्याय

बिरामी पशुहरूमा देखिने लक्षणहरू
संक्रमित पशुहरूमा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फारेनहाइट), छाला (कान, पुच्छर, पेटको तल्लो भाग, खुट्टा) रातो हुने, शरीर निलो हुने, खान मन नगर्ने, छटपटाउने, चाल धरमराउने, बान्ता गर्ने, छेर्ने, तुहिने र बथानमा एकैपटक ठूलो संख्यामा सुंगुर, बँगुर
तथा बँदेलहरू मर्नेजस्ता लक्षण देखापर्दछन् । यस किसिमका कुनै पनि लक्षण देखापरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित कुनै पनि निकायमा खबर गर्नु पर्दछ ।

यो रोग पशुबाट मानिसमा सर्दैन ।
रोगको रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ ?
यो रोगविरुद्ध हालसम्म विश्व बजारमा कुनै पनि खोप उपलब्ध नभएकाले प्रभावकारी उपचार नहुने हुँदा सर्तकता नअपनाइएमा ठूला आर्थिक क्षति गराउन सक्छ । त्यसैले कुनै स्थानमा अस्वाभाविक रूपमा बंगुर मरेमा वा लक्षण देखापरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा खबर गर्नु पर्दछ ।

रोग नियन्त्रण तथा राहतका लागि गर्नुपर्ने काम
विभिन्न देशमा आ-आफ्नै किसिमले यस रोगलाई नियन्त्रण गर्न प्रयास गरेको देखिन्छ । अति विकसित मुलुकहरुले रोग देख्नासाथ सो क्षेत्रमा ३ देखि ५ किलोमिटर क्षेत्रभित्रका सबै बंगुर प्रजाति मानवीय तरिकाले नष्ट गरी सुरक्षित तवरले गाड्ने गरेका छन । यसका साथै कृषकहरूलाई राहत वितरण गर्ने गरिएका प्रशस्त उदाहरण छन् ।
कतिपय मुलुकहरूमा कृषकलाई राहत दिन संघ र प्रदेशले संयुक्त रूपमा बास्केट फण्डको व्यवस्था पनि मिलाएका छन । रोग अन्यत्र फैलिन नदिनको लागि मानिस तथा पशुहरूको आवतजावतमा रोक लगाउने समेतका क्रियाकलाप समेटेर यस रोगको नियन्त्रणको लागि विश्वका धेरै देशहरू क्रियाशील देखिएका छन । घरपालुवा बंगुर प्रजातिबाट जंगली बँदेलमा सर्नसक्ने भएकाले वन्यजन्तु आरक्ष क्षेत्रसँग विशेष समन्वय रोग नियन्त्रणका विशेष कदमहरू चालिएका छन् । जसमा रोगको सर्भिलेन्स, आरक्ष क्षेत्रको फेन्सिङ्ग, आरक्ष क्षेत्र वरिपरि गहिरो खाडल वा नाला खन्ने, विषाणू मार्न प्रभावकारी निसंक्रमणका औषधिहरूको प्रयोग गर्ने समेतका कार्यहरू अवलम्बन गर्ने गरेका छन् ।
हालसम्म नेपाल सरकारसँग यस रोगका कारण क्षति भएका कृषकलाई राहत दिने व्यवस्था छैन । पशु सेवा विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग छलफल गरी रोग नियन्त्रण र राहतका लागि आवश्यक कानूनी दस्तावेजहरू तयार गरिरहेको छ ।

संक्रमण पुष्टिपछि अपनाउनुपर्ने सतर्कता

  • रोगी बंगुर वा त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका दानालगायतका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलन सक्ने भएकोले ओसारपसारमा विशेष सतर्कता अपनाउनु पर्छ । भरसक रोग फैलिरहेको अवस्थामा यस किसिमका क्रियाकलाप गर्नु हुँदैन ।

  • फार्ममा जैविक सुरक्षाका विधिहरूको अवलम्बन गर्ने ।

  • बंगुर पालिएको खोरमा नियमित सरसफाइ गरी निःसंक्रमण गर्ने ।

    रोगको शंका लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने ।

  • शंकास्पद पशुको नमुना प्रयोगशाला परीक्षण गराउने र रोग प्रमाणित भएमा सो खोरमा रहेका पशुलाई मानवीयतवरले नष्ट गर्ने ।

  • मरेको पशुलाई राम्रोसँग खाडलमा गाड्ने वा जलाउने ।

  • घरपालुवा सुँगुर बँगुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने ।

  • सुँगुर, बँगुर तथा बँदेललाई होटेल रेष्टुरेन्टबाट निस्कने फोहोर खानेकुरा खुवाउने गरिएमा रोगी पशुको मासु हड्डीसमेत मिसिन सक्ने र यसबाट स्वस्थ फार्ममा संक्रमण फैलन सक्ने उच्च जोखिम रहने हुँदा यस्ता खानेकुरा नखुवाउने ।

  • खोरमा प्रवेश गर्ने स्थानमा चुना हाल्ने ।

  • फार्म परिसरमा चुना, ब्लिचिंग पाउडर, फर्मालिनजस्ता सामग्री प्रयोग गरी निःसंक्रमण गर्ने ।
– डा.मुकुल उपाध्याय