अफ्रिकन स्वाइन फिभर सबैभन्दा पहिले अफ्रिका महादेशमा देखापरेको थियो । लामो समय अफ्रिकामा मात्र सीमित यो रोग चीन, एसियन क्षेत्रका मुलुक भारत र भुटान हुँदै नेपालमा समेत पुष्टि भएको छ । पशु चिकित्सकका अनुसार, बंगुर तथा सुंगुरमा देखापर्दै आइरहेको यो रोग यो रोग एक किसिमको टाइफाइड हो । यो बंगुरमा देखिए पनि मानिसमा भने सर्दैन । बरु, मानिसबाट पशुमा सर्नसक्छ । नेपालमा पहिलोपटक यो रोग देखापरेपछि बंगुरपालक किसान चिन्तित बनेका छन् । यसैसन्दर्भमा भेट टाइम्सका लागि विष्णु पाण्डेयले नेपालमा बंगुरपालनको अवस्था र अफ्रिकन स्वाइन फिभरको प्रभावमाथि केन्द्रित रहेर बंगुरपालन व्यवसायी संघका महासचिवासँग गरेको कुराकानीको सम्पादित अंश :
अफ्रिकन स्वाइन फिभरको प्रभाव बंगुपालनमा कस्तो परिरहेको छ ?
अफ्रिकन स्वाइन फिभरबारे जब हामीले थाहा पायौं, तत्कालै पशु सेवा विभागमा गएर सचेतना कार्यक्रम राखिदिन आग्रह गर्यौं । सँगै अवैध पैठारी रोक्न पनि भनेका थियौं । मिट प्रोसेसर र पशु वधशालाको मासुको नमुना संकलन गरेर परीक्षण गर्न पनि हामीले सुझाएका थियौं । त्यसो गर्दा कमजोरी थाहा हुन्थ्यो र संलग्नलाई कारबाहीको दायरामा ल्याउन सकिन्थ्यो । यसो गर्दा उताको फ्लो रोकिने र यताको थोरै नोक्सानी हुन्थ्यो । तथापि, हामी पुनः माथि उठ्न सक्थ्यौं । तर राज्यले स्रोत, साधन छैन भनेर बहानाबाजी गरिदियो ।
नेपालमा यो रोग भित्रिनुको कारणचाहिँ के होलाजस्तो लाग्छ ?
यो रोगको संक्रमण अहिले काठमाडौं उपत्यकाभित्र मात्र छ, बाहिर पुगेको छैन । यसको मुख्य कारण भारतबाट ल्याइएको बंगुर हो । त्यो कसरी हो भन्ने कारण म अब बताउँछु । भारतबाट नेपालमा ज्युँदो बंगुर नभएर त्यसको मासु आउँछ । यहाँ आइसकेपछि त्यसलाई प्रोसेस गरिन्छ । यसरी प्रोसेस गर्दा मासुबाट वेस्टेजहरू निस्किन्छ । यसरी निस्किएका वेस्टेजहरू फाल्नुपर्ने हो । तर त्यसको कुशल व्यवस्थापन नगरी फार्ममा लगेर खुवाइयो । अफ्रिकन स्वाइन फिभर यही कारण फैलियो भन्ने हाम्रो मुख्य आशंका छ ।
अफ्रिकन स्वाइन फिभरपछि उपभोक्ताहरू त्रस्त छन् । उहाँहरूलाई तपाईंको सुझाव के छ ?
अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थाहा पाएपछि हामी पशु सेवा विभाग गएका थियौं । विभागमा हामीले यो के गर्दा सर्छ, यस्तो बेला मासु खान हुन्छ कि हुँदैन, हुन्छ भने के-के गर्नुपर्छ ? यसबारे पूणर् सूचना जारी गरिदिनुहोस् भनेर आग्रह गरेका थियौं । विभागले यी विषय प्रष्ट हुनेगरी सूचना पनि जारी गरेको छ । कुन ठाउँबाट म्यानुपुलेट भएर गयो कि के भयो, थाहा छैन । तर मानिसमा स्वाइन फिभरभन्दा पनि स्वाइन फ्लू हो भन्ने भ्रम व्याप्त छ । जसका कारणले केही दिनदेखि बंगुरको मासुको बिक्री ठप्प छ । सबैभन्दा गलत सूचना कान्तिपुर दैनिकबाट फैलिएको छ । उसले एकातिर बंगुर र अर्कोतिर मान्छेको टाउको राखेर बंगुरको श्वासबाट मान्छेमा सर्ने सन्देश प्रवाह गरेको छ । यो गलत छ । फिभर भनेको बंगुरमा लाग्ने एक किसिमको टाइफाइडजस्तै ज्वरो हो । यो बंगुरबाट मान्छेमा सर्दैन । बरू बंगुरमा सार्नमा मान्छेको भूमिका हुन्छ । संक्रमित बंगुर भएको स्थानमा लगाएको कपडामा अर्को स्थानमा पुग्यो भने यसबाट यो रोग फैलन सक्छ । अफ्रिकन स्वाइन फिभर सर्ने माध्यम मानिस भए पनि बंगुरबाट मानिसमा भने सर्दैन । राम्ररी पकाएर खाँदा मानिसमा अफ्रिकन स्वाइन फिभर सर्दैन । अहिले बंगुरको मासु खान डराउनु पर्दैन तर यसो भन्दैमा संक्रमित मासु बिक्री भने गर्नु हुँदैन । यदि कसैले संक्रमित मासु बिक्री गरेको छ भने त्यो महापाप हो । झुक्किएर पनि व्यवसायीले यस्तो काम गर्नु हुँदैन ।
जसरी स्वस्थ मासु खान पाउने अधिकार नागरिकसँग छ उसैगरी स्वस्थ मासु खुवाउने अधिकार व्यवसायीको पनि छ । यो दायित्व सबैले पूरा गरिदिनुपर्छ भन्ने मेरो आग्रह हो ।
बंगुरको बीमा गरिदिए कसैले पनि मरेको बंगुर बेच्ने जमर्को गर्ने थिएन । यसतर्फ राज्यको ध्यानाकर्षण गराउनु भएको छैन ?
राज्यका निकायलाई यसबारे हामीले जानकारी गराएका छौं । तथापि राज्यको आफ्नै प्रणाली छ । त्यो हामी सबैले देखिराखेकै छौं । बंगुरको बीमाको हकमा भने व्यवसायीको भूमिका बढी रहन्छ । यदि मैले कुनै काम गर्दैछु भने के-के गर्दा फाइदा हुन्छ भनेर सोच्नुपर्छ । बीमा गर्नु भनेको रिकभरी हो । तर बीमाको प्रक्रिया निकै झण्झटिलो छ । उत्तिकै मतलबी पनि । जहाँ रिस्क छ त्यहाँ बीमा नै हुँदैन । जहाँ रिस्क छैन त्यहाँ बीमा हुन्छ । यो समस्या हल गर्न सरकारसँग बसिसकेका छौं । बीमा कम्पनीसँग पनि बस्दैछौं । बीमा समितिले ८ हजार र १० हजार जोडेपछि त्यसमा हामीले असहमति जनाएका थियौं । पछि ५० हजारको सिलिङ राखेर उनीहरूले काम पनि गरिदिए । तर अहिलेचाहिँ अपवादबाहेक बैंकबाट ऋण लिनुपर्दा बीमा अनिवार्य भएकाले गर्छन्, अन्यथा जानेर, बुझेर पनि गर्दैनन् ।
अहिलको यो विषम् परिस्थितिमा बंगुरपालक कृषक र मासु व्यावसायी जिम्मेवार हुनुपर्ने देखियो । बीमा नभएको अवस्थामा तपाईंले भनेजस्तो मरेका बंगुर बिक्री नगर्न सम्भव छ त ?
