हुने/नहुनेबीचको खाडल नदेखिने गरी दशैंं मनाऊ

हिन्दुहरूको महान् चाड विजयादशमी सुरु हुँदैछ । मिठोमिठो खाने, नयाँ लुगा लगाउने, ठूलाबडाको हातबाट टीका लगाउने, आशीर्वाद लिने, आफन्तहरूसँग भेटघाट गर्ने बडादशैंंको मुख्य विशेषता हो ।, दशैंं नेपालको राष्ट्रिय चाड पनि हो । दसैँ नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैं वा ’विजयादशमी’ का नामले पनि चिनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।

नेपाल कृषि प्रधान देश भएको र जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुसी एवं उमंगको सीमा हुँदैन । यस खुसीको अवसरमा भगवान्को कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गरिन्छ । दक्षिण एसियाका धेरै देशमा विशेषगरी भारत, नेपाल, भुटान र म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।

दशैंंको समय हिलो धूलो काम भएर ऋतु परिवर्तन भएको समय हो । नयाँ अन्न पनि यही बेला पाक्छ । यसलाई आराम गर्ने पर्वको रूपमा पनि लिइन्छ । दशैंंमा मौसम पनि उपयुक्त हुनछ । मौसम राम्रो भएकाले यही समयमा दशैंं मान्न थालिएको हुनसक्छ । अहिले पनि यो चाडलाई यही रूपमा मनाउन सकियो भने सबै नेपालीलाई अपनत्व हुनेछ ।

बिजयादशमीले देशको अर्थतन्त्रलाई समेत चलायमान बनाउँछ । आर्थिक गतिविधिमा बढोत्तरी ल्याउँछ । देशमा रहेका मानिसहरूले दशैंंका लागि आर्थिक व्यवस्थापन गर्छन् भने विदेशमा रहेका मानिसहरूले पनि आफन्त र घरपरिवारका लागि दशैंं खर्चको प्रबन्ध गरिदिन्छन् । त्यसैले देशभित्र र बाहिरबाट पठाइका रकम बजारमा आउने गर्छ ।

दशैंं मनाउने नाममा अत्यधिक र तडकभडकका साथ खर्च गर्ने चलन बढेको छ । दशैंंलाई फरक ढंगले मनाउन थालिएको छ । सक्नेले सजिलै तडकभडकका साथ दशैंं मनाए पनि नहुनेले दशैंं मनाउन ऋण काढ्न बाध्य हुने अवस्था हाम्रो समाजले बनाइदिएको छ । दशैंं मनाउने नाममा विभिन्न विकृतिहरू भित्रिँदै गएका छन् ।

दशैंलाई सबैले श्रद्धा र विश्वासपूर्वक समाजिक सद्भाव बढने गरी एवं हुने र नहुनेबीचको खाडल नदेखिने गरी मनाउन आवश्यक छ ।अहिले पनि दशैंमा जनवारहरूको बलि दिएर देवी देउता खुसी बनाउने चलन छ । यो चलन धार्मिक र सांस्कृतिक रूपमा एकदमै रुढीवादी छ । हामीले चलाएका चलनचल्तीहरू कति वैज्ञानिक छन्, कति समाजलाई प्रगतिको बाटोमा डो¥याउने खालका छन्, यसमा पनि बृद्धिमता देखाउन जरुरी छ ।

दशैंमा आफन्त र ठूलाबडाको आर्शीवाद लिने, सुस्वास्थ्य र दीर्घायूको कामना गर्ने तर अन्य जीवको बलि दिने चलनमा परिवर्तन ल्याउन आवश्यक छ ।दशैंको सबै पक्ष नराम्रा छन् भन्न सकिँदैन । केही नभए पनि वर्षमा एकपटक सबैको जमघट हुन्छ । यसले भावनात्मक एकता कायम गर्छ । सामाजिक र पारिवारिक सम्बन्धमा एकता ल्याउँछ । सम्बन्धहरूमा नयाँ आयाम थप्छ । पुराना पिढीहरूका अनुभव, धारणाहरूले नयाँ पिढीलाई शिक्षित बनाउने काम गर्छ । त्यसैले यसको महत्व र विशेषताहरूलाई सुरक्षित बनाउन र पुस्ता हस्तारण गर्न आवश्यक छ ।