यदि कुनै बंगुर रोग लागेर मरेको छ भने बिक्री गर्ने मान्छेले यो मजस्तै मान्छे या आफन्तले खान सक्छन् भनेर जिम्मेवार हुनुपर्छ । बरू, जति बंगुर मर्छन्, तिनलाई सम्बन्धित पशु सेवाका कर्मचारीलाई देखाएर रेकर्ड राख्नुहोस् । हामी त्यो संख्या संकलन गरेर सरकारसँग क्षतिपूर्ति माग्न प्रयास गर्ने कुरा तपाईंमार्फत सबै बंगुरपालक कृषकलाई जानकारी गराउन चाहन्छु । व्यवसायीलाई मर्कामा पर्न नदिन पनि हामीले यसो गर्न जरुरी छ । तर यस्तो सूचना हामीसमक्ष आइपुगेको छैन । त्यसो त, हामीसँग बलियो संयन्त्र बनिसकेको पनि छैन । त्यसैले क्षतिको विवरण संकलन गर्न हामीले प्रयास गरिरहेका छौं । केही दिनअघि मात्रै मैले थानकोटका एकजना व्यवसायी साथीलाई टेलिफोन सम्पर्क गरेर क्षतिबारे जानकारी लिएको थिएँ । उनले १४-१५०० बंगुर मरेको जानकारी दिएका थिए । कतिपयचाहिँ अन्तिम अभर परेपछि संघको सम्पर्कमा आउने गरेका छन् । हामीले पर्याप्त प्रचारप्रसार गर्न नसकेकाले कतिपयलाई संघ अस्तित्वमा रहेको जानकारी नभएको पनि हुनसक्छ ।
अन्य क्षेत्रसँग यहाँहरूको के अपेक्षा छ ?
जनतामाझ सूचना पुर्याउने माध्यम सञ्चार हो । सञ्चार माध्यमले प्रभावित क्षेत्रमा यसबारे प्रचार गरिदिने हो भने एकातिर व्यवसायी जोगिने थिए भने अर्कातिर उपभोक्ताले समेत स्वच्छ मासु खान पाउने थिए । यसो गर्दा भोलि क्षतिपूर्ति दिनुपर्दा सरकारको पुँजी अनुत्पादक ठाउँमा जाने खतरा हुने थिएन ।
अहिले नेपालमा बंगुरपालनको अवस्था कस्तो छ ?
विगतमा बंगुरपालन सीमित मात्रामा हुन्थ्यो । जातिविशेषले मात्र पालन गर्नहुन्छ भन्ने सोच यसको मूल कारण थियो । तर यो सोचमा अहिले परिवर्तन आएको छ । पुरातन मान्यता भत्किँदै गएकाले बंगुरपालनको अवस्था सुधारोन्मुख छ । जीविकोपार्जनसँगै राष्ट्रिय आयमा समेत योगदान पुर्याउँछ भन्ने हिसाबले बंगुरपालन गर्नेको संख्या बढ्दो छ ।
व्यावसायिक रूपमा बंगुरपालन गर्नेको संख्याचाहिँ कति छ ?
बंगुरको व्यावसायिक पालन अहिले पनि कम नै छ । आबद्धमध्ये करिब २० प्रतिशतले व्यावसायिक र ८० प्रतिशतले निर्वाहमुखी ढंगले बंगुर पालेका छन् । झण्डै १५ लाखको हाराहारीमा अहिले नेपालमा बंगुर छन् । प्रदेशगत हिसाबमा प्रदेश १ बंगुरपालनमा सबैभन्दा अगाडि छ । बंगुरको मासु खाने राई, लिम्बूको बाहुल्यता यो प्रदेशमा रहेकाले यहाँ यसको संख्या बढेको हो । गुरुङ मगरहरूको बसोबास रहेको गण्डकी प्रदेश बंगुरपालनका हिसाबले दोस्रोमा छ । ब्राह्मण, क्षेत्रीको बाहुल्यता रहेको प्रदेश हो, वाग्मती । त्यसैले यहाँ बंगुरको पालन कम हुन्थ्यो । तर अहिले यहाँ पनि बढ्न थालेका छन् । बंगुर जहाँ उत्पादन गरे पनि खपत हुने ठाउँचाहिँ काठमाडौं नै हो । बंगुरको काठमाडौंमा राम्रो बजार रहेकाले यसका छिमेकी जिल्लाहरू धादिङ, काभ्रेमा बंगुरको संख्या अलि बढी छ ।
बंगुरको मासु खाने उपभोक्ताको अवस्थाचाहिँ कस्तो छ नि ?
बंगुरपालन गर्नेको संख्या बढ्नु भनेको बंगुरको मासु खानेको संख्या बढ्नु हो । पहिले नेपालमा कास्ट बेरियर थियो, बंगुर । अमूक जातिले पाल्थे अनि अमूक जातिले खान्थे । परिस्थिति अब यस्तो रहेन । फरक टेस्टको खोजीमा रहने युवापुस्ताले खसी, कुखुरा, हाँससँगै बंगुरको मासु पनि खान थालेका छन् । फरक यति हो कि कतिले घरमा लगेर पकाएर खालान्, कतिले रेस्टुरेन्टमा पुगेर । तर उनीहरूमा बंगुरको मासु खाने बानी भने विकास भएको छ । गाउँको मानिस सहर अनि सहरको मानिस विदेश माइग्रेट हुँदा यसको महत्व धेरैले बुझेका छन् । बंगुरको व्यावसायिकपालनले पनि सोचमा परिवर्तन आएको मेरो बुझाइ छ । यद्यपि, बंगुरको मासु उपभोग गर्ने संस्कृति सहरकेन्द्रित छ ।
बंगुरको मासुमा हामी आत्मनिर्भर हुन सकेका छौं कि छैन ?
पशुपालनलाई मात्रै लिने हो भने बंगुरको योगदान ७ प्रतिशत छ । बंगुरको माग धान्न सक्ने अवस्थामा मात्रै होइन, निर्यात गर्नसक्ने अवस्थामा पनि हामी छौं । तर त्यसका लागि सरकारले दुईचारवटा काम गर्न जरुरी छ ।
विगतमा अन्य मुलुकबाट बंगुरको मासु ल्याएर बजारमा बिक्री गर्ने गरिएको थियो । यसमा अहिले सुधार आयो कि ?
यदि कुनै पनि वस्तुको माग देशले धान्न सकेन भने ल्याउने विदेशबाट नै हो । बंगुरको उत्पादन कम हुँदा नेपालले पनि माग धान्न विदेशबाट आयात गर्ने गरेको थियो । खासगरी थाइल्याण्डबाट धेरै बंगुरको मासु नेपाल आयात हुन्थ्यो । हुनलाई अहिले पनि थाइल्याण्डको ट्रेडमार्क राखिएका मासु बजारमा भेटिन्छन् । नाम विदेशको भए पनि त्यति टाढाबाट नेपालमा मासु आउँदैनन् । बाहिरबाट आउनेमध्ये धेरैजसो सीमा जोडिएको भारतबाट आउँछ । भारतका ६/७ वटा राज्यमा हाम्रै नेपाली मूलका दाजुभाइको बाहुल्यता छ । त्यहाँ राई, लिम्बू, मगरको बसोबास छ । भारतको पनि राजस्थानमा सबैभन्दा धेरे बंगुरपालन हुन्छ । पहिलो त त्यहाँ ठाउँ प्रशस्त छ ।बंगुरलाई दाना नै खुवाएर पाल्नुपर्छ भन्ने छैन । खुला ठाउँ छ भने दानाबिनै पनि पाल्न सकिन्छ । यस हिसाबले त्यहाँ बंगुरको उत्पादन बढी हुन्छ । तर भारतीयले बंगुरको मासु कम खाने भएकाले खपत भने थोरै हुन्छ । भारतमा उत्पादित बंगुरको मासुको ठूलो हिस्सा भुटान जान्छ । भुटानमा करिब साढे सात लाख जनसंख्या छ । यीमध्ये ८०-९० प्रतिशतले बंगुरको मासु खान्छन् । भुटानपछि भारतको बंगुरको बजार नेपाल हो । त्यहाँ सस्तोमा बंगुर उत्पादन हुने भएकाले कम मूल्यमा नेपाल आउँछ । जसका कारण नेपाली किसान मर्कामा पर्दै आएका छन् । यही कारण कतिपय बंगुरपालन कृषक विस्थापित हुँदै गइरहेका छन् ।
कुखुरापालक किसानले पहल गरेर आयात रोकेजस्तै बंगुरपालक संघले पनि केही गरेको छ कि ?