सामथ्र्य देखाउने माध्यम बन्नु हुँदैन दशैं
हामीभन्दा पहिलाको पुस्ताले बुबा, आमा बाजे बज्यैको पुस्ताले नयाँ लुगा लगाउन, मासु खान दशैं कुर्नु पथ्र्यो । नयाँ लुगा वर्षमा एकपटक भए पनि लगाउने र मिठो मसिनो खान पाइने भएर दशैंको महत्व बढी थियो । तर अहिले त यो दशैं उल्टो भएर आएजस्तो पनि लाग्छ । समय फेरिएको छ ।

समय फेरिएसँगै मान्छेका विचार बानीव्यहोरा समेत फेरिएका छन् । हिजो गरीबहरूका लागि केही खुसी लिएर आउने दशैं आज दशा बनेर आउने गरेको कैयौं उदाहरणहरू देखिन्छन् । दशैं कसैका लागि पनि दशा नबन्ने वातावरण बन्नुपर्छ । धनी र गरीबबीचको जुन खाडल छ, त्यही अनुपातमा दशैंले पनि प्रतिनिधित्व गर्न थालेको छ ।

यसले समाजलाई जोड्छ कि तोड्छ ? विचारणीय छ । मलाई लाग्छ, यसले समाजलाई वर्गीय विभेदको खाडलमा हाल्छ । समाथ्र्य हुने छिमेकीको घरमा तडक भडकका साथ दशैं मनाइरहँदा ऋण खोजेर दशैं मनाउन बाध्य छिमेकीको अवस्था के होला ? उनीहरूका छोराछोरीले के सोच्छन् होला भनेर सोच्न जरुरी छ । सामथ्र्य हुनेले दशैंको खुसी मनाइरहँदा गरीब छिमेकीले पीडाबोध गर्ने अवस्था बन्नु हुदैन । त्यसैले सामथ्र्य देखाउने माध्यम बन्नु हुँदैन दशैं ।

गच्छेअनुसार मनाउनु पर्छ दशैं
परिवारको आवश्यकता र गच्छेअनुसार दशैं मनाउँदा उत्तम होला तर छिमेकीले दशैंमा मासु खान किनेको खसीभन्दा आफ्नो खसी कुनै पनि हालतमा सानो हुनुहुँदैन भन्ने मानसिकता छ । यो भनेको फजुल खर्चको मानसिकता हो । खाने भनेको त परिवार संख्या हेरेर हो । तर हामीहरू यो सोचमा छैनौ । धाकको मानसिकता छ । समाजमा मानिएका गनिएका मानिसहरू झन् अगाडि देखिन्छन् यस्तो काममा । समाजका अगुवाहरूले समाजमा भित्रिने विकृति विसंगतिलाई रोक्नु पर्छ । अझै पढालेखा युवाहरू फजुल खर्च र तामझामका साथ दशैं मनाउन थालेका छन् । हामीले कुन संस्कृति र संस्कार सिकाउँदै छौं भन्ने हेक्कासम्म राख्दैनन ।

अझ कसैले सोधिहाल्यो भने समाजअनुसार चल्नै प¥यो भन्छन् । समाज अनुसार चल्ने युवाले कसरी समाजको देशको नेतृत्व गर्न सक्छ ? कसरी समाजअनुसार चल्ने नाममा रुढीवादी र धार्मिक मूल्यमान्यतालाई बोकेर र हिँडने ? समाजमा दशैंको नाममा जुवा तास, विकृति विसंगति चलिरहले हामी मुकदर्शक बन्ने अनि समाज कसरी परिवर्तन हुन्छ ? समाजलाई त गलत बाटोमा हिँड्नबाट रोक्नुपर्छ ।

समाजमा चाडबाडमा नहुनेहरूको लागि अभिशाप बनिरहेको छ । यसमा ध्यान जानु पर्छ । नहुनेले आफूलाई समाजमा कमजोर असहाय सम्झन्छ । हुने खानेहरूको धाक धम्कीको अगाडि निरीह देखिन्छन् । चाडबाडमा फुर्ति देखाउने प्रवृतिले एकता होइन, विभाजन ल्याउँछ । यस्तो कुरा नगर्न हामीले झन् सचेतना फैलाउन आवश्यक छ । सकिन्छ भने यस्ता चाडबाडहरूलाई हामीले कम खर्चिला, कम विकृतिमय बनाउँदै सद्भाव, एकता र भातृत्वको यज्ञ बनाउनुपर्छ ।