कुखुराको जत्तिको स्ट्रोङ पोजिसन हाम्रो भएको छैन । हामी चार-पाँच वर्षदेखि टुकुरटुकुर हिँड्दैछौं । योबीचमा संघ स्थापना गरे पनि कोभिड-१९ महामारीका कारण गतिविधि गर्न सकिएन । तर पनि हामीले उपस्थितिलाई कमजोर हुन दिएका छैनौं । दुई जना होस् या तीन जना, नेपाल सरकारका प्रतिनिधिसँग बसेर संवाद गरिरहेका छौं । देखिने गरी बंगुरको मासु आयात भएको छैन । नाकामा गएर हेर्दा अवस्था शून्यप्रायः छ । तथ्यांक माग्दा बंगुरको मासु नै नआउने गरेको जवाफ प्राप्त हुने गरेको छ । तर लुकाएर, माछाको नाममा बंगुरको मासु ल्याउने गरिएको छ । खुला सीमाको यो सबैभन्दा ठूलो पीडा हो ।
बंगुरपालन व्यवसायलाई थप व्यवस्थित बनाएर आत्मनिर्भर र सम्भव भए बाहिर निर्यात गर्नसक्ने बनाउन राज्यले कस्तो-कस्तो कदम चाल्नुपर्ने खाँचो देख्नुहुन्छ ?
यसमा हामीले धेरै ठूलो माग राखेका छैनौं, मात्र दुई काम गरिदिए पुग्छ । पहिलो, बंगुरपालनमा असल अभ्यास कार्यान्वयन गरिदिनुपर्छ । मासु जाँचलाई हुबहु कार्यान्वयन गर्नुपर्छ । यसो गर्दा ग्रेड राम्रो बनाउनुका साथै ग्रेड राम्रो बनाउँछ । सानो-सानो स्केलमा पाल्नेलाई पनि के गर्दा फाइदा पुग्छ र के गर्दा नोक्सान हुन्छ भनेर सिकाइदिन जरुरी छ । बंगुरपालक कृषकको सबैभन्दा ठूलो समस्या सुरक्षा छ । पालिरहेको स्थानमा घर बनेपछि त्यहाँ छाडेर अर्को स्थानमा सर्नुपर्ने बाध्यता छ । न्यून वर्गका बंगुरपालका कृषकले यस्तो समस्या झेले पनि राज्यको फोकस यसतर्फ पुग्न सकेको छैन । बंगुरपालन पनि एउटा क्षेत्र हो, यसलाई प्रोमोट गर्नुपर्छ भन्ने हिसाबले राज्यले सोचिदिने हो भने यो व्यवसायले नेपालको माग धानेर विदेशी मुद्रा तान्नमा समेत सहायता गर्नेछ । भविष्यमा यसको अर्को विकल्प पनि छैन ।